अहिले पनि गाउँघरतिर कटहरलाई गाडी चढाउन मान्दैनन् । त्यसै लैजानु भन्दा पनि लाने कोही हुन्नन् । सबैका घरदेखि वनमा समेत कटहर खेर गइरहेको छ । अहिलेको सिजन रुख कटहरको हो । फालिएकै कटहरबाट गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा चाहिँ वाइन बनाउन थालिएको छ । वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका हुन् ।
गाउँभरिका कटहर खरिद गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँ दिएको छ । ‘एउटै डल्लाबाट २५ देखि ३० रुपैयाँसम्म किसानले कमाउँछन् । विदेशबाट फर्केकाको सीप पनि प्रयोग भयो । किसानको उत्पादन पनि खेर गएन,’ वडाध्यक्ष यामबहादुर थापाले भने, ‘अहिले परीक्षण गरिएको हो । अर्को वर्षदेखि अझै व्यावसायिक बनाउने योजना छ ।’
गाउँघरमा घरेलु मदिरा अहिले पनि उत्पादन भइरहेको छ । नयाँ प्रविधिको प्रयोग गरेर वाइन बनाउन लागिएको थापाले सुनाए । ‘गाउँमा बाहिरबाट रक्सी ल्याएर खाँदा रकम बिदेसिएको छ । स्थानीय रक्सी उत्पादन भए गाउँमै पैसा बस्छ,’ उनले भने, ‘गाउँमा प्रयोग गरेर बढी भएको वाइन मनकामना र गोरखा बजारसम्म लैजान्छौँ । पालिकाबाट स्वीकृति लिने प्रक्रिया पनि अघि बढाएका छौँ ।’
अघिल्लो वर्ष प्रत्येक घरमा १० वटा कटहरको रुख रोप्न वडाले नै सहयोग गरेको थियो । ‘परम्परागत खेती प्रणालीलाई प्रतिस्थापन गरी व्यावसायिक र वैकल्पिक खेतीबाट किसानको जीवनस्तर उकास्ने योजना छ,’ उनले अघि थपे, ‘अघिल्लो वर्ष हामीले रुख कटहर लगाउन प्रोत्साहन गर्यौँ । यो वर्षदेखि उत्पादित कटहर वडाले नै खरिद गरिदिएको छ ।’ अहिले १ टन कटहर खरिद गरिने वडाले जनाएको छ । त्यसबाहेक ताक्लुङ सहकारीले ५ सय किलो सुन्तला सहयोग गरेको छ । त्यसबाट पनि वाइन नै उत्पादन हुनेछ ।
‘अहिले ४ सय लिटर जति उत्पादन हुन्छ । उत्पादन भएका वाइन गाउँका पारखीलाई चखाउने हो,’ थापाले भने, ‘उत्पादन भएपछि ल्याब टेस्टमा पठाउँछौँ । यसको स्वाद र अर्गानिकपनालाई बजारमा बेच्ने योजना बनाएका हौँ ।’ वाइन उत्पादन हुन १५ दिनदेखि डेढ महिनासम्म लाग्ने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै श्रम गरिरहेका तिलबहादुर थापा वडाको योजनाले खुसी छन् ।
‘कटहर टिपेर गभाउन हालेका छौँ । पाकेपछि बियाँ छुट्टाएर गुदीलाई मर्चामा मिसाएर जाँड बनाउने हो,’ उनले भने, ‘१०–१५ दिनपछि पकाएर निकाल्न मिल्छ । प्रविधि जानियो भने राम्रो हुने रहेछ ।’ सधैँ कुहिएर जाने कटहरबाट वाइन बनाउने सुन्दा गाउँले पनि अचम्मित छन् । ‘कुहिएर जान्छ सधैँ । आफन्तलाई दिने, नलगेको कुहिन्छ । अहिले वडाले किन्दा त गाउँले दङ्ग परिरहेका छन्,’ उनी भन्छन्, ‘कहिल्यै मेसै नभएको कुरा देख्दा अचम्म हुने नै भयो ।’ परीक्षण सफल भए आगामी वर्षदेखि ठुलो परिमाणमा वाइन उत्पादनको काम गरिने थापाले सुनाए । रासस
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ