पोखरा हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक

पोखरा हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक

timilsina

पोखरा। पोखरा महानगरपालिका २५ हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन् । हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘प्रदेश प्रमुख कृषि पुरस्कार’ बाट सम्मान गरिएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उनलाई सम्मान गरेका थिए । त्यस्तै, पशुपालन र कृषि क्षेत्रबाट चाररचार जनालाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

पशुपालनतर्फबाट पोखरा–१४ स्थित जानकी एग्रो फार्मका दीपक तिमिल्सिना, माग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पुनम भेडा फार्मका मनबहादुर पुजा, नवलपरासी गैडाकोटस्थित नमुना सुवेदी गाई फार्मका दधिराम सुवेदी र पोखरा महानगरपालिका वडा ७ स्थित भट्टराई पोल्ट्री फार्मका तेजबहादुर भट्टराई छन् ।

त्यस्तै, कृषितर्फ स्याङ्जा पुतलीबजार–११ स्थित शान्ति शान्ति कफी फार्मका बोधराज अर्याल, तनहुँको म्याग्दे गाउँपालिका वडा १ का सुन्तला कृषक सुकनारायण श्रेष्ठ, नवलपरासी हुक्सीकोटका तरकारी कृषक ज्ञानबहादुर रजाली मगर र रेम्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्रका पोखरा–१६ का इन्द्र गौचन छन् । उनीहरुलाई नगद २५-२५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रदेशअन्तर्गत ११ जिल्लाका कृषि तथा पशु कार्यालयबाट सिफारिस भई आएका नामहरु तथा मन्त्रालयबाट गरिएको फार्म अनुगमन आधारमा सवोर्त्कृष्ट र उत्कृष्ट छनोट गरिएको हो । साथै स्थानीय कुखुराको जात प्रवर्द्वनमा योगदान र्पुयाएको भन्दै पोखरा महानगरपालिका वडा २७ का राजेन्द्रप्रसाद अधिकारीलाई सम्मानपत्र प्रदान गरियो ।

देशका सातवटा प्रादेशिक सरकारहरुमध्ये गण्डकी प्रदेशले पहिलोपटक कृषक सम्मान कार्यक्रम गरेको र आगामी दिनहरुमा सहकारी लगायत अन्य विधा समेत थप गरेर सम्मानको कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कृषक सम्मान कार्यक्रम यस प्रदेशको उत्कृष्ट कार्यक्रम भएको बताए । उनले कृषकलाई प्रोत्साहन गरी कृषि क्षेत्रलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ