मातृका मन्त्री हुने बित्तिकै डराए कर्मचारी ! मन्त्रीको पहिलो निर्णय फाइल सदर गर्न मानेनन्

मातृका मन्त्री हुने बित्तिकै डराए कर्मचारी ! मन्त्रीको पहिलो निर्णय फाइल सदर गर्न मानेनन्

matrika-yadav

काठमाडाैं, १४ फाल्गुन / वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका छन् । उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् ।

उनले उद्योग तथा आपुर्ति मन्त्रीको रुपमा सोमवार सपथ लिएका छन् । मातृका यादव कडा स्वभावका नेता मानिन्छन् । जनताको पक्षमा काम नगरेको भन्दै पहिलोपटक मन्त्री भएका वेला एलडिओलाई ट्वाइलेटमा थुनेबाटै उनको स्वभाव स्पष्ट हुन्छ ।

ललितपुरमा बिनाइजाजत सञ्चालनमा आएका ढुङ्गा खानीको विवादलाई लिएर ललितपुरका तत्कालीन एलडीओ डण्डुराज घिमिरेलाई थुनेका थिए । मातृका यादवले वाहवाही कमाएका थिए । भ्रष्टहरूलाई यसरी नै तह लगाउनुपर्छ भनी मातृका यादवको पक्षमा जनमत तयार भएको थियो ।

त्यति मात्रै होइन, त्यतिबेला उनले रक्तचन्दन तस्करीलाई पनि चर्चामा ल्याएका थिए । उनी आफै रातिराति गएर ट्रकका ट्रक रक्तचन्दन समातेर सिंहदबारमा थन्क्याएका थिए । रक्तचन्दनको पनि तस्करी हुन्छ भने कुरा त्यतिबेला मात्र जनताले थाह पाएका थिए । तर, उनी मन्त्रीबाट हट्ने वित्तिकै रक्तचन्दनको चर्चा फेरि हरायो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन गरेको विषय पनि त्यतिबेला निकै चर्चामा आएको थियो । पछि उनी भूमि सुधार तथा व्यवस्था मन्त्री बन्दा सिरहामा जग्गा कब्जाको विषयलाई लिएर विवादमा तानिएका थिए ।

उनी मन्त्री हुने चर्चा चलेसँगै निजामति कर्मचारीमा डर उत्पन्न भएको थियो । दिउँसो उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा सपथग्रहण गरे । झन्डै दश वर्षपछि मन्त्री भएका यादव सपथग्रहण गरेपछि पदस्थापनका लागि मन्त्रालय पुगे । पहिलोपटक मन्त्रीभएपछि लामो समय मूलधारको राजनीतिबाट बाहिर रहेको र सार्वजनिक पदमा नपुगेको कारण उनको स्वभावमा बदलाव आएको अनुमान गरिएको थियो ।

तर, उनी पहिले जस्तै कडा स्वभावकै रहेछन् भन्ने पहिलो दिन नै थाहा भयो । पदभार ग्रहण गर्दै जनताको कामलाई मुख्य प्राथमिकतामा राख्न निर्देशन दिएका उनले समयमा कार्यालय आउन, इमान्दार भएर काम गर्न भने ।

त्यति भनिसकेपछि परम्पराअनुसार नै सचिवले मन्त्रीको पहिलो निर्णयका लागि फाइल अघि सारे । तर, उनले फाइल सदर गर्न मानेनन् र भने, ‘म अध्ययन गरेर मात्र फाइल सदर गर्छु । हतारमा हजुवाको भरमा कुनै काम गर्दिन ।’

उनको यो शैलीले मन्त्रालयका कर्मचारीको सातो गएको बुझिएको छ । कडा स्वभावका मन्त्री आएकाले अब विगतमा ट्वाइलेटमा एलडिओ थुनेजस्तै कुनै घटना दोहोरिने हो कि भन्दै कर्मचारीबीच कानेखुसीसमेत भयो ।

इमानदार र हठी नेताको रूपमा परिचित मातृका यादव त्यही कारणले माओवादी पार्टी छाडेर हिँडेका थिए । उनी माओवादी पार्टी छाडेर हिँडेपछि छुट्टै समूह चलाएर मधेसमा आन्दोलनको सुरुवात गरेका थिए ।

दुई वर्ष अगाडि माओवादीमा फर्केका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादी शन्ति प्रकृयामा आएपछि अन्तरिम सांसद बनेका मातृका यादव पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका थिए । उनी सांसद हुँदैको अवस्था पार्टी छाडेका थिए र त्योसँगै उनको सांसद पद पनि गएको थियो ।

२०७० को संविधानसभा चुनाव बहिष्कार गरेका मातृका यादव धनुषा १ बाट चुनाव जितेपछि उनी मन्त्री बनेका हुन् ।

राजनीतिक यात्रा

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए । त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् । २०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो । २०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।

मधेस आन्दोलन

मधेस आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेसमा आन्दोलन सुरु गरेका थिए । मधेसवादी दलहरूले आन्दोलन सुरु गर्दा उनी त्यस अघिदेखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेसवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानुपर्छ भनी उनले निकै प्रयास गरेका थिए । त्यही प्रयास स्वरूप एक पटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

एक मधेस एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले डेढ वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इन्चार्ज पनि भए ।

शिक्षा

मातृकाप्रसाद यादवले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका छन् । परिवारको आर्थिक स्थितिका कारण उनले विद्यालयको शिक्षा नियमित रूपमा पूरा गर्न सकेनन् । झण्डै पाँच वर्षजति उनले आफ्नो नियमित पढाइ छाड्नु पर्यो । पछि फेरि विद्यालयमा भर्ना भएर एसएससी सिद्धयाए, उनले । डा. श्रीकृष्ण यादवको सल्लाहमा उनी सिरहा क्याम्पसबाट आईएड गरे ।

त्यहाँ उनी हेमनारायण यादवको आफन्तको घरमा बालबालिकाहरूलाई ट्युसन पढाएर आफू पनि पढ्थे । एसएलसी पास भएपछि कीर्तिपुर आएका थिए । त्यहीँ उनको भेट श्रीकृष्ण यादवसँग भएको थियो । उनी पक्लिहवा क्याम्पसमा पढ्न गएका थिए । श्रीकृष्ण यादवले त्यहाँ कार्यरत जगत नारायण यादवसँग भेट्न पठाएका थिए ।

पक्लिहवामा पहिलो सूचीमा उनको नाम निस्केको थियो तर घर गएकाले अन्तिम दिनमा मात्रै इन्डिया हुँदै उनी त्यहाँ पुगेका थिए । एड्मिसन नभएपछि उनी काठमाडौँ फर्के । त्यसपछि उनी आईएडका लागि सिरहा क्याम्पसतिर लागेका थिए । त्यहाँ उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ