अब एसईई खारेज गर्ने प्रस्ताव, अन्तिम परीक्षा कक्षा १२ को

शिक्षासम्बन्धी विधेयक

अब एसईई खारेज गर्ने प्रस्ताव, अन्तिम परीक्षा कक्षा १२ को

निजी विद्यालय गुठी वा कम्पनीमा रहन स्वेच्छिक

Education Ministry

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी विधेयक तयार पारेको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा एसईईलाई राखिएको छैन ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार एसईई हटाइएको छ । अब विद्यालय तहको अन्तिम परीक्षा १२ को हुनेछ । अब कक्षा १० को परीक्षा विद्यालयले सञ्चालन गर्ने र कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

बिसं. १९९० सालमा नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । ८३ वर्षसम्म रहेको एसएलसीलाई २०७३ सालमा सरकारले शिक्षा ऐनको आठौं संशोधन गरेर सामान्य संशोधन गरेको थियो ।

विद्यालयको तहगत संरचनालाई परिवर्तन गरेर प्रारम्भिक बालकक्षादेखि ८ लाई आधारभूत तह र ९ देखि १२ लाई माध्यमिक तहको रुपमा निर्धारण गरेको थियो । त्यसपश्चात कक्षा १० को परीक्षालाई माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षालाई विद्यालय शिक्षाको अन्तिम परीक्षा बनाएको थियो ।

निजी विद्यालय गुठी वा कम्पनीमा रहन स्वेच्छिक

निजी विद्यालयलाई गुठीमा लैजाने यसअघिको प्रस्तावमा परिमार्जन गरिएको छ । गुठीमा जान चाहनेलाई जान दिने र कम्पनीमा रहनेलाई कम्पनीमै रहन पाउने प्रावधान विधेयकमा राखिएको छ ।  निजी विद्यालयले विरोध र आन्दोलनको घोषणा गरेपछि सरकार पछि हटेको हो । उक्त प्रावधानलाई सच्याएर मन्त्रिपरिषद्ले १६ भदौमा पुनः स्वीकृत गरेको हो । त्यसैगरी, विधेयकमा शिक्षकको विशिष्ट श्रेणी राख्ने प्रस्ताव गरिएको छ ।

शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ब्युँताउने प्रस्ताव गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकमध्येबाट हुने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विधेयक भोलि संसदमा दर्ता गर्ने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका लागि आज संसदमा पठाएको थियो तर कागजात र छपाइ नभएका कारण दर्ता हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ