सूर्यको हत्या स्विकारे रामचन्द्रले, ध्रुब र बुद्धले नकारे । केटीमार्फत प्रहरीलाई सफलता

सूर्यको हत्या स्विकारे रामचन्द्रले, ध्रुब र बुद्धले नकारे । केटीमार्फत प्रहरीलाई सफलता

Surya sab

रञ्जन अधिकारी, पोखरा । नेपाली युक्ति छ, आमाले दिएको आशिष/श्राप लाग्छ । आमा कहिल्यै झुटी हुँदैनन् । ‘छोरोको हत्या नै भएको हो, आफै मरेकै होइन’ भनेर चार वर्षदेखि न्याय खोज्दै भौतारिएकी विष्णुकुमारी पाण्डे (६६) ले जे भन्दै आइन्, अन्ततः उनको दाबी नै सही ठहरियो । सूर्य पाण्डे (२५) को हत्या नै भएको खुलेको छ ।

प्रहरी विश्वस्त श्रोतका अनुसार अहिले हिरासतमा रहेका तीन आरोपीमध्ये एक जनाले हत्या स्विकार गरिसकेका छन् । दुई जनाले भने आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । गत वैशाख १३ गते शुक्रबार किटानी जाहेरी दर्ता भएकोमा आइतबार नै तीनै जनालाई पक्राउ गरिएको थियो । पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्ध श्रेष्ठ, उनका साथी सोहि ठाउँ बस्ने ध्रुब मानन्धर र रामचन्द्र मानन्धर पक्राउ परेकोमा सोमबार तिनै जनालाई म्याद थप गरी कास्की प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीको प्रारम्भिक बयानमै रामचन्द्रले आफूले झगडापछि धकेलिदिएको र भिरबाट खसेर मृत्यु भएको स्विकार गरेका छन् । रामचन्द्र ध्रुबका दाइ हुन् । आरोपित ध्रुब पोखरा नयाँबजारस्थित बजाज मोटरसाइकलको विक्रेता इच्छाशक्ति अटोमोबाइल्समा काम गर्छन् । मृतक सूर्य पनि यसअघि सोहि ठाउँमा काम गर्थे । सूर्य लागुऔषध प्रयोग गर्ने भएकाले सो ठाउँबाट निकालेको नाम नखुलाउने शर्तमा बजाज शोरुमकै एक कर्मचारी बताउँछन् । प्रहरी श्रोतका अनुसार अब तीनै जनालाई म्याद थप्दै आवश्यक अनुसन्धान गरेर अदालतमा पेश गरिनेछ ।

केटी मार्फत प्रहरीलाई सफलता

पोखरा नयाँबजारमा मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्दै आइरहेका कास्कीको सिल्दुजुरेका सूर्य पाण्डे सेतीघाटमा २०७१ फागुन ६ गते अचानक मृत भेटिए । त्यो बेला पोष्टमार्टम रिपोर्टमा (कज् अफ डेथ) मृत्यु हुनुको कारण बजारिएर भएको उल्लेख छ । तर, दिउँसो झगडा भएका कारण सूर्यकी आमा साथीहरुले नै मारेर फालेको दाबी गरिरहिन्, चार वर्षसम्म न्यायको भिख माग्दै भौतारिरहिन् ।

तत्कालिन कास्कीका एसपीहरु हरिबहादुर पाल, घनश्याम अर्याल, अशोक सिंह पछि अहिले एसपी ओम रानाले आफ्नो नेतृत्वको वर्षदिन पछि अनुसन्धान अघि बढाए । त्यसमा उनीभन्दा जुनियर अधिकृतहरुको ठूलो साथ छ । एउटी केटीमार्फत नै अनुसन्धान प्रक्रिया अघि बढ्यो । जुन केटीसँग त्यसरात रक्सी पिइएको थियो ।

घटना विवरण (अभियुक्त रामचन्द्रको बयानका आधारमा)

सूर्य पाण्डे केहि समयअघि सम्म ध्रुबसँग बजाज शोरुममा काम गर्थे । तर पछि सूर्यलाई निकालियो । सूर्य चलाख, तिक्ष्ण बुद्धिका थिए । तर, लागुपद्धार्थ पनि प्रयोग गर्थे । २०७१ फागुन ५ गते शिवरात्रीको दिन । सूर्य पाण्डे ४ जना साथीसहित दिनभर सँगै थिए । त्यहाँ रामचन्द्र, माईला भनिने बुद्ध, ध्रुब थिए । बीचमा लागुऔषध पनि प्रयोग भयो । बेलुकी ६ बजेतिर तुलसीघाटको शिव मन्दिर पुगे । जहाँ शिवधुनी र उखु पड्काएर रमाईलो थियो । सूर्यको माहिला भन्ने बुद्ध श्रेष्ठसँग झगडा भयो । माहिला र ध्रुब घर गए । तर सूर्य र रामचन्द्र एक अधवैंशे महिलाकोमा बसेर उनी सहित बिक थरकी एक युवतीका साथ रक्सी खान थाले । रातको १२–१ बजेतिर सूर्य र रामचन्द्र निस्के । पुलपारितिर पुगेपछि त्यहीं झगडा भयो । अनि रामचन्द्रले धकेलिदिए । तल अनकन्टार भिर छ । सेती लुकेको छ । सूर्य त्यहींबाट खसे । ढुंगामा बजारिएर मृत्यु भयो । नजिकै प्रहरी पोष्ट समेत छ तर प्रहरीले पत्तै पाएन । फेरि रामचन्दै त्यही महिलाको घर फर्के, हातमुख धोए, उज्यालो नहुँदै निस्के । भोलिपल्ट सूर्य मृत भेटिएको खबर फैलियो तर उनी घटनास्थल पनि गएनन् ।

प्रहरी श्रोत भन्छ, ‘बुद्धसँग त झगडा भएको हो । त्यही आधारमा आमाले बुद्ध र ध्रुब मुछिएका हुन् । उनीहरु संलग्न भएको प्रमाण अझै भेटिएन ।’ सूर्यकी आमा विष्णुकुमारीले पहिल्यै दुई जनालाई किटानी जाहेरी दिएकी थिईन् ।

‘अनुसन्धान नै झारो टार्ने भो’

राष्ट्रिय मानवअधिकार आयोगको समन्वयमा विष्णुकुमारीले किटानी जाहेरी दिएका बुद्ध र ध्रुबलाई नियन्त्रणमा लिएर तत्काल अनुसन्धान पनि गरिएको थियो । क्षेत्रीय प्रहरीको टोलीले पनि अनुसन्धान गर्दा समेत उनीहरु दोषी पाइएन ।

हालका डिआईजी एवं तत्कालिन एसपी हरिबहादुर पालले कास्कीको नेतृत्व सम्हालेको एक हप्ता जति समय मात्रै भएको थियो । सूर्यले लागूऔषध समेत प्रयोग गरेको, भिरबाट खसेर मृत्यु भएकाले पोष्टमार्टम रिपोर्ट समेत बजारिएर मृत्यु भएको उल्लेख भएपछि आफै मरेको ठानेर अनुसन्धान गम्भिरतापूर्वक अघि बढेन । त्यसपछि, घनश्याम अर्यालले पनि चासो दिएनन् । अशोक सिंहले नेतृत्व गर्दा पनि हत्या वा आफै खसेको ? तर्फ अनुसन्धान अघि बढेन । ओम राना आएको झण्डै वर्ष दिनमा अनुसन्धान अघि बढ्यो । कास्की प्रहरीमा क्षमतावान जुनियर अधिकृतहरु छन्, जसले अहिले कास्की प्रहरीको गतिविधि चुस्त बन्न सफल भएको छ ।

पछिल्लो अनुसन्धान सूर्य त्यसरात कोसँग बसेको ? भन्नेमा केन्द्रित भयो । महिलाहरुको बारेमा सूचना हात लाग्यो । त्यसमै केन्द्रित भए । दुई महिलासँग बसेर रक्सी पिएको खुल्नासाथ सँगै रहेका रामचन्द्र पक्राउ परे । नत्र रामचन्द्रप्रति शंका स्वयं विष्णुकुमारीले समेत गरेकी थिईनन् । उनले बोकेको कापीमा समेत रामचन्द्रको नाम छैन ।

विष्णुकुमारीले मुछेका नामहरु ध्रुब र रामचन्द्रका दिदी राममाया मानन्धर, श्याम चौधरी, लक्ष्मण, भोटे हुन् । तर, अनुसन्धानमा रामचन्द्र बाहेक अहिलेसम्म अरु संलग्न रहेको नभेटिएको प्रहरी श्रोत बताउँछ ।  विष्णुकुमारीलाई भने अझै पनि ध्रुब र बुद्ध नै संलग्न भएको जस्तो लाग्छ । उनी भन्छिन्ः ‘त्यसदिन झगडा गर्नेहरु हुन् उनीहरु । रामचन्द्र मात्रैले त मारेको होइन भन्छ मेरो मनले ।’

चार वर्षसम्म एउटी आमा न्यायको भिख माग्दै दिनहुँ कास्कीको मजुवादेखि पोखरा धाईरहँदा पनि प्रहरीले दुर्वचन र दुव्यर्वहार लगाईरहँदा कसैको दबाब वा प्रभावमा हो कि ? भन्ने आशंका थियो । तर, अहिलेसम्मको घटनाक्रम हेर्दा प्रहरी दबाब, प्रभाव भन्दा पनि गम्भिर अनुसन्धान नै नगरी यसै छाडेको प्रष्ट हुन्छ । तीन एसपीहरु पाल, अर्याल र सिंहले गम्भिर अनुसन्धान नै गरेनन् । राना पनि कार्यकालको अन्तिम अवस्थामा सफल भए । तर, ६६ वर्षीया विष्णुकुमारीले ४–४ वर्षसम्म दुःख पाईन्, रुँदै हिँडिन्, दुनियाँसामु मगज खुस्किएको, बहुलाएको उपमा पाईन् । यसअघिका नेतृत्वकै कारण उनले दुःख पाईन् । न्याय पाईनन् । स्वास्थ्य अवस्था नाजुक छ ।

प्रहरीसँग निकट एक श्रोत भन्छः ‘प्रहरीले हत्यारा ठूला मान्छे भएर जोगाउन खोजेको होइन । प्रहरीले सुक्ष्म ढंगले गहिरिएर अनुसन्धान गर्नुपर्ने थियो । एउटी केटी पक्रेपछि त सबै पत्ता लागिहाल्यो नि । तर खै त ? तीन तीन जना एसपीले केहि गरेन, अहिलेका एसपीले पनि अन्तिममा राम्रै काम गरे । कम्तिमा आमाको आशिष त लाग्छ । अब अरु पनि संलग्न छन् भने छाड्नुहुन्न ।’

यसअघिको समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्:

नथाकेकी आमा ! छोराको हत्यारालाई सजाय दिलाउन चार वर्षको प्रयास सफल, ४ प्रहरी प्रमुख फेरिँदा बल्ल अनुसन्धान

http://gandaknews.com/surya-pande-murder-case-1/

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ