१७५ जना नेपाली देश फर्के, ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, ४ जना फर्कन मानेनन्

१७५ जना नेपाली देश फर्के, ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, ४ जना फर्कन मानेनन्

China coro

कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ । एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् ।

चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

Pic: RSS

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने ४ जना नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएका हुन् भने बाँकी दुई भने एकै परिवारका रहेकाले रोकिएका हुन् ।

राजदूतावासस्थित स्रोतका अनुसार वुहानमा बसोबास गर्ने ३ जनासदस्य रहेको एक परिवारको बुवालाई ज्वरो देखिएपछि आमा र बच्चा पनि उतै बसेका हुन् भने बाँकी ३ वुहान बाहिरका विद्यार्थी हुन् ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म र्पुयाएका हुन् । विमानस्थलमा अवतरण भएपछि क्वारेन्टाइन लैजानुअघि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो ।

यस्तो छ क्वारेन्टाइन

क्वारेन्टाइनमा भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ ।

ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना क्षमता छ । क्वारेन्टाइनको सबै भवनमा गरी १८ वटा सिसि क्यामरा, आठ टेलिभिजन, सबै ब्लकमा स्पीकर जडान गर्नुका साथै तीनवटा वासिङ्ग मेशिन, ओछ्यान, टावेल, चप्पल, साबुन, मन्जन, ब्रश, माक्स र औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक शैयामा पुर्‍याइएको छ ।

एक कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन शैया रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुई ब्याडमिन्टन कोड निर्माण गरिएको छ भने क्यारेमबोर्ड, लूडो र बच्चाका लागि बललगायतका खेल सामग्री व्यवस्था गरिएको छ । कोठाभित्रै बस्ने नभइ कोठाबाट बाहिर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

Pic. RSS

दुईवटा स्वास्थ्य टोली चौबिसै घण्टा रहनेछन्, जसमध्ये नेपाली सेनाका क्याप्टेन डा नविन फूँयालको नेतृत्वमा नर्ससमेत स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहनेछ । नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहनेछ । क्वारेन्टाईनमा पुगेको २४ घण्टाभित्र र १४ दिनमा स्वास्थ्य जाँच एवम् रगत सङ्कलन गरिनेछ । अरु दिन व्यक्ति स्वयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरका माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुईपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नुपर्नेछ ।

कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँच शङ्कास्पद देखिए क्वोन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा शसस्त्र प्रहरी अस्पतालमा अबिलम्ब स्थानान्तरण गर्नेछ ।

यसका लागि विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारिएको छ । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन । क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहानको नास्ता, ११:०० बजे खाना, ३:०० बजे खाजा र साँझ ७:०० बजे खानाको व्यवस्था गरिएको छ । छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।

नेपालीलाई लिन वुहान गएका पाइलट, को-पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राखिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ