मुस्ताङ स्याङमा व्यवसायिक गाईपालन

मुस्ताङ स्याङमा व्यवसायिक गाईपालन

gai

सुन्दर कुमार थकाली । मुस्ताङ सदरमुकाम जोमसोमदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको घरप ३ स्याङ गाउँका किसान व्यवसायिक गाईपालनतर्फ जुटेका छन् ।

धार्मिक तथा पर्यटकिय जिल्ला भएपनि स्याङ वस्ती व्यवसायिक दृष्ट्रिले ओझेल छ । स्याङमा अधिकाँश किसान कृषि तथा पशुपालन व्यवसायमा आत्मनिर्भर देखिन्छ । खेतीवालीका लागि चाहिने अर्गानिक मलको पूर्ति गर्ने र दुध बेचेर आर्थिक लाभ लिन सकिने भएपछि उनीहरु पछिल्लो समय गाई पालनतर्फ लागेका हुन् ।अहिले स्याङमा गाई पाल्नेको संख्या वर्षेनी बृद्धि हुदै जानथालेको छ।थाकपाँचगाउँ मध्ये एक स्याङ वस्तीमा यतिखेर करिव ३५ घरधुरीले व्यवसायिक गाईपालन व्यसायलाई निरन्तरता दिएका छन् ।

स्याङमा करिव १ सय घरधुरी छन्।तिनमा केही मिश्रित बस्ती छ । गाउँका आधाजसो घरधुरीका युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन् भने आधाजसो युवा गाउँघरमै कृषि व्यवसाय अपनाई रहेका छन् ।स्थानीय स्तरमै काम गर्न सकिने भएपछि स्याङका यूवाहरु कृषि तथा पुशपालन व्यवसायलाई अघि बढाईरहेको जनकल्याण आधारभुत विद्यालयकी स्थानीय शिक्षिका जुनी थकाली बताउछिन् ।

निकै फुर्तिला र जोशिला अनि मेहनेती स्वभावका स्याङवासीको मुख्य विशेषतानै मेहनत र साधनामा रमाउनु हो ।‘जोमसोम सदरमुकामदेखि नजिकै वस्ती छ तर पर्यटकिय हिसावले गाउँ पछि परेको छ।हामी कहाँ पर्यटक लक्षित कुनै भौतिक पूर्वाधार भएनन् । परम्परागत कृषि व्यवसाय अंगाल्नु सिवाय अन्य श्रोत छैनन् ।’उनले भनीन् ।

त्यसो त स्याउँमा उत्पादित कुनैपनि कृषिजन्य बस्तुको बजारिकरण समस्या नपरेको स्याङवासीको भनाई छ ।यहाँका प्रायःकिसान दिनभरी खेतवारीको काम देखि चौपायाको हेरचाहमा समय खर्चिन्छन् ।बिहान झिसमिसे उज्यालोमै डोकोभरी तरकारी बोकेर जोमसोम पुग्छन् ।मौसम अनुसारको तरकारी र जर्सी गाईको दुध लिएर उनीहरु जोमसोमका होटल-होटलमा पुग्छन् ।केही किसानले मोटर साईकलमा ढुवानी गर्दे दुध जोमसोम पु¥याउदछन् ।

२ वर्षअघि सामान्य खेतवारीको कामगरि जिविकोपार्जन गर्दे आएका स्याङका स्थानीय कृषक नीमा फेन्चोक गुरुङ यतिखेर व्यवसायिक गाईपालनलाई मुख्य आम्दानीको श्रोत बनाईरहेका छन् ।स्थानीय चन्द्र थकालीको जग्गा वार्षिक ३० हजार बुझाउनेगरि उनले गाईपालन व्यवसाय सुरु गरेका हुन् ।उनले गाईको टहरो निर्माणमा १६ लाख लगानी गरेको बताए ‘गाउँमा धेरैले गाई पाल्न थालेको देखियो’उनले भने‘राम्रै हुन्छ भन्ने सोचेर लगानी गरेको हुँ,राम्रै भएको छ ।

’खेतिको कामलाई पन्छ्याएर गाईपालन गरेका नीमाले अहिले मासिक २ लाख सम्मको दुध बिक्री गर्ने गरेको र त्यसमा संम्पूर्ण खर्च कटाएर मासिक ५० हजार बचत हुने खुलाए। ।२ वर्षअघि नीमाले एमविपि नामक कृषि फर्म दर्ता गराई व्यवसायिक गाई पालन सुरु गरेको हुन् ।सुरुआतिमा १० गाई खरिद गरेको र पशुदाना समेत जोडेर करिव ८ लाख लगानी गरेका नीमाले वर्षायाममा दैनिक ८० लिटर दुध उत्पादन गर्छन् ।गाई पालनतर्फ कुनै संघ संस्थाको सहयोग नपाएका नीमाले व्यक्तिगत लगानीमै व्यवसाय सुरु गरेको सुनाए ।

उनले दैनिक दुध बेचेर करिव ७ हजार रुपैया सम्म मुनाफा कमाउने गरेको बताए ।‘ठूलो डेरी उद्योग संञ्चालन गर्न उद्देश्यले गाई पालन थालेको हुँ ।दुध बेचेको पैसा उद्योग विस्तार गर्ने सोचाई छ’नीमाले भने‘ठुलो टहरो निर्माणमा जग्गाको समस्या छ,स्थानीयतहले लेजमा उपलब्ध गराईदिए काम गर्न सजिलो हुन्थ्यो ।’

नीमा गुरुङले दैनिक बिहान र बेलुकी मोटरसाईकलमा ढुवानी गरेर आफै दुध जोमसोम पु¥याउछनन् ।प्रतिलिटर ९० रुपैयाका दरमा दुध बिक्री गर्दे आएका उनले जोमसोम बजारको माग अनुसार दुध पु¥याउन मुश्किल परेको सुनाए ।नीमाले आफ्नो गाई फार्ममा २ जना कर्मचारीलाई मासिक १५ हजार पारिश्रमिक दिएर रोजगार दिएका छन् र भने फर्मको रेखदेख र दुध बजार पु¥याउनुनै उनको दैनिकी बन्ने गर्छ ।हिउँदको चिसो मौसममा दुध कम उत्पादन हुने र होटल व्यवसायको अफसिजन भएकाले दुधको बजारिकरणमा समेत समस्या पर्ने जनाए ।

चार वर्षअघि हिमाली उपआयोजना मार्फत अनुदान पाएका स्याङका अर्का किसान जीवन थकालीको फर्मले उत्पादन गरेको गाईको दुध पनि दैनिक जोमसोम पुग्नेगर्छ ।साना ठुला गरेर १७ वटा जर्सीका मालिक जीवनको फर्ममा हाल ९ वटा जर्सी गाईले नियमित ६५ लिटर दुध उत्पादन गर्ने गर्छ ।उनको फर्ममा रेखदेखका लागि १ महिला कर्मचारी खटाएका छन् ।कृषि व्यवसायमा आवद्ध थकालीले दुध बेचेर मासिक ४५ हजार आम्दानी गरेको बताउछन् ।‘गाईको अर्गानिक मल खेतिका लागि प्रयोग हुन्छ,अनि दुधबाट नगद आम्दानी हुन्छ ’थकाली भने‘व्यवसायिक गाई पालनबाट दोहोरो फाईदा छ ,तरकारी र स्याउ बगैचामा गाईको मल प्रयोेग गरेकाले कृषि व्यवसायमा पनि फाईदा पुगेको छ ।’

व्यवसायिक गाईपालनबाट स्याङका अर्का किसान शिवप्रसाद थकालीको पनि दिनचर्या फेरिएको छ । डेरी उद्योगका लागि उनले हिमाली उपआयोजना कार्यक्रम मार्फत ८० प्रतिशत रकम अनुदान सहयोग प्राप्त गरेका हुन् ।सामान्य कृषि पेशामा आश्रित थकालीले हिमाली उपआयोजनाको चौबिस लाख बराबरको अनुदान र नीजी ६ लाख रुपैया जोडेर करिव तीस लाख लगानीमा स्याङ गाउँमा मुस्ताङ डेरी उद्योग संञ्चालन गरेका हुन् ।

थकालीले उक्त रकम जर्सी गाई पालनका लागि गोठ निमार्ण र छुर्पि,पनीर,चीज,घीउ र दही जस्ता दुधबाट बन्ने बिभिन्न परिकार बनाउन फाईबरको छत प्रयोग गरी एक भवन समेत निर्माण गरेका छन्।त्यस्तै उनले दुध प्रशोधन सामाग्राीहरु खरिद गर्न रकम खर्चिएका हुन् ।हिमाली उपआयोजना मार्फत संञ्चालित स्याङ खोला कृषि सहकारी संस्था र राम बिबि ढुम्बा कृषि फर्मले उत्पादन गरेको मासिक दश हजार लिटर दुध उनकै डेरी उद्योग मार्फत सप्लाई हुने गरेको छ । शिब प्रसाद थकालीले दुधका बिभिन्न परिकारहरु बिक्री गरेर मासिक ७ लाख सम्मको कारोवार गरेका छन् । उनको डेरीको संम्पूर्ण खर्च कटाई मासिक १ लाख ५० हजार सम्म आम्दानी हुने बताए।डेरी उद्योग संञ्चालनका लागि उनले तीन जनालाई पूर्णकालीन रोजगार दिएका छन् ।थकाली मार्फत संङ्कलित दुध दैनिक जोमसोममा पुग्ने गरेको छ ।

मुस्ताङको सदरमुकाम जोमसोम, कागबेनी,मुक्तिनाथ र मार्फा लगायतका स्थानमा संञ्चालन भएका होटल तथा रेष्टुरेन्टहरुमा हिजोआज शुद्ध ताजा जर्सी गाईको दुध घरदैलोमै आईपुग्ने गरेको छ ।तीन वर्षअघि बजारिया धुलो पाउडर दुध प्रयोग गर्दे आएका व्यवसायीहरुले पाउडर दुधलाई बिस्थापित गरेर स्याङमा उत्पादन भएको शुद्ध जर्सी गाईको दुध प्रयोग गर्न थालेका हुन् । धुलो बजार पाउडर दुध प्रयोग गरेर वाक्क बनेकी बिश्राम रेष्टुरेन्ट एण्ड खाजा घरकी संञ्चालिका मनीता थकालीले गाउँघरमै उत्पादन भएको जर्सी गाईको दुध प्रयोगले चिया कफी खाने ग्राहक बढेको सुनाईन् ।‘बिहानै घरकै दैलोमा दुधवाला आईपुग्छ ’उनले भनीन्‘‘शुद्ध ताजा दुध स्वास्थका लागि समेत लाभदायक भएकाले यसको प्रयोग गरेकी हुँ ।’

जिल्ला कृषि व्यवसाय बिज्ञ तीर्थराज ढकालले स्थानीय स्याङ गाउँमा करिव ३१ घरघुरीबाट ५ सय लिटर सम्म गाईको दुध संङ्कलन हुने गरेको र डेरी उद्योगले कृषकहरु संग समन्वय गरेर दुध एकै ठाउँ जम्मा गर्ने व्यवस्था भएको जनाए ।जिल्लाका कृषकहरुलाई कृषि व्यवसाय तर्फ आर्कर्षित गराई उनीहरुको जिविकोपार्जनमा सुधार गराउदै आर्यआर्जन गर्न सक्ने क्षमता अभिबृद्धि गराउन हिमाली उपआयोजनाले जिल्लाका १३ गाविसमा रहेका ३९ कृषकहरुलाई अनुदानमा लगानी गर्दे आएको कृषि व्यवसाय बिज्ञ तीर्थराज ढकालको भनाई छ ।उनका अनुसार हिमालीले जिल्लामा डेरी उद्योग ,स्याउँ प्रसोधन,स्याउ खेती,फापर,तरकारी नगदेबाली ,चौरी पालन आदी क्षेत्रमा लगानी गर्दे आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ