संविधान संसोधन नभए सरकार छाड्छौ : उपप्रधानमन्त्री यादव

संविधान संसोधन नभए सरकार छाड्छौ : उपप्रधानमन्त्री यादव

upendra yadab

पोखरा । नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य, जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।  संघीय प्रेस फोरम, कास्कीद्धारा पोखरामा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी ओलीबाट पटक पटक वचनवद्धता भएकाले केही समय धैर्यता गर्ने, यदि संविधान संशोधन नगर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका हुन् ।

दुइ बुँदे सहमतिका आधारमा सरकारमा गएको हो, ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताए । ‘कम्युनिष्ट नाम मात्रै भो, कम्युनिष्ट भन्दै घुस, कमिशन, भ्रष्टचारमा तल्लिनछन्’ उनले भने, ‘काँग्रेसले प्रतिपक्षको भुमिका खेल्नै सकेन बरु हिन्दु र राजाको पछि लाग्न थालेको छ । उनीहरुबाट मुलुक समृद्धिको कुनै संभावना नै छैन त्यसैले मुलुकको समृद्धिको बैकल्पिक शक्तिको रुपमा संघीय समाजवादी फोरम स्थापित हुने छ ।’

सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो । ‘द्धन्द्धबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ’ उनले भने, ‘सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने देखिन्छ । जेलबाट छुट्न सिके राउतले सहमति मात्रै होइन उसले उठाउदै आएको मुद्धा समेत छाड्नु भएको छ ।’

देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने उनले बताए । ‘विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको छ ।’   ‘राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ’ उनले भने, ‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानियमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न मिल्दैन ।’

कर्मचारी र बजेटको भएको बताउँदै उनले हाल स्वास्थ्य मन्त्रालयमा हाल ४.४ प्रतिशत बजेट मध्ये ४ प्रतिशत तलबमा जाने र ०.४ प्रतिशत मात्रै विकासमा खचए हुने बताए । देशमा २१ हजार चिकित्सक आवाश्यक रहेकोमा हाल हाल १ हजार ४ सय जना सरकारी चिकित्सकको सेवा दिनुपर्ने बाध्यता रहेको उनले
बताए ।

यसैगरी अर्को कार्यक्रम संघीय समाजवादी फोरम कास्कीको अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष यादवले आन्दोलनले प्राप्त उपलब्धिलाइ संस्थागत गर्दै थप अधिकारका लागि सरकार, संसद र सडक तिनै बाटो प्रयोग गर्ने बताए ।

कम्युनिष्ट र काँग्रेसले गुगलमा सर्च गरी गरी मौलिक अधिकार संविधानमा समावेस गरेर उत्कृष्ट संविधानको प्रचार गरे अहिले उनैले जबरजस्त जारी गरेको संविधान कार्यन्वयन गर्न कानुन बनाउन चाहेका छैनन् । संविधान संशोधनका माग गरिरहने हामीले मौलिक हकको धारा पल्टाएर कानुन बनाउन झकझकाउने अवस्था आएको छ, उनीहरुले संघीयता, समावेशीता लगायत संविधानमा उल्लेख भएको अधिकार समेत कटौती गर्ने षडयन्त्र गरिरहेको यादवले आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ