मोदी आउने भएपछि मुक्तिनाथमा सर्वसाधारणले २ दिन दर्शन गर्न नपाउने

मोदी आउने भएपछि मुक्तिनाथमा सर्वसाधारणले २ दिन दर्शन गर्न नपाउने

Pashupatinath-and-Muktinath

सुन्दर कुमार थकाली, मुस्ताङ / आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई मध्यनजर गर्दे जिल्ला स्थित सुरक्षा समितिले २ दिनका लागि मुक्तिनाथ जान रोक लगाउने भएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको अध्यक्षतामा राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज, सुरक्षाकर्मी र सरोकारवालाबीच सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बैशाख २८ र २९ गते २ दिनका लागि सर्वसाधारण तिर्थालुलाई मुक्तिनाथ मन्दिर प्रबेशमा रोक लगाइएको शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।

समितिले उक्त दिनमा हेलिकोप्टर, हवाईसेवा, बेनी–जोमसोम धावनमार्ग हुँदै जोमसोम आउने तिर्थालुलाई मुक्तिनाथ नजान आग्रह गरेको छ । यस्तै, सुरक्षा समितिले मनाङ देखि थोरङ्लापास हुँदै मुक्तिनाथ र मुक्तिनाथ देखि थोरङ्लापास हुँदै मनाङ जाने पदमार्ग २ दिनका लागि बन्द गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ भ्रमणको तिथी पक्का भएपछि जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुखहरुको दिनहुँजसो बैठक बस्ने गरेको प्रहरी नायव उपरिक्षक रामहरी पाण्डेले जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर देखि तल्लो मुस्ताङको घाँसा सम्मको एरियामा सुरक्षाकर्मीले कडा निगरानी गरिरहेको जनाए । उनका अनुसार मुक्तिनाथ परिसर बाहिर चारैतर्फ नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछ भने मुक्तिनाथको दोश्रो र पहिलो घेरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भएका छन् ।

सिडिओ शिशिर पौडेलले आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको तैयारी स्वरुप मुक्तिनाथको आवश्यक मर्मत तथा सुधारका कामहरु भैईरहेको जानकारी दिए । उनले मुक्तिनाथको १ सय ८ धाराको सरसफाई तथा रङ रोगन लगाउने, भिआईपि कक्षको मर्मत तथा व्यवस्थापनकार्य, मुक्तिनाथमा भएका भौतिक संरचनाको मर्मत तथा सुधार, हेली प्याड निर्माण, शौचालयको सरसफाई तथा मर्मत सुधार र हेलीप्याड देखि मन्दिर सम्म पुग्ने पैदलबाटोको मर्मत तथा सुधारका काम अघि बढिरहेको जानकारी दिए ।

त्यस्तै, जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङले भारतीय प्रधानमन्त्रीको मुक्तिनाथ भ्रमण मुस्ताङवासीका लागि अहोभाग्य भएको बताईन् । उनले मोदीको मुक्तिनाथ भ्रमणको स्वागतका लागि कुनै कन्जुस्याई गर्न नहुने उल्लेख गरिन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले मोदी भ्रमणपछि मुस्ताङको धार्मिक पर्यटनमा बृद्धि हुने जनाए । उनले दक्षिण एशियाकै महान् नेता मोदी भ्रमणको तैयारीका लागि मुक्तिनाथको मर्मत सुधारका कार्यलाई तिब्रता दिएको जानकारी दिए ।

यस्तै, वारागुङका समाजसेवी रमेश गुरुङले मुस्ताङको मुक्तिनाथ मन्दिर विश्वमा प्रख्यात भएको उल्लेख गर्दे मोदी भ्रमणले जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्ने दावी गरे ।

यसअघि आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको पुर्व तैयारी स्वरुप गतहप्ता दुतावासको एक टोली मुस्ताङ आएको थियो । टोलीले मुक्तिनाथको अवलोकन गरेपछि मोदीको मुक्तिनाथ भ्रमणको चर्चा चुलिएको हो । यतिबेला दक्षिण एशियाकै ध्यान हिमालपारी मुस्ताङमा केन्द्रित भएको छ ।

जसका लागि नेपाल सरकारले पनि सोही अनुसार गृहकार्य गरिरहेको छ ।आईतवार मोदी सरकारको सुरक्षा बन्दोबस्त मिलाउन रक्षामन्त्री ईश्वर पोखरेल मुस्ताङ आएका हुन् । उनले शैनिक उच्चशिखर शिक्षालयमा ३ घण्टा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर गएका थिए । आसन्न मोदी भ्रमणको सम्मान र स्वागतका लागि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको संयोजकत्वमा ११ सदस्यीय मुलसमारोह समिति गठन भएको ।

त्यस्तै, वारागुङ गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङको अध्यक्षतामा गाउँमुखिया, रानीपौवा आमा समुह र जनप्रिय युवा क्लव सम्मिलित एक मोदी भ्रमण तैयारी समिति गठन भएको छ । मोदी भ्रमणका लागि जिल्लाका ४ वटा सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताईएको छ ।

जसमा थाक सात सय, थाक पाँच गाउँ, बाह्र गाउँ र लोछोदिन समुदायको झाँकी रहनेछ । भारतीय प्रधानमन्त्री मोदी भ्रमणकै तैयारीका लागि सोमवार नेपाली सेनाले मुक्तिनाथमा पुर्ण सरसफाई कार्यक्रम गरेको छ ।

मन्दिरलाई स्वस्छ ,सफा र हराभरा बनाई सुन्दर वातावरणमा मोदी भूमण सफल पार्न सेनाले सरसफाई गरेको हो । मुक्तिनाथमा आउने तिर्थालुले फालेका फोहोरलाई सेनाले संङ्कलन गरेर जलाएको जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङले जानकारी दिए ।

मोदीको मुक्तिनाथ भ्रमणको प्रत्यक्ष प्रशारण हुने जनाइएको छ । जसका लागि राष्ट्रिय तथा भारतीय मिडियाहरु मुस्ताङ आउने क्रममा रहेका प्रशासनले जनाएको छ । मुक्तिनाथमा करिब ५० वटा टेलिभिजन राखेर प्रत्यक्ष प्रशारणको व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ