पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ ।
पत्रकार विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित दुवैलाई सम्मान गरे । लम्साललाई सम्मान–पत्रसहित २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरियो ।
सम्मानपछि बोल्दै सापकोटाले संगठनले दुई दशक लामो आफ्नो त्रियाशीलतालाई स्मरण गरेकोमा खुसी व्यक्त गरे । उनले सम्मानले संगठनप्रतिको दायित्व बढेको महसुस भएको बताए । पुरस्कृत पत्रकार लम्सालले अनेक ठक्कर–हण्डरबीच निरन्तर गरिरहेको कर्मको मूल्यांकन भएको बताए । विगतको पुरस्कार, पुस्तक विमोचन र हाल प्राप्त पुरस्कार एमाले नेता अधिकारीकै हातबाट प्राप्त गर्ने संयोग मिलेको उनले सुनाए ।
एमाले सचिव अधिकारीले देशको रक्षाका लागि पत्रकारको आवाज र कलम खुम्चिन नहुने बताए । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेकोमा उनले असन्तुष्टि जनाए । सम्पूर्ण जनता र राजनीतिक दल एकताबद्ध भएर देशको विकासमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, प्रेस सेन्टर कास्की अध्यक्ष दीननाथ बरालले बोलेका थिए ।
चौतारीले सम्मानित र पुरस्कृत व्यक्तित्व छनोट गर्न पूर्वपुरस्कृत एवं अग्रज पत्रकार श्यामनाथ कुँवरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरेको थियो । त्यसमा पूर्वपुरस्कृत पत्रकार खेम सारु र दीपेन्द्र श्रेष्ठ सदस्य, संगठनका अध्यक्ष मोतिसागर अधिकारी र सचिव अनुप पौडेल पदेन सदस्य थिए ।
हालको पोखरा महानगरपालिका–३३ भरतपोखरी, डाँडा गाउँका लम्साल २७ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । उनले २०५५ साल पुसमा तालनगरी साप्ताहिकबाट पत्रकारिता थालेका थिए । उनीसँग हिमचुली एफएम, पोखरा एफएम, रेडियो बाराही, जनता टेलिभिजनमा काम गरेको अनुभव छ । उनी हाल पोखरा एक्सप्रेस डटकममार्फत पत्रकारितामा सक्रिय छन् ।
वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका लम्साल रसियान भाषा, उद्घोषण, भाषण कला र नेतृत्व विकाससम्बन्धी प्रशिक्षक हुन् । उनलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले २०७९ सालमा उत्कृष्ट युवा वर्ष पत्रकार सम्मान प्रदान गरेको थियो ।
सापकोटा हालको मादी गाउँपालिका–४, तारकाङ (साविकको थुमाको डाँडा गाविस–७) का स्थायी बासिन्दा हुन् । २०५८ सालमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनी हाल आदर्श समाज राष्ट्रिय दैनिकमा आबद्ध छन् । मुख्यतः सञ्चारमाध्यमको व्यवस्थापकीय पाटोमा उनी सक्रिय छन् । उनी प्रेस चौतारी नेपाल कास्कीका पूर्वकोषाध्यक्ष (२०६५ देखि २०६७ सम्म) हुन् । सापकोटा २०७२ सालमा आदर्श समाज दैनिकका उत्कृष्ट कर्मचारी घोषित भएका थिए । उनलाई चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८० मा सम्मान गरेको थियो ।
प्रेस चौतारी कास्कीले यसअघि राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ, मीना गुरूङ र गणेशमान गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्यामनाथ कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल, माधव बराल र इन्द्रप्रसाद पौडेल पुरस्कृत भइसकेका छन् ।
सम्बन्धित खबर
विष्णु र रामजीलाई पत्रकारिता सम्मान–पुरस्कार अर्पण
निर्वाचन नजिकिँदै स्याङ्जामा हतियार संकलन, ११८ मा ३६ थान मात्रै प्रहरीको जिम्मा
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणः सर्वोच्चद्वारा पूर्वमन्त्री गुप्ता र अन्य प्रतिवादीलाई पेसीको सूचना दिन आदेश
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
यो पनि पढौँ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण