पत्रकार कुट्ने र लुटपाटमा उत्रने युवराज र नवराजलाई २४ घण्टा हिरासत राखेर माफ [भिडियो]

पत्रकार कुट्ने र लुटपाटमा उत्रने युवराज र नवराजलाई २४ घण्टा हिरासत राखेर माफ [भिडियो]

Yubaraj & Navaraj

पोखरा २७ तालचोकमा रहेको पिजी रियल स्टेट एण्ड जब लिंक नामक कम्पनीका सञ्चालक कृष्ण पौडेलले ठगी गरेको बारेमा समाचार संकलनमा पुगेका गण्डकन्यूजका पत्रकार रञ्जन अधिकारीलाई हातपात गर्ने दुई युवकलाई २४ घण्टा हिरासतमा राखिएको छ ।

काठमाण्डौ कलंकी स्यूचाटार घर भई पोखरा ७ मासबार बस्दै आएका ३१ वर्षीय युवराज लामा र पोखरा २७ तालचोक घर भई बिरौटा बस्दै आएको भन्ने ३० वर्षीय नवराज शर्मा पीडितकै न्यायका पक्षमा कलम चलाउने पत्रकारलाई कुटेपछि प्रहरी खोरमा जाक्किएका हुन् ।

उनीहरुलाई थप कारबाही प्रक्रिया अघि नबढाई अब आगामी दिनमा यसो नगर्ने प्रतिबद्धतापछि पत्रकार अधिकारीले माफी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट मुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले पीडित पत्रकार अधिकारीले जाहेरी दिएको खण्डमा तत्काल थप कारबाही प्रक्रिया अघि बढाउने बताएका थिए । तीन दिनपछि विदेश जाने र घरको अवस्था कमजोर भएको भन्दै पीडक लामाले दुःखेसो पोखेपछि पत्रकार अधिकारीले आगामी दिनमा यस्ता अक्षम्य हर्कत नगर्न सचेत गराएका थिए ।

पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा र महासंघ कास्कीका सचिव माधव बरालको रोहवरमा मेलमिलाप गराई पीडक दुई जनाले माफी मागेपछि पत्रकार अधिकारीले क्षमा दिएका हुन् ।

पत्रकारमाथि हातपात गर्ने दुई युवकलाई डिएसपी सुवास हमालको निर्देशनमा सई थानेश्वर चपाईंले नियन्त्रणमा लिएका थिए । पत्रकार अधिकारीलाई गत महिना पनि समाचार लेखेकै कारण ठगी कार्यमा संलग्नका परिवारले ज्यान लिने धम्की दिएका थिए । पटक पटक मानसिक तनाव दिएपछि कानुनी उपचार खोजेका थिए । पीडकले माफी मागेपछि उनलाई पनि क्षमा दिइएको थियो ।

यो घटना के हो ?

जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगेको अभियोगमा कास्की प्रहरीले स्याङ्जाका कृष्णप्रसाद पौडेललाई पक्राउ गरेको थियो । सो सम्बन्धमा पीडितको आवाजसहित सत्यतथ्य समाचार संकलनका लागि आइतबार गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालय कास्की परिसर पुगेका पत्रकार अधिकारीमाथि ठगी काण्डका पीडितबाटै फोटो/भिडियो खिचेको निहुँमा हातपात भएको थियो ।

ठगी गर्ने अफिसको प्रचार गरेको भन्दै मिडिया र पत्रकारसँग पीडितहरुले आक्रोश पोखिरहेका थिए । यस कार्यमा पत्रकार अधिकारी भने संलग्न थिएनन् । तर, उनी निशानामा परे ।

अधिकारीलाई हातपात गर्नु अघि पत्रकार प्रल्हादचन्द्र घिमिरे (फेवा टेलिभिजन) माथि दुर्व्यवहार भएको थियो । त्यस समय रिपोर्टिङमा पत्रकार ढाकामोहन (गणेश) बराल (पोखरा न्यूज) पनि खटिएका थिए । दुर्व्यवहारमा परेका घिमिरे भीडबाट सुरक्षित भएपछि बराल र घिमिरे सँगै बाहिरिए भने अधिकारी समाचारका लागि त्यहाँको माहौलको दृश्य कैद गर्दै थिए ।

सोहि बेला कालो टोपी र कोट लगाएका एक युवक जिप्रका अगाडि देखिए । ति युवक देख्नासाथ एक हुल उनलाई घेर्न पुगे । ‘झोला खोस्’, ‘ल्यापटप हेर्’, ‘के के छ निकाल्’, ‘त्यसलाई कुट्’ भन्दै भिडले घेर्न सुरु गर्दा पत्रकार अधिकारीले त्यो दृश्य खिच्न थाले । त्यसपछि गुुण्डा पारामा २–३ जना पत्रकार अधिकारीमाथि जाइलागे । उनीहरुले भिडियो रेकर्ड भइरहेको मोबाइल खोसे । ‘पत्रकार भएपनि हान्’ ‘मिडियाले नै ठगेको हो’ भन्दै लछार्न थाले । भिडियो डिलिट गर्ने शर्तमा मोबाइल दिइयो । अधिकारीलाई हातपात गरेपछि त्यहाँ रहेका अन्य सञ्चारकर्मीहरु क्यामेरा लुकाएर बाहिरिएका थिए ।

पत्रकारमाथि हातपात गर्ने र सुवेदीलाई लुटपाट गर्ने कार्यमा संलग्न यी दुईले पटक पटक आफ्नो ठेगाना प्रहरीसमक्ष ढाँटेका थिए । यी दुई जना लगायतका केही युवाहरु अन्य बेला देखिएका छैनन् । उनीहरु हुलहुज्जत गर्न मात्र उद्धत थिए । टार्गेटमा रहेका पत्रकारलाई त्यहाँबाट  अधिकारी र बरालले निकालेपछि आक्रोशमा रहेको भिडले पछि निशाना बनाएका हुन् । पत्रकार अधिकारीसँगै रहेका अन्य २ सञ्चारकर्मीहरु तर्फ भने उनीहरु जाइलागेनन् ।

२४ घण्टे हिरासत बासपछि आफूहरुबाट ठूलो गल्ती भएको भन्दै उनीहरुले अब आईन्दा यस्ता गल्ती नदोहोरिने बताएका छन् । ‘हामी पीडित हौं । पत्रकार सरहरुले हाम्रै पक्षका लागि समाचार लेख्नुभएको थियो । तर भीडमा के भयो कसो भयो ? हामीले सोच्नै सकेनौं । यो पहिलोपटक हो । अब यस्ता काम हुँदैन । अब कारबाही प्रक्रिया अघि नबढाइदिनुस् । माफी चाहन्छौं ।’ – आरोपित लामा र शर्माले पत्रकार अधिकारी समक्ष भनेपछि क्षमा दिइएको हो ।

नेपाल पत्रकार महासंघ कास्की सदस्य एवं नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी उपाध्यक्ष रञ्जन अधिकारीमाथि समाचार संकलनका क्रममा भएको हातपातको घटनाप्रति चौतर्फी विरोध भएको थियो । विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले यो घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीसहित सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन राज्यसँग माग गरेका थिए ।

पत्रकार महासंघका महासचिव रोसन पुरी, गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्कीका सचिव माधव बराल, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदीप पौडेल, खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव विजय नेपाल, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गरेका हुन् ।

सम्बन्धित समाचारः

पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना

कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

कृष्ण ठगी प्रकरणः २५ सय फिर्ता लिन पीडितहरु जिप्रकामा लाइन लाग्न थाले (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ