विमान उडाउँदै गर्दा पाइलटलाई सुत्न दिनु कति सुरक्षित ?

विमान उडाउँदै गर्दा पाइलटलाई सुत्न दिनु कति सुरक्षित ?

how-safe-is-it-to-12_545035588

एजेन्सी । ककपिटमा विमान उडाइरहेका थकित पाइलट उडान उद्योगका लागि सबैभन्दा खतरापूर्ण मानिन्छन् । यस्तोमा केही विज्ञहरुले पाइलटलाई उडानको समयमा विमानभित्रै सुत्न दिने प्रावधान मिलाइनुपर्ने कुरा उठाएका छन् जसले सुरक्षा सम्बन्धी नयाँ विवाद खडा गरेको छ ।

यसअघि सन् २००८ मा थकित अवस्थामा रहेका पाइलट र को-पाइलट ककपिटमा विमान उडाउँदै गर्दा निदाएपछि उनीहरुले अमेरिकाको हवाइमा अवतरण गर्न छुटाएका थिए । उक्त घटनापछि दुवैको लाइसन्स रद्द गरियो भने उनीहरुले जागिरबाट सधैँका लागि अवकाश लिनुपर्ने परेको थियो । २०१७ मा पनि एउटा यस्तै घटनामा स्यानफ्रयानसिस्कोको अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउँदा थकित पाइलट अर्को विमानमाथि अवतरण गर्नबाट थोरैले बचेका थिए । चीनमा पनि एकजना पाइलट निदाइरहेको अवस्थामा विमान चलाएको फेला परेपछि कारबाहीमा परेका थिए ।

यसरी प्रमुख व्यवसायिक विमानका पाइलटहरुका लागि घण्टौँको यात्रापछि लगत्तै अर्को लामो उडान भर्नु स्वभाविक मानिन्छ । जस्तै फ्लोरिडामा बिहानको पाँच बजे उडान भरेर पाँच घण्टामा स्थानीय समय ८ बजे क्यालिफोर्निया पुगेपछि पाइलटहरुले छोटो ब्रेक लिएर फेरि अर्को ९० मिनेटको उडानको तयारी गर्नुपर्ने हुन्छ । यसरी दोस्रो विमानबाट ओर्लिदा एउटा पाइलटले ६ घण्टा भन्दा बढी समय ककपिटमा बिताइसकेको हुन्छ ।

स्थान अनुरुप समयमा हुने भिन्नताका कारण पनि उनीहरुको शारीरिक घडीमा समस्या आउँछ र त्यस ठाउँमा बिहानको आठ बजे पनि शरीरलाई दिउँसोको २ बज जस्तो अनुभूति हुन्छ । जसकाकारण पनि उनीहरुले झन थकान महसुस गर्ने गरेका छन् । यस्तोमा मौसमका कारण विमान उडानमा केही समय ढिलाइ हुँदा मात्र उनीहरुले बीचमा आराम गर्ने मौका पाउँछन् ।

त्यसैले सरकारी एजेन्सीहरुले पाइलटको थकान कम गर्न विभिन्न उपाय अपनाउने प्रयास गरिरहेका छन् । तर यात्रु लगायत सबैको धारणामा सम्भावित दुर्घटनाबाट बच्न थकित भए पनि पाइलटले उडान अवधिभर उच्च सतर्कता र सावधानी अपनाउनैपर्छ । त्यस्तै आठ घण्टाभन्दा लामो उडानमा मात्र अतिरिक्त पाइलट उपस्थित हुने गर्दछन् । यसरी पाइलटको थकानबारे भविष्यवाणी गर्नु वा यसको उपचार गर्नु सम्भव छैन । कुनै समय यसकारणले दुर्घटना भए पनि उनीहरु थकित थिए भन्ने कमै प्रमाण भेटिन्छ ।

यसबीच २०१४ मा अमेरिकाको फेडेरल एभिएसन विभाग, एफएएले ६० वर्षमा पहिलोपटक पाइलटको कार्यभार सिमित गर्ने नयाँ नियम ल्याएको थियो । प्रतिदिनको उडान समयका आधारमा एक पाइलटलाई सिमित उडानको जिम्मेवारी मात्र दिइने तय भएको थियो । त्यस्तै पाइलटले आफ्नो थकानबारे खबर गर्दा उनीहरुविरुद्ध कुनै कारबाही नहुने नियम पनि रहेको थियो । तर यी उपायले सोचेजस्तो काम गरेनन् ।

यस्तोमा उडानकाबीच ककपिटमै पाइलटलाई छोटो समय सुत्न वा नियन्त्रित आराम गर्न दिइनुपर्ने कुरा उठाइएको हो । तर यसले विमानको सुरक्षाबारे विवाद खडा गरिरहेको छ भने यता विश्लेषकहरुले चाहिँ यो तरिका वास्तवमै सुरक्षित साबित हुन सक्ने दाबी गरिरहेका छन् ।

नयाँ वैज्ञानिक अनुसन्धानपछि पनि ककपिटमै सुत्ने तरिका पाइलटहरुको सर्तकतामा सुधार ल्याउन अधिक प्रभावकारी हुने देखिएको हो । यो उपाय धेरै लामा अन्तर्राष्ट्रिय उडानमा पहिले नै लागु भइसकेको छ । यसमा विमानका अधिकारीको प्रयोगका लागि छुट्टै खाटको व्यवस्था गरिएको हुन्छ । जुन साना विमानमा भने कठिन हुनसक्छ । क्यानडा र अष्ट्रेलियालगायत केही देशले पाइलटलाई उडानकाबीच निदाउने यस किसिमको अनुमति दिएका हुन् ।

तर पाइलटले को-पाइलट र उडान सहायकलाई खबर गर्नुपर्ने हुन्छ भने ४० मिनेट भन्दा लामो समय सुत्न पाउँदैनन् । त्यस्तै अवतरण गर्नुभन्दा आधा घण्टा पहिले उनीहरु उठिसक्नुपर्ने हुन्छ । यसरी ब्युँझिसकेपछिको पहिलो १५ मिनेट उनीहरुलाई फ्रेस हुन दिइएको हुन्छ । जसमा तिनलाई आपत्कालीन अवस्थामा बाहेक विमान उडाउन दिइँदैन । यसरी यो प्रक्रियालाई ‘कन्ट्रोल्ड रेस्ट इन पोजिसन’ (सीआरआइपी), क्रिप अर्थात ‘नियन्त्रित
स्थितिमा आराम गर्नु’ भनिन्छ ।

यस विषयमा यात्रुलगायत सामान्य मानिसहरुको धारणा बुझ्न विभिन्न सर्वेक्षण सञ्चालन गरिएको थियो । यस्तोमा सामान्य अवस्थामा मानिसहरु उडानका समयमा पाइलट सुत्ने विमानमा चढ्न नचाहेको पाइएको हो । जुन स्वभाविक पनि हो । यसमा पनि विशेषगरी महिलाहरु पुरुषको तुलनामा यो प्रक्रियाविरुद्ध रहेको बताइएको छ ।

यसरी डर र राम्रो आराम पाएका पाइलटले नै धेरै सुरक्षित तरिकाले उडान भर्न सक्छन् भन्ने नबुझेका कारण नै उनीहरु यस नियन्त्रित आराम प्रक्रियाविरुद्ध रहेको विश्लेषकहरुको भनाइ छ । यसैले सबैमा यसको स्पष्ट जानकारी भएमा मात्र यात्रुहरु क्रिप प्रक्रियाको अनुमति दिइएको विमानमा चढ्न नहिचकिचाउने बताइएको छ ।

यसबारे पाइलटहरुलाई प्रश्न गर्दा उनीहरुले भने उत्साहपूर्ण प्रतिक्रिया दिएका हुन् । सर्वेक्षण गरिएकामध्ये ७० प्रतिशत यसको समर्थनमा रहेका थिए । उडानको बेला सावधानी अपनाउनुपर्ने कुराबारे उनीहरु अझ राम्ररी अवगत् भएकाले नै सबैले अवतरण गर्नुभन्दा तीस मिनेट अगाडि उठ्न जरुरी रहेकामा सहमति जनाएका हुन् । यसरी क्रिप प्रक्रियामा अत्यन्तै थोरै समस्या मात्र फेला पारिएको छ र अधिक अवस्थामा यो उपयोगी साबित हुने बताइएको हो ।

‘एयर क्यानडा’ र ‘क्वान्टास’ ले यो प्रक्रिया सफलतापूर्वक अपनाइरहेका छन् । यस्तोमा हालसम्म यसका कुनै जोखिम देखा नपरेको अनि कतैबाट गुनासो पनि नआएको हुँदा क्रिप प्रक्रियालाई विश्वव्यापी मान्यता दिन सकिने बताइएको छ । वैज्ञानिक अनुसन्धानले पनि क्रिपका धेरै फाइदाबारे स्पष्ट गराइसकेको हुनाले पाइलटहरु यसको समर्थनमा छन् । पाइलटको थकान उडान उद्योगका लागि सदैव खतरा रहिरहने भएकाले विमानलाई सुरक्षितसाथ आफ्नो गन्तव्य सम्म पुर्याउनकै लागि यो प्रक्रिया आवश्यक भएको बताइएको हो । सिएनएन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ