लमजुङ सुन्दरबजारका किसानलाई हाते ट्रयाक्टर र भकारो सुधारका लागि अनुदान

लमजुङ सुन्दरबजारका किसानलाई हाते ट्रयाक्टर र भकारो सुधारका लागि अनुदान

hate-tractor

श्यामशितल परियार, लमजुङ । लमजुङ सुन्दरबजार नगरपालिकाभित्रका ११ जना कृषकले अनुदानमा हाते ट्रयाक्टर पाउने भएका छन् । उनीहरुलाई सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाले अनुदानमा हाते ट्रयाक्टर प्रदान गर्ने भएको हो ।

सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखाका प्रमुख रामचन्द्र सेढाइँका अनुसार शाखाले २०७५/०७६ मा छनौटमा परेका नगरपालिका भित्रका ११ जना कृषकलाई अनुदानमा हाते ट्रयाक्टर प्रदान गर्न लागिएको हो ।

उनका अनुसार शाखामा हाते ट्रयाक्टरका लागि १९ जना कृषकले निवेदन दिएका थिए । तीमध्ये ११ जना कृषक छनौट भएका हुन् । छनौटमा परेका किसानले बढिमा ४० हजार रुपैयाँ अनुदान पाउनेछन् ।

हाते ट्रयाक्टर पाएसंगै किसानलाई खनजोतका लागि सहज हुने शाखाले जनाएको छ ।

‘पछिल्लो समय गाउँघरमा काम गर्ने मान्छेका साथै खनजोतका लागि गोरु पनि पाईन छाडेको छ । हाते ट्रयाक्टर पाएसंगै किसानलाई कृषि कर्म अघि बढाउन सहज हुनेछ,’ कृषि विकास शाखाका प्रमुख सेढाइँले भने, ‘किसानको समय र पैसाको बचत हुनेछ ।’

यसैगरी, भकारो सुधारका लागि नगरपालिका भित्रका १० जना कृषकलाई अनुदान प्रदान गरिने पनि शाखाले जनाएको छ । भकारो सुधार अनुदानका लागि १२ जना कृषकले निवेदन दिएका थिए । तिमध्ये १० जना कृषक मात्र छनौटमा परेका छन् ।

छनौटमा परेका किसानले प्रतिव्यक्ति ५ हजार रुपैयाँ अनुदान पाउनेछन् । हाते ट्रयाक्टर र भकारो सुधार अनुदान छनौटमा परेका कृषकलाई जानकारी गराईसकिएको र अनुदान पाउने कृषकले यही फागुन मसान्तभित्र अनुदान सम्झौता गर्न पनि शाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ