भुकम्पको ४ बर्ष : गोरखामा ८२ प्रतिशत पीडितले घर बनाए

भुकम्पको ४ बर्ष : गोरखामा ८२ प्रतिशत पीडितले घर बनाए

nepal

file photo

अश्विन दानी, पोखरा । २०७२ वैशाख १२ गतेको विनाशकारी भुकम्प भन्नेबित्तिकै गोरखा जोडिन्छ । कारण, त्यसदिन बिहान ११ बजेर ५६ मिनेटमा यसै जिल्लाको बारपाक केन्द्र बिन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गयो । गोरखामा मात्रै ४ सय ७२ जनाको ज्यान गयो भने हजारौँ घाइते भए । भुकम्पकै कारण यस जिल्लामा ७१ हजार निजी घर भत्कियो ।

आजबाट बिनाशकारी गोरखा भुकम्पको चार बर्ष पूरा भएको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत पाँच बर्षभित्रै निजी आवास पुनर्निर्माण सक्ने योजना बनायो । घर पूर्ण रुपमा क्षति भएका प्रत्येक भुकम्प पीडितलाई तीन किस्ता गरी तीन लाख ५० हजार रुपैँया राहत रकम उपलब्ध गराउने निर्णय ग¥यो । त्यसयता भुकम्प पीडितहरुले धमाधम घर बनाउन सुरु गरे ।

भुकम्पको केन्द्र बिन्दु गोरखाको पुनर्निर्माणलाई चार बर्ष फर्केर हेर्दा अन्य जिल्लाको तुलनामा पुनिर्निर्माणको काम तीब्र भएपनि कतिपय पीडितहरु अझै टहरोमुनी बस्न बाध्य छन् । गोरखाको लाप्राक र बगुवामा एकिकृत बस्ती समयमै निर्माण सम्पन्न नहुँदा करिब ७ सय ११ परिवार टहरामै जीवन गुजारा गरिरहेका छन् भने सयौं बस्ती पहिरोको उच्च जोखिममा छन् ।

७१ हजार ५ लाभग्राही रहेको गोरखामा हालसम्म ८२ प्रतिशतले घर बनाईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए । उनका अनुसार गोरखामा हालसम्म पहिलो किस्ता ९२ प्रतिशत, दोस्रो किस्ता ८२ प्रतिशत र तेस्रो किस्ता ७२ प्रतिशत भुकम्प पीडितले बुझिसकेका छन् ।

अन्य जिल्लाको तुलनामा गोरखाको पुनर्निर्माणको काम छिटो भएको उनले बताए । त्यस्तै ५ हजार ३ सय १९ प्रवलीकरण लाभग्राहीको सूचीमा हालसम्म १ हजार ३ सय ७९ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

२३ जना लाभग्राहीले सरकारलाई पैसा फिर्ता गरे

गोरखामा पहिलो किस्ता बनाएर पनि घर नबनाउने २३ जना भुकम्प पीडितले सरकारबाट पाएको राहत रकम फिर्ता गरेका छन् । भुकम्पको लाभग्राही सूचिमा परेपनि घर बनाउन आबश्यक नभएका वा अन्य ठाउँमा घर भएका २३ जना लाभग्राहीले राहत रकम फिर्ता गरेका हुन् ।

‘अहिलेसम्म गोरखामा २३ जनाले राहत रकम फिर्ता गरिसकेका छन्’ आचार्यले भने, ‘अन्यत्र घर भएका, घर पुननिर्माण गर्न नपर्ने ब्यक्तिहरुले राहत रकम फिर्ता गरिसके । अरुपनि रकम फिर्ता गर्नका लागि सम्पर्कमा आईराख्या छन् ।’

हतारमा एक-दुई कोठे घर  : पीडितलाई ‘निल्नु न ओकल्नु’

सरकारले दिएकोे नक्सा अनुसार लाभग्राहीहरुले एक-दुई  कोठे घर बनाउने पीडितहरुलाई पनि ३ लाख ५० हजार रुपैँया नै राहत रकम दिने घोषणा गर्याे । त्रिपाल र अस्थाई टहरो मुनि घाम पानी खपेर बसेका पीडितहरु टहरोको बसाईबाट उन्मुक्ति पाउनकै लागि हतारमा एक-दुई कोठे घर बनाए । धमाधम राहत रकम बुझे ।

‘गोरखामा मात्रै नभएर प्राय जिल्लाका अधिकांस भुकम्प पीडितहरुले राहत रकम लिँदै एक-दुई कोठे घर बनाएका छन्’ आचार्यले भने, ‘पहिला हतारमा त्यसरी घर बनाएर बसे । त्यो घरमा पाँच जनाको परिवारलाई पनि राम्ररी बस्न, खान, सामान राख्न साँघुरो भएर समस्या छ । मलाई लाग्छ अब उनीहरुले बस्नका लागि अन्य बिकल्प खोज्नुपर्ने अवस्था आएको छ ।’ पीडितहरुले बनाएका त्यही घर नै उनीहरुलाई ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ