पोखरामा शुक्रबारबाट प्रथम पिसिएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ सुरू भएको छ । गण्डकी प्रदेश टेनिस संघको आयोजना एवं पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम)को मुख्य प्रायोजनामा सो प्रतियोगिता सुरू भएको हो ।

पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकार सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री रेखा गुरूङले सो प्रतियोगिताको उद्घाटन गरेकी छन् । चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरूङले ग्रासरुट बाटै खेलाडी उत्पादन हुनु सकारात्मक रहेको बताउँदै गण्डकी प्रदेश टेनिस संघले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको प्रशंसा समेत गरिन् । उनले गण्डकी टेनिस खेलको विकासका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत् जनाइन् ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले संघले आफ्नो स्थापनाको समय देखिनै ग्रासरुट टेनिसका लागि ‘खेल्छ गण्डकी’ कार्यक्रमका माध्यमबाट विपन्न वर्गका बालबालिकाबाट अभियान सुरू गर्दै आएको बताउँदै उनीहरुको क्षमता निर्खान प्रतियोगिताको सुरूवात गरेको बताए । उनले टेनिस खेलको माध्यमबाट खेलाडी उत्पादनसँगै उनीहरुलाई स्वरोजगारमुखी बनाउने अभियानलाई समेत सँगै अघि बढाएको बताए ।
पिसिएम कलेजका अध्यक्ष समेत् रहेका कायस्थको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघका सल्लाहकार गोपी बहादुर भट्टराई, संघका उपाध्यक्ष लोक बहादुर गुरूङ, महासचिब नविन चालिसेलगायतले आफ्ना भनाई राख्दै नेपाली ग्रासरुट टेनिस विकासमा प्रतियोगिता महत्वपूर्ण यात्रा हुने उल्लेख गरेका थिए ।
उद्घाटन कार्यक्रममा पिसिएम कलेजकी प्राचार्य लिना श्रेष्ठ नेगी, पोखरा १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, राष्ट्रिय वाणिज्य बैंकका बोर्ड सदस्य हुम आले, नेपाल उद्योग बाणिज्य संघ गण्डकीका उपाध्यक्ष सूर्य भुजेललागयतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गण्डकीप्रदेशसहित विभिन्न जिल्लाका ६० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक समेत रहेका लोक बहादुर गुरूङले जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत यू–८ गर्ल्स/ब्वाइज सिंगल्स, यू–९ गर्ल्स/ब्वाइज सिंगल्स, यू–१० गर्ल्स/ब्वाइज सिंगल्स, यू–१२ गर्ल्स/ब्वाइज सिंगल्स, यू–१४ गर्ल्स/ब्वाइज सिंगल्स तथा डबल्स, यू–१६ गर्ल्स/ब्वाइज सिंगल्स तथा डबल्स, यू–१८ गर्ल्स/ब्वाइज सिंगल्स तथा डबल्स साथै, यू–१४, यू–१६ तथा यू–१८ उमेर समूहका ब्वाइज र गर्ल्सतर्फ ओपन सिंगल्स तथा डबल्सका प्रतिस्पर्धा हुनेछन् ।
विजेता खेलाडीहरुले गिफ्ट ह्याम्परसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् ।
प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो दिन विभिन्न उमेर समूहमा २० खेल सम्पन्न भएका छन् । पहिलो दिनको खेलमा अभिषेक बयालकोटी, सन्दीप बीके, सुरेन्द्र बीके, आर्याश राज पौडेल, अनमोल सार्की, मार्कब पोखरेल, इभान भट्टराई, सौरभ भट्टचन, सहंश बस्नेतलगायत खेलाडीले जित हात पारेका छन् ।
१४ वर्षमुनिको खेलमा अभिषेकले साबिक पोखरेललाई ६–२, ६–० ले पराजित गरे । त्यस्तै, आर्याश राज पौडेलले लोप्सन लम्साललाई ६–०, ६–० ले हराए । अनमोल सार्कीले अभि माझीलाई ५–७, ६–०, ६–४ को रोमाञ्चक सेटमा पराजित गरे । सोही उमेर समूहमा सहंश बस्नेतले इभान भट्टराईलाई ६–३, ६–१ ले हराए ।
१२ वर्षमुनिको खेलमा मार्कब पोखरेलले आरोग्य राईलाई ६–०, ६–१ ले पराजित गरे भने इभान भट्टराईले जोनिल साईलाई ६–२, ६–० ले हराए । सौरभ भट्टचनले अरिश गुरुङलाई ६–१, ६–२ ले तथा सहंश बस्नेतले अधित्य पुन मगरलाई ६–२, ६–१ ले पराजित गरे। अर्को खेलमा शिशिर कोइरालाले जोनिल साईलाई ६–३, ६–२ ले हराए भने इभान भट्टराईले आरोग्य राईलाई ६–०, ६–१ ले पराजित गरे ।
१६ वर्षमुनिको प्रतिस्पर्धामा सुरेन्द्र बीकेले संगम आले मगरलाई ६–०, ६–० ले हराउँदा अभिषेक बयालकोटीले दर्शन अधिकारीलाई ६–३, ६–२ ले पराजित गरे । आर्याश राज पौडेलले अनमोल सार्कीलाई ६–०, ६–१ ले हराए ।
१८ वर्षमुनिको खेलमा सन्दीप बीकेले श्रीजन बीकेविरुद्ध ६–२, ४–१ को अग्रता लिएको अवस्थामा श्रीजनले रिटायर्ड हर्टहुँदै खेल छाडेपछि सन्दीप विजयी भए । अभिषेक बीकेले स्पन्दन उदासविरुद्ध वाकओभरमार्फत जित हात पारे भने शाश्वत बज्राचार्यले संगम आले मगरलाई ६–०, ६–० ले तथा सुरेन्द्र बीकेले दर्शन अधिकारीलाई ६–०, ६–१ ले पराजित गरे ।
८ वर्षमुनिको खेलमा राम अल्बर्टो एलियाले रिजन रानालाई ५–१०, १०–८, १०–५ ले पराजित गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा