कृषि प्रदान देश : उत्पादन हुन्छ बिक्री हुँदैन, कृषक मारमा

कृषि प्रदान देश : उत्पादन हुन्छ बिक्री हुँदैन, कृषक मारमा

chease-750×375

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उत्पादन गरिएको चीज बिक्री नहुँदा भण्डारमा नै थन्काउन कृषक बाध्य भएका छन् । दैनिकजसो उत्पादन हुने चीज भण्डार कक्षमा टन्नै भए पनि बजार अभावका कारण बिक्री हुन सकेको छैन ।

घारका ३२ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । त्यति बेला रु २० लाखको लगानीमा कृषकहरुले चीज उद्योग सञ्चालन गरेकोमा अहिले लगानी बढाउँदै ३२ लाख पुर्याएका छन् ।

जिल्लाभित्रका पर्यटकीयस्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले सो उद्योग सञ्चालन गरी गुणस्तरीय चीज उत्पादन गर्दै आएको भएता पनि बजारको समस्याले नियमित बिक्रीमा समस्या भएको हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्थाका सचिव श्यामप्रसाद खड्काले बताए ।

गाउँका ४५ कृषकले दैनिक सो उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रति लिटर रु ४५ देखि ७० सम्ममा कृषकबाट दूध खरीद गर्दै आएको छ । चीजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ ।

व्यावसायिक रुपमा उन्नत जर्सी र होल्यड जातको गाई पालनमा त्यहाँका कृषकले रु ५० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि एकदेखि तीन लाखसम्म लगानी गरी स्थानीयले उन्नत जातको गाई खरीद गरेका छन् ।

बजारको खोजीमा सहकारीमार्फत विभिन्न स्थानमा समेत पुगेको बताउँदै लगानी, उत्पादन क्षमता र जनशक्तिको कुनै समस्या नभएपनि बजार व्यवस्थापनको दृष्टिकोणले चुनौती देखिएको उद्योग सञ्चालकको भनाइ छ । १० लिटर दूधबाट एक केजी चीज उत्पादन हुन्छ । स्थानीय उत्पादनले बजार पाउन सकेमा व्यावसायिक कारोवार बढेर जाने कृषकहरुको भनाइ छ ।

गाउँमा उन्नत जातका गाईपालन गरेका कृषकले दैनिक उद्योगमा दूध खपत गर्ने गरेकाले पनि बजार अभावका कारण कृषकलाई राहत दिन नियमित उत्पादन गर्नुपर्ने बाध्यता रहेको उद्योग सञ्चालक एवं सहकारी संस्थाका सचिव खड्काले बताउनुभयो । चीजको बिक्री बढाउन सके उत्पादनको दायरा अझै बढाउन सकिने बताइएको छ ।

कृषकहरूको दूध सङ्कलन गरेर चीजसँगै घिउ उत्पादन गरी बिक्री गर्ने गरिएको छ । चीज र घिउ प्रति केजी ८५० मा बिक्री हुने गरेको छ । घ्यू गाउँ आसपासमै खपत हुने भएकाले पनि त्यसको आम्दानीबाटै बेमौसममा कृषकलाई भुक्तानी दिने गरिएको छ ।

चीज उद्योगबाट एक कृषकले मासिक रु सातदेखि ३२ हजारसम्म आम्दानी गर्ने गरेका छन् । लामो समयसम्म उत्पादित चीज भण्डारण गर्दा कुहिने भएकाले पनि सस्तो मूल्यमै बिक्री गर्नुपर्ने बाध्यता रहेकाले स्थानीय कृषकले गाउँपालिका तथा अन्य सरकारी निकायबाट आवश्यक औजारसहित बजार प्रवद्र्धनमा सघाउनुपर्नेमा जोड दिएका छन् ।

गतवर्ष उद्योगबाट चीज र घ्घू गरी रु ३८ लाखको कारोवार भएको थियो । प्रोटिनयुक्त स्वादिलो, शक्तिवद्र्धक एवं स्वास्थ्यका लागि हितकारी मानिने चीजलाई राज्यका निकायले प्राथमिकता दिन सकेमा विदेशमा समेत खपत गर्न सकिने सम्भावना रहेको चीज उत्पादकहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ