Gandak News
Our News Your Views
Url

आमालाई परदेशिएका छाेराकाे चिठी : छिट्टै फर्केर घरकाे छानाे टिनले टल्काउँछु

श्यामशितल परियार : पाउ परेँ आमा । सात समुद्रपारिबाट यो परदेशी छोराको न्यानो माया अनि मिठो सम्झना, मेरी आमा तिमीलाई ।

Loading...

साँच्चै आमा यो तातो मरुभूमीमा तिम्रो, गाउँघरको अनि मेलापात, उकाली–ओराली, भञ्ज्याङ, चौतारी, वनपाखा, खोलानाला, ‘जिउँदाका जन्ती, मर्दाका मलामी’ साथीभाइको साह्रै न्यास्रो लाग्छ । याद आउँछ । आँखा रसाउँछन्, मेरी आमा ।

पात झरेर उजाड बनेका वनपाखा पनि हरियाली भएका होलान् ।  वनपाखामा न्याउली, कोइलीले गीत गाउँदै होलान् । दिउँसो केही गर्मी र साँझ–बिहान शिरशिरे बतास चल्छ हाेला । अनि बारीमा मकै, धाप खेतमा चैते धान गोड्ने बेला पनि भयो होला । आज त आमाको मुख हेर्ने दिन । आमा, तर म आज तिम्रो सामु छैन ।

आमा, आज तिम्राे अलि बढि नै याद आयाे । आजका दिनसम्म कयौँ साल फेरिए । भित्तामा कयौँ भित्तोपात्रो पनि फेरिए । तर तिम्रो दुःख कहिल्यै फेरिएन ।मलाई हुर्काउन साह्रै दुःख झेल्यौ आमा तिमीले ! सायद त्यसको कुनै लेखाजोखा छैन ।

आफू भोको बसेर यो पेट भर्थ्याै । मलाई दुख्दा तिमी दुख्थ्यौ । म रुँदा तिमी रुन्थ्यौ । मलाई आँखा अगाडि देख्दा तिमी सारा दुःख पीडा भुल्थ्यौ नि है आमा ! म सानै छँदा बाबाले हामीलाई सदाका लागि छोडी यस धर्तीबाट बिदा भएसँगै तिम्लाई पर्नुसम्मको पिर पर्यो । तर पनि हार खाइनौँ । अनेक दुःख झेलो गरी यो छोरालाई हुर्कायौ, पढायौँ, बढायौ ।

तिमी भन्ने गर्थ्याै नि आमा, ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । सबैको पालो आउँछ यो दुनियाँमा । आखिर सुख दुःख दुवै जिन्दगीका पाटो न हुन् ।’ कहिल्यै हार खाइनौँ । आधा पेट खाएर बस्यौ । खाली खुट्टै उकाली–ओराली गर्यौ । च्यातिएकै चोली र पछ्यौरीले कयौँ साल गुजार्यौ ।

दुःख झेल्दाझेल्दै गाला चाउरी परिसके । तर त्यो मुहारमा आजसम्म यो छोराले खुशी छरेर उज्यालो पार्न सकेको छैन । तिमीले माया, ममताले हुर्कायौ । कयौँ दुःख कष्ट सह्याै । साँच्चै आमा तिमी देवी हौ ।

Loading...

आज तिम्रै मुहारमा खुशी छर्न, तिम्रो पाउमा चप्पल, अनि चोली फेर्नका लागि यो खाडीमा रगत पसिना बगाउँदै छु आमा । यो तातो मरुभूमिमा बगाउँदै गरेको रगत पसिनाको कमाइले तिम्रो चोली फेर्नुछ । त्यो हाम्रो खरको सानो झुपडीको छानो टिनले टल्काउनेछु । यो परदेशमा आउँदा लागेको साहुको ऋण तिर्नुछ ।

आजको दिनसम्म सुखको श्वास फेर्न नपाएकी मेरी आमा, तिमीलाई धेरै खुशी दिनुछ । त्यही आशामा तिमीबाट आज म धेरै टाढा छु । तर बुढेसकालमा यो छोराको साथबाट टाढा हुनुपर्दा तिमीलाई कत्ति पीडा भएको होला, त्याे म बुझ्छु ।

पैसा कमाउनका लागि परदेशिने बेला तिमीले टीका लगाएर बिदाइ गर्दैगर्दा भनेकी थ्यौ, ‘बाबु, म त डुब्ने बेलाको घाम न हो । छिट्टै घर फर्की आउनु है !’ यसो भन्दै गर्दा तिम्रो आँखामा साउने भेल बगिसकेका थिएँ । फाटेको पछ्यौरीले आँखाको आँशु पुछ्दै भनेकी थ्यौ, ‘आफ्नो ख्याल राख् है बाबु । आफ्नो देश, आमाको मायालाई जहाँ भएपनि कैल्यै नभुल्नु है !’

यो निधारले तिम्रो पाउ छाेएर आँखाभरि आँसु बनाउँदै तिमीलाई घरमा एक्लै छोडी परदेश आएकाे पनि वर्षौ हुन लागिसकेछ आमा । आफ्नो देशबाट टाढा छु । तिम्रो काखबाट धेरै टाढा छु । तर आमा तिमीले भनेझैँ तिम्रो, मेरो देशको मायालाई भुलेको छैन । भुल्न सक्ने छैन । हरपल सम्झिरहेको हुन्छु ।

आफ्नै देशमा सीप, क्षमताअनुसाको रोजगारी हुने भए कयौँ छोराछोरी परदेशमा आउनु पर्दैन थ्यो होला, रोजीरोटीको लागि । परदेशिएका छोराछोरीको यादमा तिमीजस्तै कयौँ आमा तड्पुन पर्दैनथ्यो होला । रुनु पर्दैनथ्यो होला आमा ।

आमा तिम्रो आशीर्वादले परदेशमा मलाई राम्रै छ । अबको दुई वर्षमा म तिम्रो सामु उभिनेछु । घरको छानो टिनले टल्काउनेछु । साहुको ऋण तिर्नेछु । बिरामी मेरी आमालाई राम्रो अस्पतालमा उपचार गराउनेछु । तिम्रो चोली, पछ्यौरी फेर्नेछु । तिम्रो मुहारमा खुशी छर्नेछु आमा ।

धैर्य गर मेरी आमा । तिम्रो र देशको मायालाई मुटुभरि राखी छिट्टै आफ्नै गाउँघर फिर्ती हुनेछु । घर आएपछि बाँझा जमिनमा श्रम–पसिना बगाउनेछु । कुटो–कोदालो गरी, खोले सिस्नु जे छ, त्यही खाइ देशमै बस्नेछु । समाजको सेवा गर्नेछु ।

मेरी आमा, संसारमा हरेक कुरा परिवर्तनशील छन् । सकारात्मक परिवर्तन हुनु आवश्यक पनि छ । तर आमा तिमीलाई, देशको माटोलाई माया गर्ने यो मेरो मन कहिल्यै नफेरियोस् । नबदलियोस् ।

मातृभूमि र जन्म दिने जन्मदातालाई गर्ने माया, गर्ने सम्मानमा कहिल्यै कमी नआओस् । जन्मभूमि र जन्मदातालाई सदा मन मुटुमा राखी बाँच्न पाइयोस् ।

आमा, अब म छिट्टै घर फर्की आउनेछु । बिन्ती छ मेरी आमा, मेरो यादमा आँशु नबगाउनु है !

प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?