‘हिमालपारी चौरीको रगत खाने मेला’

‘हिमालपारी चौरीको रगत खाने मेला’

rass

सुन्दर कुमार थकाली, मुस्ताङ / हिमाली तथा उच्चपहाडी जिल्लाहरुमा चौरी आलो रगत खाने प्रचलन नयाँ होईन ,यो सदियौ पहिले देखिकै परम्परागत प्रचलन मानिन्छ । प्राकृतिक उपचार पद्धती मध्येको एक उपचार पद्धती मानिएको चौरीको आलो रगत खादाँ मानिसको पेट संम्वन्धि संम्पूर्ण रोग निको हुदै जाने जनविश्वासका कारण चौरीको रगत खानेको संख्यामा सर्वसाधारणको मोह बढेको हो ।

विशेषगरि मनाङ,मुस्ताङ र डोल्पा जिल्लामा चौरीको पकेटक्षेत्र मानिन्छ ।चिसो भुगोल र प्राकृतिक संरचनामा हुर्काईएको हुनाले यहाँ पुगेर चौरीको आलो रगत खान सर्वसाधारण उत्साहित हुने गर्छन् ।गर्मी सिजनको समय पुरै लेंकमा नै गोठ राखेर पालन गरिने चौरीको मुख्य चरनक्षेत्र हिमालीक्षेत्र आसपास हुने गर्छ ।

प्रत्येक चौरी गोठको बथानमा एक जना चौरी रेखदेख गर्ने कुरुवा कर्मचारी खटाएको हुन्छ भने कतिपय चौरी धनी आफै लेकमा बसेर चौरीको संरक्षणमा जुट्ने गर्छन् ।मुस्ताङको पश्चिमतर्फ धौलागिरी आईसफल वरपर धौलागिरी चौरी पालक कृषक समुहको करिव ८ सयबढी चौरी छन् ।

टुकुचेको पूर्वतर्फको मार्चे लेकमा स्थानीयको आधादर्जन गोठमा ५ सयबढी चौरी छन् । त्यस्तै जोमसोमको पुर्वतपकार्mे निलगिरी हिमालको फेदतर्फको नमखुलेकममा जोमसोमका भुपेन्द्र शेरचनको १ सय चौरी छन् ।

चौरीको रगत उपयोगी हुनुको मुल कारण हिमाली उच्चलेकमा पाईने प्राकृतिक बन्यवनस्पती तथा जटीबुटीनै हुन् ।उच्चपहाडी लेकमा पाईने प्राकृतिक जटीबुटी तथा बनस्पती चौरीको मुख्य आहारा हो भने चौरीका धनीहरुले घोडा खच्चड र झोपालाई बोकाएर चौरीका लागि खाद्यान्न लेंकमानै पु–याउने गरिन्छ ।चौरीले प्राकृतिक जटीबुटी आदी खाने भएकाले चौरीको रगत स्वास्थ्यवद्र्धक मानिएको रगत खाने सरोकारवालाहरु बताउछन् ।

हिमाली लेकमा यार्चागुम्बा,पाँचऔले,निरमसी,जटामसी,सतुवा,चिची,भोलु चिया,कुरिलो , तोरा चिची, जिम्बु र बन लसुन आदी बनस्पती पाईने गर्छ ।यि सबै प्राकृतिक वनस्पती स्वास्थ्यका लागि अत्यन्तै फाईदाजनक मानिएको छ।जसबाट विभिन्न आयुर्वेर्दिक औषधी समेत बन्ने गरेको छ । चौरीको रगतको साथसाथै मासु समेत मुल्यवान मानिन्छ ।

चौरीको रगत स्वादिलो र पोसिलो समेत हुने गर्छ । मुस्ताङमा एक जिउदो याकको मुल्य १ लाख २० हजार सम्म पर्ने गर्छ ।यहाँका चौरी पालक किसानले चौरी र चौरीको दुध बिक्री गर्ने गर्छन् भने चौरीको दुधबाट घिउ ,चिज र छुर्पी बनाएर पनि फाईदा लिने गरेको पाईन्छ ।

मुस्ताङमा वर्षेनी बैशाख र श्रावण महिनामा चौरीको आलो रगत निकालिन्छ ।टुकुचेको मार्चे लेक र जोमसोमको नमखुलेकमा श्रावण महिनामा र कोवाङको धौलागिरी लेकमा बैशाखमा महिनामा चौरीको रगत निकाल्ने गरिन्छ ।श्रावण महिनामा लेकमा चारैतिर हरियाली हुने भएकाले त्यस समयको चौरीको रगत पोसिलो हुने भनाई छ ।

कोवाङमा रगत निकालिएका चौरी चिसो छलाउन बेशी झारिएका चौरी हुन् ।यिनीहरुलाई रगत निकालेपछि लेकमानै छाड्ने गरिन्छ । बेनी जोमसोम अस्थायी राजमार्गमा पर्ने थासाङ गाउपालिका बोक्सीखोलामा वर्षेनी बैशाख महिनामा रगत खाने मेला लाग्ने गर्छ ।यसवर्ष पनि सोही स्थानमा महोत्सवको रुपमा चौरी रगत खाने अवसर जुटाईएको छ ।धौलागिरी चौरी समुहका ८ घरधुरीले यसको व्यवस्था मिलाएका हुन् ।

समुहका अध्यक्ष सकेन्द्र गौचनका अनुसार चौरीको रगत खाने मेला १० दिन सम्म जारी रहने जनाए ।उनले रगत खाने मेला बैशाख १ गते गर्नुपर्ने यो वर्ष ५ दिन ढिला भएको जानकारी दिए ।चौरीको रगत खाने मेला बुधवार देखि सुरु भएको आयोजकले जानकारी दिएको छ ।

चौरीको रगत खाने मेलामा रगत खान आउने ग्राहकका लागि आवास र खानको पुरै व्यवस्था गरिएको अध्यक्ष गौचनले बताए ।‘हामीले सुलभ मुल्यमा ग्राहकका लागि होटलका लागि करिव १ दर्जन स्टल टहरा निर्माण गरेका छौ ।उहाँहरु जति दिन बस्नुहुन्छ ,कुनै समस्या झेल्नु पर्देन।’गौचनले भने ।

रगतको रगत निकाल्नु अघि संम्वन्धित पशुचिकित्सकले चौरीको स्वास्थ्य परिक्षण गरेपछि मात्र चौरीको रगत निकाल्ने गरिन्छ ।चिकित्सकको अनुमतिपछि मात्रै चौरीको रगत निकालेर रगत खाने ग्राहकलाई दिईन्छ ।चौरीको घाटीनेर नशामा सियो रोपेर शहज ढंगले रगत निकालिन्छ ।

सामान्यतया स्वस्थ्य मानिसले रक्तदान गरेझै स्वस्थ्य चौरीको रगत निकाल्दा चौरीको शारिरीक क्षमता बृद्धि हुने समुहका सदस्यहरु बताउछन् ।चौरीको रगतले स्वास्थ्यमा फाईदा पुगेको र रोग निको हुने सुनेर जिल्ला बाहिरका म्याग्दी,बाग्लुङ,पर्वत,कास्की,तनहु,स्याङ्जा ,बुटवल,भैरहवा र काठमान्डौं देखि उल्लेख्य सर्वसाधारण मुस्ताङ ओईरिने गरेका छन् ।उनीहरु समान्यतया ३ दिन देखि रगत मेला अवधिभर सम्म बसेर चौरीको रगत खाएर झर्ने गर्छन् ।

चौरीको रगत स्वास्थ्यका लागि उपयोगिसिद्ध भएकाले रगतखानेको संख्या वर्षेनी बृद्धि हुदै गएको धौलागिरी समुहका सदस्य प्रदिप गौचनको भनाई छ । उनले चौरीको रगतले मानिसको संम्पूर्ण पेट संम्वन्धि रोग निको हुनुको साथै शारिरीक स्फुर्ति समेत बढ्ने दावी गरे ।उनका अनुसार चौरीको रगत निकालेर बिक्री गर्दा गोलाप्रथाद्धारा ८ वटै समुहले दैनिक आलोपालो गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

रगत खान बोक्सीखोला आउने आगन्तुक ग्राहकका लागि परम्परागत तारा खेल लगायत अन्य विविधि कार्यक्रम आयोजना गरिने समुहका अर्का वरिष्ठ उपाध्यक्ष गोविन्द शेरचनको भनाई छ ।उनले दैनिक बिहान एक समय मात्र चौरीको रगत निकाल्ने गरिएको बताए ।शेरचनका अनुसार बुधवार मात्रै करिव २ सय बढी मानिसले चौरीको रगत खान सहभागि भएका छन् ।

यसवर्ष चौरीको रगतलाई प्रति गिलास २ सयमा बिक्रि गरिएको छ ।उपाध्यक्ष शेरचनले चौरीपालन व्यवसायबाट पर्याप्त फाईदा लिन नसकेको बताए ।उनका अनुसार चौरीपालन गरिने लेकमा विविधि समस्या पर्ने भएकाले दुधबाट बन्ने परिकार निर्माण गर्न नसकिएको उल्लेख गर्दे आगामी वर्ष दुधबाट बन्ने परिकार निर्माणमा जोड दिईने बताए ।‘चौरीको रगत निकाल्ने समयलाई महोत्सवमा परिमार्जन गर्न खोजेका छौ ,अर्को वर्ष सेकुङ तालमा मोटरबाटो जोडेर पूर्ण चौरी महोत्सव थालनी गछौं ।’ उनले भने ।

म्याग्दी घारा ६ खिवाङका कृष्णबहादुर गर्वुजाले चौरीको आलो रगत मानिसले खाँदा दम, मुटु, गानोगोला, मधुमेह, ग्याष्ट्रिक, सर्केको, मर्केको लगायत अन्य पेटका रोगीहरूलाई निको पार्ने अनुभव सुनाए । उनले चौरीको रगत पिउन आफु वर्षेनी मुस्ताङ आएको उल्लेख गर्दे रगत पिउदा स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिए ।

ग्यास्टिक रोगको समस्या झेल्दै आएकी रुपेन्देही भैरहवाकी हितमया पुनले चौरीको रगत पिउन दोश्रो पटक मुस्ताङ आएको बताईन् ।उनले पहिलो पटक चौरीको रगत पिउदा ग्यास्टिकको समस्या कम हुदै गएकाले पुनः मुस्ताङ आएको जनाईन् ।त्यस्तै अर्की म्याग्दी अन्नपूर्ण गाउँपालिका खिवाङकी राममाया गर्वुजाले ४ वर्षदेखि चौरीको रगत पिउदै आएको जनाईन् ।उनले पहिलो चोटी गोर्खाको लेकमा र दोश्रो पटक मुस्ताङको मार्चे लेकमा र त्यसपछि यहाँ आएर रगत पिएको खुलाईन् ।टाउँको दुख्ने समस्या झेल्दै आएकी उनले रगत पिउनाले टाउको समस्या हल हुदै गएको अनुभव बताईन् ।

चौरीको रगत मेलामा ठुलो चौरीबाट २० देखि २२ गिलास,मझौलाबाट १५ देखि १८ र सानो चौरीबाट १० देखि १२ गिलास सम्म रगत निकाल्ने गरिएको समुहका सदस्यहरुको भनाई छ । यसपटक समुहले चौरीको आलो रगत निकाल्दै गर्दाको तस्विर खिच्न सर्वसाधारणलाई मनाही गरेको छ । पछिल्लो समय जिल्लामा यातायात व्यवस्था शहज भएपछि चौरीको रगत पिउनेको संख्या अपेक्षाकृत बृद्धि भएको उनीहरुको भनाई छ । ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ