कास्कीमा ट्राफिकबाट मात्रै साढे ४ करोड राजस्व संकलन, ७६ वटा दुई पांग्रे सवारी हराए

कास्कीमा ट्राफिकबाट मात्रै साढे ४ करोड राजस्व संकलन, ७६ वटा दुई पांग्रे सवारी हराए

traffic

प्रतिकात्मक तस्विर

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७५/७६ मा राजस्व संकलन वृद्धि भएको जनाएको छ । ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ४ करोड ४७ लाख ३७ हजार ५ सय राजस्व संकलन गरेको छ ।

नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारीबाट राजस्व संकलन गरिएको हो । आर्थिक वर्ष २०७४/७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो ।

ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने सवारीलाई कारबाही गरी राजस्व संकलन गरेको हो ।

दुई पांग्रे सवारी चोरको निसानामा

कास्कीमा दुई पांग्रे सवारी चोरीको घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७४/७५ को तुलनामा गएको वर्ष चोरीका घट्ना बढेका छन् । प्रहरीको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७५/७६ मा पोखराका विभिन्न स्थानबाट ७६ वटा दुई पांग्रे सवारी हराएका थिए । त्यसमध्ये सातवटा मात्र भेटिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए । आर्थिक वर्ष २०७४/७५ मा ५१ वटा दुई पांग्रे सवारी हराएका थिए । त्यसमध्ये चार वटा मात्र भेटिएका थिए ।

दुई पांग्रे सवारी हराएपछि भेटिन मुस्किल हुने ट्राफिक प्रहरी बताउँछन् । चोरिएपछि सवारीहरु विभिन्न ग्रामीण क्षेत्र र तराईतर्फ पुर्‍याइने हुँदा पुन: भेटिने सम्भावना न्यून हुन्छ ।

३ हजार सवारी साधनमा ह्वील तथा चेन लक

पाेखरामा सवारी पार्किङकाे समस्या पनि बढ्दै गएको छ । पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कार्यभार समालेको २ वर्ष बिते पनि पार्किङलाई व्यवस्थित गर्नेतर्फ आवश्यक पहल हुन सकेको छैन ।

सडकमै यत्रतत्र सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडक किनारमा जथाभावी पार्किङ गर्नेको संख्या बढ्दो छ । ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा झन्डै ३ हजार सवारी साधनमा ह्वील तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कार्कीका अनुसार १ वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय ६५ सवारीसाधनमा ह्वील तथा चेन लक गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ