लमजुङका किसानलाई अनुदानमा आलुको बीउ वितरण

लमजुङका किसानलाई अनुदानमा आलुको बीउ वितरण

aaluko biu

श्यामशितल परियार, लमजुङ । सुन्दरबजार नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । शाखाले नगरपालिकाभित्र रहेका ११ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको हो ।

उर्वर खेतबारी बाँझै राख्ने, आयतित आलु किनेर खाने प्रवृत्ति बढ्दै गएकाले किसानलाई आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको सुन्दरबजार नगरपालिका कृषि शाखाका प्रमुख रामचन्द्र सेढाइँले जानकारी दिए ।

‘आयतित आलु किनेर खाने बढे । खेतबारी बाँझै राख्ने प्रवृत्ति बढ्यो । जग्गाको पनि उपयोग हुने, आफैँले उत्पादन गर्न सके बाहिरको आलु किनेर खाने पैसा समेत जोगिने । त्यसैले उनीहरुलाई आत्मनिर्भर बनाउनकै लागि हामीले किसानलाई आलुको बीउ वितरण गरेका हौँ,’ उनले थपे ।

उनका अनुसार किसानलाई आलुको बीउमा ५० प्रतिशत अनुदान दिईएको छ । ढुवानीमा सत्प्रतिशत अनुदान दिईएको छ । शाखाले आलुको बीउ खरिद र वितरणको जिम्मा स्थानीय ३ कृषि सहकारीले पाएका थिए ।

अन्नपूर्ण कृषि सहकारीले वडा सुन्दरबजार नगरपालिकाको नं ७, ८, ९, साना किसान कृषि सहकारीले वडा नं १, २, ५, ६ र पाउँदी सेरोफेरो कृषि सहकारीले वडा नं ३, ४, १० र ११ वितरण गर्ने जिम्मा लिएका थिए । उनीहरुले सम्वन्धित वडाको समन्वयमा स्थानीय किसानलाई आलुको बीउ वितरण गरिरहेका छन् ।

किसानलाई एमएस–४२ र जनकदेव जातको आलुको बीउ वितरण गरिएको हो । प्रतिकेजी ४६ रुपैयाँ पर्ने एमएस–४२ जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २३ रुपैयाँमा पाएका छन् । प्रतिकेजी ५६ रुपैयाँ पर्ने जनकदेव जातको आलुको बीउ किसानले अनुदानमा प्रतिकेजी २८ रुपैयाँ तिरेका छन् ।

‘नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नै आलुको बीउ वितरण गरिएको हो । यो कार्यक्रम कृषि शाखाको ५ लाख र किसानको ५ लाख गरी १० लाख बराबरको हो । ढुवानीमा हामीले पुरै अनुदान दिएका छौँ,’ रामचन्द्रले जानकारी दिए ।

कृषि शाखाका प्रत्येक वडाले २२ क्विन्टलका दरले आलुको बीउ पाएका छन् । अनुदानमा उन्नत जातको आलुको बीउ घर आँगनमै पाउँदा किसानहरु खुशी भएको सुन्दरबजार नगरपालिका वडा नं ९ का वडासदस्य अमोल खनालले बताए ।

‘राम्रो जातको आलुको बीउ सस्तोमै पाईयो । हामी खुशी छौँ,’ खुशी हुँदै स्थानीय किसान बुद्कुमारी गुरुङले भनिन ।आलुको बीउ वितरणका साथै किसानलाई आलु खेतीसम्बन्धी जानकारी गराईएको समेत सुन्दरबजार कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ