स्वीडेनका सांसदः सानो कोठामा बस्छन्, पति-पत्नी, छोराछोरी एकरात राखे पनि पैसा तिर्नुपर्छ

स्वीडेनका सांसदः सानो कोठामा बस्छन्, पति-पत्नी, छोराछोरी एकरात राखे पनि पैसा तिर्नुपर्छ

politicos.parlamento

स्टकहोम । राजनीतिमा लाग्नु आर्थिक हिसाबले निक्कै फाइदाजनक हुनसक्छ । तर, स्वीडनमा त्यस्तो हुँदैन ।युरोपको यो देशमा जनप्रतिनिधिले आफ्नो काम गर्दा अपनाउने मितव्ययिता र सादा जीवन राजनीतिको एक परिचय हो ।

उदार भत्ता र थुप्रै सुविधाहरूको स्थानमा स्वीडनका सांसदहरूले करदाताको पैसा खर्च गर्दा कसिलो सीमाहरूको पालना गर्ने गर्छन् । ‘हामी सामान्य नागरिक हौँ,’ सोसल–डेमोक्रेटिक पार्टीका सांसद पार्न यानहोक्यान्सनले भने । ‘हाम्रो काम भनेको नागरिकहरू र उनीहरूले जिउने जीवनलाई प्रतिनिधित्व गर्नु भएकोले सांसदहरूले विशेष सुविधा लिनु ठिक हुँदैन ।’

यानहोक्यान्सनले भने, ‘हाम्रो सुविधा भनेको आफ्नो काम गर्न पाउनु र देशलाई दिशानिर्देश गर्न पाउनु हो ।’ स्वीडनका सांसदहरूले सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउँछन् । तर उनीहरूलाई सरकारले कुनै गाडी वा चालक प्रदान गर्दैन । स्वीडनको संसदसँग तीनवटा गाडी छन् जुन संसदका अध्यक्ष र तीन उपाध्यक्षले आधिकारिक कार्यक्रममा मात्रै उपभोग गर्न पाउँछन् ।

‘हामी यातायात सेवा दिन बसेको होइन,’ संसदका एक अधिकारीले बताइन् । ‘यहाँ भएका गाडी मानिसहरूलाई घर लान वा कार्यालय पुर्याउन होइन ।’  स्वीडनमा सरकारी गाडीको सुविधा पाउने एकमात्र नेता प्रधानमन्त्री    हुन् । स्वीडनका सांसदहरूले मासिक ६ हजार नौ सय अमेरिकी डलर तलब बुझ्छन् जुन अमेरिकी सांसदले पाउने तलबभन्दा आधा हो ।

स्वीडनका नागरिकहरूको औसत मासिक तलब दुई हजार आठ सय डलर छ । राजधानी स्टकहोमभन्दा बाहिरबाट निर्वाचित सांसदहरूले संसद चलेको दिन दैनिक भत्ता पाउँछन् । त्यो भत्ता दैनिक करिब १२ डलर हुन्छ जुन स्टकहोममा एक पटक खाना खान लगभग पुग्छ । सन् १९५७ सम्म त त्यहाँका सांसदहरूले तलब पनि पाउँदैन थिए ।

सांसदहरूलाई तलब दिने निर्णय कुनैपनि नागरिकले राजनीतिमा भाग लिनबाट वञ्चित हुन नपरोस् भनेर गरिएको थियो । स्वीडनका सांसदहरूले सस्तोमा आवास सुविधा भने पाउँछन् तर त्यो पनि स्टकहोम बाहिरका सांसदहरूले मात्रै । सांसदले पाउने आवास सुविधासम्पन्न छैन । पार्न यानहोक्यान्सन बस्ने ठाउँ ४६ स्क्वायर मिटरको मात्रै छ ।

कुनै कुनै सरकारी क्वार्टर त १६ स्क्वायर मिटरको एउटा कोठा मात्रै भएका हुन्छन् । ती सबै आवासमा लुगा धुने मेसिन वा भाँडा धुने मेसिन हुँदैनन् र एक जना सुत्ने खाटमात्रै हुन्छ ।  करदाताहरूको पैसाले सांसदले मात्रै सुविधा पाउँछन् । उनीहरूको पति वा पत्नी वा छोराछोरीले त्यो स्थानमा एक रात मात्रै बस्न पनि पैसा तिर्नुपर्छ ।

यदि कोही आफ्नो पति वा पत्नीसँग बस्न चाहेका आफूले पाउने स्थानको आधा भाडा सरकारलाई तिर्नुपर्छ ।सांसदले सरकारी आवासको सुविधा नलिएर बाहिरै भाडामा बस्न सक्छन् र त्यसका लागि मासिक अधिकतम ८२० डलरसम्म पाउँछन् । त्यो पैसाले स्टकहोमको मुख्य स्थानहरूमा भाडामा आवास पाउन र्गाहै हुन्छ ।

सन् १९९० सम्म त स्वीडनका सांसदहरू १५ स्क्वायर मिटरको कार्यालयमै सुत्नुपथ्र्यो । स्वीडनका सांसदहरूले सहयोगी वा सल्लाहकारहरू राख्न पाउँदैनन् । संसदले दलहरूलाई दिने पैसाबाट दलहरूले नै आफ्ना सांसदहरूका लागि सहयोगीहरूको व्यवस्था गर्नुपर्छ । -बीबीसी नेपाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ