पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिले सरकार ?

संकट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कहिले सरकार ?

एक वर्षमा अन्तर्राष्ट्रिय जहाजको सात वटा मात्र उडान, आन्तरिकको भर, कूल आम्दानी चार करोड, तिर्नुपर्ने १६ करोड !

Pokhara Regional International Airport (5) (1)

‘अंग्रेजी नयाँवर्ष २०२३’ को पहिलो दिन पारेर पोखराले पोहोर ‘उपहार’ स्वरुप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखरा मात्र नभई सिंगो गण्डकी प्रदेश नै खुसी भएको थियो। विदेशी पाहुना सिधै पोखरा ओर्लिन पाउने र पोखराबाट उड्न पाउने भनेर पर्यटन क्षेत्र त झनै बढी आशावादी थियो।

तर, अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एकवर्ष पुग्दा पर्यटन क्षेत्र र सिंगो गण्डकी प्रदेशले आशा गरे अनुरुप विमानस्थलबाट उचित लाभ लिन नसकेको गुनासो सर्वत्र छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाजको सात वटा मात्र उडान (दुई कार्गाे सहित) भएका छन्।

विमानस्थलबाट एकवर्ष अवधिमा अन्तर्राष्ट्रियतर्फ २१५ जना यात्रु पोखरा ओर्लेका छन् भने ८१ जना फर्केका छन्। सबैगरी २ सय ९६ जना यात्रु आउजाउ गरेको प्राधिकरणले बताएको छ। एकवर्ष अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानको यही हो।

चिनियाँ ऋणमा बनेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराबासीका लागि ‘गेम चेञ्जर’ परियोजनाको हविगतपछि पोखराबासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय उडान तत्काल सुचारु गर्न माग गर्दै पोखरामा एक सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत पोखरावासीले असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय एकता अभियान र स्वतन्त्र पत्रकार संघ कास्कीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा विमानस्थललाई पूर्ण क्षमताअनुरूप संचालन गर्न विभिन्न सरोकारवालाहरूले सरकारलाई आग्रह गरेका छ्न्।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले विमानस्थल निर्माणमा पोखराबासीको उल्लेख्य लगानी रहेको बताउँदै विमानस्थलको हालको अवस्थाप्रति निराशा व्यक्त गरे । उनले विमानस्थलको पूर्ण संचालन आजको आवश्यकता रहेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

सुनवाइमा प्रमुख वक्ताको रूपमा उद्योग वाणिज्य संघका पूर्व केद्रीय अध्यक्ष आनन्दराज मुल्मी, विश्लेषक युगनाथ शर्मा पौड़ेल, पर्यटन विशेषज्ञ वासुदेव त्रिपाठी, समाजसेवी कुमार राना, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले बोलेका थिए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले कार्यक्रममा विभिन्न आवाजहरू सुनिने र सरोकारहरूलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्ने सुनिश्चित गर्दै कार्यक्रमको सञ्चालन गरेका थिए ।

पोखराबासीहरूको सामूहिक सन्देश स्पष्ट थियो कि अन्तर्राष्ट्रिय विमानस्थलको निष्क्रियता अस्वीकार्य हुनेछ र यसको सञ्चालनमा बाधा पु¥याउने तत्बहरूलाई सम्बोधन गर्न तत्काल कदम चाल्नु आवश्यक छ ।

जनवरी २०२३ मा विमानस्थलको औपचारिक उद्घाटन भए पनि अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा बासिन्दाहरू निराश छ्न् ।

अर्कोतर्फ विमानस्थल निर्माणको लागि लिइएको ऋणको बारेमा समेत स्थानीय मात्र नभई पूरा देश चिन्तित छ ।

तसर्थ सो कार्यक्रमबाट राष्ट्रलाई परेको आर्थिक भार कम गर्दै चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न वक्ताहरूले सरकारलाई आग्रह गरे ।

त्यस्तै एयरपोर्टको निर्माण प्रक्रियामा भ्रष्टाचार भएको आरोपहरूबारेसमेत आवाज उठाउँदै वक्ताहरूले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न गहन छानबिनको समेत माग गरेका छन् ।

सचेतना र्‍याली

सञ्चालनमा आएको १३ महिना पुग्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेको भन्दै पोखरामा दबाबमूलक सचेतना र्‍याली पनि यसअघि निकालिएको थियो ।

नाम मात्रको अन्तर्राष्ट्रिय विमानस्थल भएको भन्दै अन्तर्राष्ट्रिय उडानको मागसहित पहिलोपटक पोखरामा दुई साता अघि दबाबमूलक र्‍याली निकालियो ।

राष्ट्रिय एकता अभियान पोखराले ‘ऋणमुक्त र स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतना र्‍याली’ निकालेको छ।

र्‍यालीमा सहभागीहरूले ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’, ‘विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर’, ‘बिआरआई ऋणलाई अनुदानमा परिणत गर’, ‘विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर’ जस्ता नारा लगाएका थिए।

पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै अभियान पोखराका संयोजक विनय यादवले विमानस्थल सञ्चालनमा आएको १३ महिना बढी भइसक्दासमेत किन पूर्ण रूपमा र अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन भन्दै प्रश्न गरेका थिए। गएको एक वर्षमा चार करोड आम्दानी गरेको विमानस्थलले प्रत्येक महिना सावाँ र ब्याज गरेर १६ करोड तिर्नुपरेकाले यो गलाको पासो भएको उनको भनाइ थियो।

भैरहवा विमानस्थल आठ अर्बमा सञ्चालनमा आउँदा त्योभन्दा सानो विमानस्थलका लागि २८ अर्ब लागेको भन्दै उनले यसमा ठूलो भ्रष्टाचार भएको दाबी गरे। अहिलेको र्‍याली सांकेतिक विरोध मात्र रहेकाले आवश्यक परे थप दबाबमूलक कार्यक्रम गर्ने उनीहरूको चेतावनी छ।

तामझामका साथ १७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका थिए। सञ्चालनमा आएको करिब दुई महिनापछि ११ फागुनमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो। विमानस्थलमा १८ फागुन ०७९ देखि रात्रिकालीन उडानसमेत सुरु भएको थियो।

अन्तर्राष्ट्रिय र रात्रिकालीन उडानका लागि तयार भएसँगै विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउँछ भन्ने आशा पोखरेलीमा पलाए पनि हालसम्म त्यो सुरु हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds