‘तीन छोरा, बुढेशकालमा छैन सहारा’

‘तीन छोरा, बुढेशकालमा छैन सहारा’

Dilmaya Family

अश्विन दानी, पोखरा । १५ वर्षकै उमेरमा बिहे भयो । एक बिसा उमेर नकट्दै तीन छोराहरु बर्षेनी जन्मिए । तर, श्रीमानसँगको साथ २० वर्ष पनि मिलेन । छोराहरु हुर्केकै थिएनन्, पर्वत जलजलाकी दिलमाया बिक एक्लै भईन् । उनको सहाराविहीन यात्राले पनि २५ वर्ष पार गरिसकेको छ । श्रीमानको साथ त छुटिहाल्यो, बुढेशकालको भरोषामाथि पनि तुषारापात भयो, जब माईलो छोरो ईश्वर नै खोला किनारमा मृत भेटिए । जेठो छोरो सुरज विदेशमै आठ वर्षदेखि बेपत्ता छन्, कान्छो कृष्ण मानसिक रुपमा अस्वस्थ छन् । अहिले ६० वर्षकी दिलमायाको सहारा अब कोहि रहेनन् ।

ईश्वरले गाडी चलाएर आमा पाल्थे । फागुन २९ गते घरबाट गाडी चलाउँछु भनेर निस्केका उनी चैत २ गते मृत अवस्थामा भेटिए । दिलमायालाई लाग्छ, ‘छोरोलाई मारेकै हो ।’ तर, बोलिदिने कोहि छैन । नत प्रहरीले पोष्टमार्टम रिपोर्ट नै दिन्छ । पाल्ने छोरो नै नरहेपछि अब चित्त बुझाउने बाटो केही छैन । दिलमायाको दिल टुटेको छ ।

[bs-quote quote=”‘अब, मेरो कुनै चाहाना छैन । ६० बर्ष लागिसकेँ, अब म आफैँ दुःख गर्न पनि सक्दिनँ । कुनै छोराका परिवार छैनन् । माइलो बितिगयो, अब त मर्नु भन्दा अघि नै जेठो छोरा घर फर्किन्छ र कान्छो भाइको उपचार गर्छ कि भन्ने आश मात्रै बाँकी छ मसँग । सबैले मेरो जेठो छोरालाई घर फर्काउन र कान्छोको उपचार गर्न सहयोग गरिदिनुहोला ।\'” style=”style-8″ align=”left” author_name=”दिलमाया बिक” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2019/04/56289372_829287344076558_1808225959405420544_n.jpg”][/bs-quote]

 ‘मेरो माईती म्याग्दी हो । १५ बर्षकै उमेरमा बाआमाले पल्लो गाउँको केटासँग मागी बिहे गर्दिनुभो । २० बर्ष पनि सँगै हुन पाएनम् । श्रीमान् बिरामी भएर स्वर्गबास हुनुभो ।’ – गण्डक न्यूजसँग दिलमायाले भनिन्, – ‘श्रीमान् नभएपछि मलाई घरमा सबैले हेला गर्न थाल्नुभयो । अनि म उहाँको काजकिरिया सकेर बाबुहरु लिएर माईत आएर बस्न थालेँ ।’

श्रीमानको साथ र परिवारको माया विना कम्ता दुःख गरेर उनले छोराहरु हुकाईनन् । ‘श्रीमानको मृत्यु हुँदा तीन वटा छोरा सानै थिए । घरबाट पनि हेला गर्न थाले । त्यसपछि घर छाडेर केहि बर्ष माईत बसेँ । तर, त्यहाँ पनि पछि बस्न मनै लागेन’ दिलमायाले भावुक हुँदै भनिन्, ‘घर र माईत दुबै छाडेर म पर्वतमा आएर ज्याला मजदुर गरेर छोराहरुलाई हुर्काएँ ।’

चाहेर पनि छोराहरुलाई पढाउन भने सकिनन् । ‘मेलापात गरेको पैसाले बिहान बेलुका हातमुख जोड्न ठिक्क  हुन्थ्यो । चाहेर पनि छोराहरुलाई पढाउन सकिनँ’ राममायाले दुःख मान्दै भनिन्, ‘श्रीमान्को मृत्यु भएपनि बुढेशकालको साहारा यिनै छोराहरु हुन् भनेर मैले दिनरात दुःख गरे । तर, आज म बेसहारा भएकी छु ।’

‘साथमा कोहि छैनन्, टुहुरो भएँ’

दिलमायाका लागि श्रीमान गुमाएको पीडा भुलाउने एउटै आधार तीन छोराहरु थिए । त्यसैले उनी घर माईती दुबै त्यागेर पनि छोराहरुका लागि दिनरात नभनी अरुको दुःख गरिन् । ‘छोराहरु भोकै हुनु पर्ला कि भनेर म सधैँ अरुको भारी बोक्ने, गिट्टी कुट्ने, मेलापात गर्ने गरेँ’ उनले भक्कानिँदै भनिन्, ‘म दुःखीलाई मात्रै भगवानले किन यति धेरै दुःख दिन्छ कुन्नि ?’ दिलमायाका अनुसार रोजगारीका लागि २०६७ सालमा कतार गएका उनका जेठो छोरा सुरज बेखबर छन् । कान्छो छोरो कृष्ण १५ बर्षकै उमेरदेखि मानसिक सन्तुलन गुमाएर बसेका छन् भने माईलो छोरो ईश्वरको गत चैत्र २ गते शव भेटियो ।

‘म बिदेश पुगेर पैसा कामाएर पठाउँछु आमा ! तिमीलाई र भाइहरुलाई सुखसँग पाल्छु भनेर कतार गएको जेठो ८ बर्षभन्दा बढि भैसक्यो कुनै अत्तोपत्तो छैन् ’ दिलमाया सुकसुकाँइन्, ‘जेठो छोरो बिदेश गएदेखि अत्तोपत्तो भएन । फेरी कान्छो पनि १५ बर्ष भएको थिएन, दिमागले काम गरेन । साथमा भाको त्यही माईलो थियो, एक्कासी लास भेटियो । अब त म टुहुरो जस्तै भएकी छु ।’

‘जेठो फर्केला र कान्छोलाई उपचार गर्ला भन्ने आश’
दिलमायालाई माईलो कसरी एक्कासी मरे ? अहिले यसकै पिरलो छ । जाने ठाउँ कहिँ छैन । सँगै रुने, आँशु पुछिदिने पनि कोहि रहेनन् । कसैको सहयोगी हात बढे सास रहुन्जेल हातमुख जोड्ने बाटो होला नत्र अब काम गरेर खाने बल पनि ज्यानमा छैन ।

दिलमायाले भनिन्, ‘अब, मेरो कुनै चाहाना छैन । ६० बर्ष लागिसकेँ, अब म आफैँ दुःख गर्न पनि सक्दिनँ । कुनै छोराका परिवार छैनन् । माइलो बितिगयो, अब त मर्नु भन्दा अघि नै जेठो छोरा घर फर्किन्छ र कान्छो भाइको उपचार गर्छ कि भन्ने आश मात्रै बाँकी छ मसँग । सबैले मेरो जेठो छोरालाई घर फर्काउन र कान्छोको उपचार गर्न सहयोग गरिदिनुहोला ।’

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ