पोखरा । सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ। गण्डकी प्रदेश सरकारले चक्रपथको विषयमा सम्भाव्यता अध्ययन गर्न संघ सरकारसँग अनुमति मागेको छ।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार, प्रस्तावित चक्रपथमा चिनियाँ कम्पनी पावर चाइना सिपिङ पावर लाइन हाडवेयर कम्पनी लिमिटेडले चासो देखाएको छ। र, यसको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले अनुमति मागेको बस्नेतले जनाए। चक्रपथको विषयमा सोही चिनियाँ टोलीलाई नमुना समेत देखाइएको थियो। प्रस्तावित चक्रपथले पोखरा महानगरपालिका र तनहुँको शुक्लागण्डकीलाई समेत समेट्ने छ।
प्रारम्भिक अध्ययनको काम सकेर महानगरले एक सय २० किलोमिटर लामो चक्रपथ निर्माणको प्रस्ताव अघि सारेको हो। महानगरको प्रस्तावमा एक सय १२ किलोमिटर लामो सडक र आठ किलोमिटर सुरुङमार्ग निर्माण हुने उल्लेख छ। कास्कीको तल्लो गगनगौंडाबाट सुरु हुने रिङरोड तनहुँको गाछेपानी हुँदै सेतीनदीको पुलबाट पुनः कास्की प्रवेश गर्नेछ। त्यहाँबाट लामगादी चोक, माथील्लो पुँडीटार, भरतपोखरी, कृष्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी लगिनेछ। पुम्दीडाँडाबाट फेवातालसम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिने छ। भदौरे हुँदै हर्पनखोला, घाँटीछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिने छ।
घट्टेखोलाबाट मध्यपहाडी लोकमार्गमा जोडेर हेमजा, पुरुञ्चौर, अकला मन्दिर, ठूलीपोखरी, बाटुलेचौर, भलाम, माटेपानी, काहुँखोला पुर्याइनेछ। विजयपुर खोलाबाट १.७ किलोमिटर लामो सुरुङ खनेर मादी करिडोरमा जोडिनेछ। त्यहाँबाट माधवबेसी निस्केर भगवतीटारमा २.६ किलोमिटर सुरुङ बनाइनेछ। स्याङखुदी निकालेर सुन्दरीडाँडा, तालबेसी, रुपाताल, सातमुहानेबाट फेरि तल्लो गगनगौंडा पुगेर चक्रपथ टुंगिनेछ। यसले गण्डकी प्रदेशका प्रमुख तीन सडक नाका पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा–बाग्लुङ राजमार्गलाई समेटेको छ। प्रस्ताव अनुसार सडक चार र सुरुङमार्ग दुई लेनको हुनेछ।
चक्रपथभित्रको विभिन्न नदी तथा खोलामा ११ वटा पक्की मोटरेबल पुल र सातवटा कल्भर्ट बनाउनुपर्ने अध्ययनले देखाएको छ। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले चिनियाँ टोली इच्छुक देखिएकोले सम्भाव्यताको लागि संघसँग अनुमति मागिएको बताए। महानगरले तयार गरेको प्रारम्भिक प्रतिवेदनले चाहिँ रिङरोड तयार गर्न करिब १८ अर्ब रुपैयाँ लाग्ने देखाउँछ। एक सय १२ किलोमिटर सडकका लागि पाँच अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्ग बनाउन १२ अर्ब ३० करोड लाग्ने बताइएको छ। यसअघि २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिले पोखरा चक्रपथको अवधारणा अघि सारेको थियो। जिल्ला विकास समितिको डिजाइनमा ७६ किलोमिटर चक्रपथ परिकल्पना गरिएको थियो।
यसमा चारवटा ठूला पुल र एक सय ५४ वटा साना पुल बनाउने गरी इस्टिमेट तयार भएको थियो। तर यो डिजाइन कसैले पनि फुकाएनन् र धेरैपटक नयाँ डिजाइन बन्दै गए।२०६९ सालमा सहरी विकास तथा डिभिजन कार्यालयले आवधिक योजना बनाउँदा ७५ किलोमिटर लामो पोखरा चक्रपथको प्रस्ताव गरेको थियो। त्यसपछि सडक विभागले २०७० सालमा ८५ किलोमिटर लामो चक्रपथ बनाउने डिजाइन तयार गर्यो। फास्ट ट्र्याक र बाइपास रोड हुने गरेर २०७१ सालमा समितिले ७३.४ किलोमिटर चक्रपथ बनाउन सिफारिस गरेको थियो। यी सबै परिकल्पना पूरा नभएपछि महानगरले अर्को चक्रपथको परिकल्पना गरेको हो।
- विशन क्षेत्री/बिग खबर डटकमबाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा