रौतहट डुब्दा भारतले बाँध खोलेन, बाँध आफै भत्कियो, यता सन्तोषको श्वास फेर्दा उता हल्लीखल्ली

रौतहट डुब्दा भारतले बाँध खोलेन, बाँध आफै भत्कियो, यता सन्तोषको श्वास फेर्दा उता हल्लीखल्ली

badhi gaur (2)

तस्विरः डिएसपी नविन कार्कीको फेसबुकबाट

रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएपछि बल्ल जिल्लाबासीलाई अब त डुबेर मरिदैंन कि भन्ने आशा पलाएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ । भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए ।तर पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए ।

फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् । पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ ।

सिडियो भन्छन्ः भारतले मानेन

पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले आफ्ना समकक्षीहरुलाई आग्रह गरे पनि भारतीय पक्षले खोलिदिएनन् । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भन पटक पटक आग्रह गर्दा पनि नखोलिदिँदा समस्या भएको जनाए ।

सुरक्षा टोली नै आफै असुरक्षित

सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको डिएसपी नविन कार्कीले फेसबुक मार्फत जनाएका छन् । गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमै वाटर बोटबाट आउजाउ गरिएको छ ।

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ । सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

आधा दर्जन स्थानमा तटबन्ध भत्कियो

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ । बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।

यसैगरी फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ । लालबकैया नदीको बहाव उच्च बिन्दुमा पुगेपछि रौतहटको हर्साहा, लक्ष्मीपुर, फतुवा विजयपुरसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ ।

सन्दर्भ सामाग्री: अनलाइनखबर लगायत अनलाइन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ