हाकिमलाई घृणा गर्नु हृदयाघातको कारण हो ?

हाकिमलाई घृणा गर्नु हृदयाघातको कारण हो ?

hakim sab

मानिसहरूले प्रायः ध्यान नदिने सामान्य कुराले पनि मुटुलाई हानि पुर्याउन सक्छ । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोग मृत्युको एउटा प्रमुख कारण हो । त्यसैले मुटुरोगसम्बन्धी लुकेका केही जोखिमबारे हामी यहाँ चर्चा गर्दैछौँ।

१. दाँत सफा नगर्नु

विभिन्न अध्ययनका अनुसार खराब दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी समस्या धेरै हुन्छ । दाँत र मुटुबीच हामीले सोचेभन्दा बढी सम्बन्ध छ । विभिन्न अध्ययनका अनुसार नराम्रो दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी धेरै समस्या  हुन्छ ।
रक्तस्राव वा गिजा सुन्निनुले मुखमा रहेको कीटाणुलाई रक्तप्रवाहमा छिर्ने अवसर दिन्छ । यसले धमनीमा ‘फ्याटी प्ल्याक’ अर्थात् चिल्लो पदार्थको पत्र बनाउन सहयोग गर्छ । अनि कलेजोमा केही प्रकारका प्रोटिन बढाइदिन्छ र रक्तप्रवाह बढाइदिन सक्छ । नियमित रूपमा दाँत सफा गर्नुहोस् र दन्तचिकित्सकसँग नियमित परामर्श लिनुहोस् ।

२. हाकिमलाई घृणा गर्नु

एउटा अध्ययनले हाकिमसँग खराब सम्बन्ध हुँदा हृदयाघातको सम्भावना बढ्ने देखाएको छ यो ठट्टा होइन । हाकिमलाई घृणा गर्दा मुटुसम्बन्धी रोग बढ्न सक्छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा स्वीडिश अध्ययनले कार्यस्थलमा नेतृत्व गर्ने व्यक्तिसँग खराब सम्बन्ध हुँदा ४० प्रतिशत मानिसहरूमा हृदयाघातको सम्भावना बढ्ने कुरा पत्ता लगाएको छ । सो अध्ययन १० वर्ष लगाएर गरिएको थियो ।
‘कार्यस्थलमा हुने गम्भीर तनाव हृदयाघातको कारण बन्न सक्छ,’ ओर्लान्डोस्थित हेल्थ हार्ट इन्स्टिट्युटका मुटुरोग विशेषज्ञ विजय कुमार बताउँछन् । अपर्याप्त निद्रा र अनुपयुक्त आहारजस्ता कारणले मुटुको रोग हुने खतरा झन् बढ्छ ।

३. हृदयविदारक घटना

हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा असर पार्न सक्छ । आकस्मिक रूपमा हुने परिवारजनको मृत्युजस्ता हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा नराम्रो असर पार्न सक्छ ।
अमेरिकन मेनपोज सोसाइटीका अनुसार जीवनमा तीन वा त्यसभन्दा बढी हृदयविदारक घटना भोगेका महिलाको रक्तसञ्चार प्रणाली त्यस्तो अनुभव नभएको महिलाको तुलनामा निकै कमजोर हुन्छ । मुटुविशेषज्ञ ज्याकी युवानीका अनुसार तनाव बढ्दा अड्रेनलिनको उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ । अड्रेनलिनको मात्रा बढ्दा मुटुको चाल र रक्तचाप बढ्छ । त्यसबाट मुटुको समस्या हुन सक्छ ।

४. एक्लो अनुभूति हुनु

सामाजिक सम्बन्ध कम भएका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुन सक्ने सम्भावना बढ्छ । अर्को एउटा ब्रिटिश मेडिकल जर्नलका अनुसार सीमित सामाजिक सम्बन्ध भएका व्यक्तिहरूमा मुटुरोग हुन सक्ने सम्भावना २९ प्रतिशत बढी हुन्छ भने हृदयाघात हुने सम्भावना ३२ प्रतिशत बढी हुन्छ ।
त्यसको एउटा कारण के हो भने एक्लोपन तनावपूर्ण हुन सक्छ र त्यस्ता व्यक्तिहरूसँग आफ्नो मनोभाव व्यवस्थापन गर्न सघाउने कोही पनि हुँदैनन् । सन् २०१४ मा अक्स्फोर्ड विश्वविद्यालयले प्रकाशित गरेको एक अध्ययनमा आठ वर्षको अवधिमा सात लाखभन्दा बढी महिलाको विश्लेषण गरिएको थियो । साथीसँग बस्ने महिलाहरूमा मुटुसम्बन्धी रोगबाट मर्ने सम्भावना एक्लै बस्ने महिला भन्दा २८ प्रतिशत कम हुन्छ भन्ने सो अध्ययनले देखाएको थियो ।

५. उदासीनता हुनु

हृदयाघात भइसकेका व्यक्तिमा उदासीनता देखिन सक्छ । अमेरिकन हार्ट एसोसिएशनका अनुसार हृदयाघात भइसकेका अमेरिकीहरूमध्ये ३३ प्रतिशतभन्दा बढीमा डिप्रेशन अर्थात् उदासीनता हुन सक्ने सम्भावना रहन्छ । मानसिक समस्या रहेका व्यक्तिहरू स्वस्थ निर्णय लिन पनि नसक्ने विशेषज्ञहरूको अनुमान छ ।
न्यूयोर्कस्थित जोन एच टिश सेन्टर फर विमन्ज हेल्थकी मेडिकल निर्देशक नीसा गोल्ड्बर्ग भन्छिन् (स्वस्थ आहार वा मदिरासेवनमा नियन्त्रण गर्नु डिप्रेशन भएका धेरैमा पर्याप्त हुन्छ । ‘नराम्रो परिस्थितिमा भएका मानिसहरू आफूलाई शान्त पार्न जेसुकै पनि गर्न सक्छन् । उनीहरू आफू स्वस्थ भएको वा नभएको विचार गर्दैनन् ।’

६. महिनावारी हुन छोड्नु

महिनावारी हुन छोडेपछि महिलाहरूमा मुटुको समस्या बढ्न सक्छ । मेनपोज अर्थात् महिलावारी हुन छोडेपछि महिलाहरूमा हृदयाघात हुने सम्भावना बढ्छ । रजोनिवृत्ति भएका महिलाको शरीरमा इस्ट्रजन हर्मोनको मात्रा घट्छ । इस्ट्रजन हर्मोनले धमनीको भित्री सतहलाई राम्रो गर्छ भन्ने मान्यता छ ।
त्यसले रक्तनलीहरूलाई लचिलो हुन सघाउँछ । मुटुविशेषज्ञ ज्याकी युवानी भन्छिन् (उमेर बढेसँगै रक्तनलीमा अररोपन बढ्छ र त्यसले धमनीभित्र चाप बढाइदिन्छ । तर राम्रो आहार र नियमित व्यायामले त्यस्ता प्रभावहरूलाई निस्तेज पारिदिन सक्छन् ।
रातोपाटीबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ