मनाङ नारफुमा पाठ्यपुस्तक पनि छैनन्, विद्यार्थी पनि छैनन् !

मनाङ नारफुमा पाठ्यपुस्तक पनि छैनन्, विद्यार्थी पनि छैनन् !

pisang-schoolmanang

माथिल्लो मनाङस्थित नेस्याङ गाउँपालिकाको पिसाङ प्राविका विद्यार्थी । फाइल तस्बिर : कान्तिपुर

मनाङ । जिल्लाको नारफु गाउँपालिकामा पाठ्यपुस्तक पठाइएको छैन । विद्यालयमा विद्यार्थी नभएपछि यस्तो भएको हो । यहाँ रहेका स्कुलमा शिशु कक्षाबाहेक अन्यमा विद्यार्थी नहुँदा पाठ्यपुस्तकको आवश्यकता नरहेको शिक्षा कार्यालयका स्रोतव्यक्ति अमृतबहादुर थापाले बताए । कान्तिपुर दैनिकका लागि लमजुङ बाट आश गुरुङ ले समाचार लेखेका छन् ।

यसअघिको सदरमुकाम चामेबाट दुई दिनमा पुगिने नार र फू गाउँ फरक–फरक ठाउँमा छन् । गत वर्ष बढी पुस्तक गएको र यसपटक विद्यार्थी नै नभएपछि पाठ्यपुस्तक नपुर्‍याइएको चामेसँगै नारफूका स्कुल हेर्दै आएका स्रोतव्यक्ति थापाले भने । उनका अनुसार फू गाउँमा कक्षा ५ सम्म पढाइ हुने फू प्रावि (हाल आधारभूत) र कक्षा ८ सम्म पढाइ हुने नार निमावि (हाल आधारभूत) विद्यालय छन् । यी दुवै स्कुलमा शिशु कक्षाबाहेक अरू कुनै पनि कक्षामा विद्यार्थी नरहेको स्रोतव्यक्ति थापा बताउँछन् ।

स्थानीयका अनुसार नारमा करिब ७० र फूमा करिब ४० घर छन् । स्थानीयले आफ्ना बालबालिकालाई सहरमा पढाउने गर्छन् । विद्यालयमा शिक्षक नियमित नहुने, भए पनि कक्षा ५ र ८ पासपछि अन्तै लानुपर्ने बाध्यताले सानै कक्षाबाट विद्यार्थीलाई सहर लगेर पढाउने गरिएको छ । स–साना भएकाले गाउँमा शिशु कक्षामा भर्ना गरिए पनि कक्षा १ मा पुगेपछि सहर लगेर पढाउने गरिएको छ । हिउँदयाममा असाध्यै चिसो हुने र ३ महिना पूरै स्कुल बन्द हुने, अन्य समय पनि पढाइ नहुने भएपछि अभिभावकले उक्त स्कुलमा बालबालिकालाई पढाउन मन नगरेको स्वयं शिक्षा कार्यालयका अधिकारी बताउँछन् ।

४ गाउँपालिका रहेको मनाङका अन्य ३ गाउँपालिकाका स्कुलमा भने पाठ्यपुस्तक पुगिसकेका छन् । केही विद्यार्थी भने नआएका शिक्षक स्रोत बताउँछ । नेस्याङ गाउँपालिकास्थित माथिल्लो मनाङको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्दराज घिमिरेका अनुसार स्कुलमा ५० विद्यार्थी छन् ।

सबैको हातमा पाठ्यपुस्तक पुगिसकेको छ । ‘माथिल्लो क्षेत्रमा चैत १ देखि शैक्षिकसत्र सुरु भयो । हाम्रो विद्यालयमा फागुन १६ मा नै पाठ्यपुस्तक पुग्यो । कक्षा सुरु हुनासाथ विद्यार्थीलाई पाठ्यपुस्तक दियौं,’ उनले भने । चामे गाउँपालिकाका विद्यालयमा पनि पाठ्यपुस्तक पुगिसकेको स्रोतव्यक्ति थापाले बताए । उनका अनुसार पाठ्यपुस्तक नपाउने र अभाव छैन । चामेमा फागुन १ बाट शैक्षिकसत्र सुरु भएको हो ।

फागुन १ बाटै शैक्षिकसत्र सुरु भएको तल्लो मनाङको नासों गाउँपालिकाका सबै स्कुलमा पाठ्यपुस्तक पुगिसकेको गाउँपालिकास्थित शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र देवकोटाले बताए । उनका अनुसार भानु मावि ताल र जनविकास आधारभूत विद्यालय नाचैको कक्षा ६ का केही विद्यार्थीलाई पाठ्यपुस्तक पुगेको थिएन । ‘किताब किन्नुस् र बिल पेस गर्नुस् भनेर विद्यालयलाई भनेका छौं । बिल आएको छैन, पाठ्यपुस्तक आइसकेको होला,’ उनले भने । उनका अनुसार तल्लो मनाङमा शैक्षिक सत्र सुरु भएको एक सातापछि मात्रै पाठ्यपुस्तक आइपुगेको हो ।

जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीका अनुसार आवश्यकताअनुसार जिल्लाका सबै स्कुलमा पाठ्यपुस्तक पुगिसकेको छ । पाठ्यपुस्तक पुगेन भनेर कसैले गुनासो गरेका छैनन् । फागुन १ बाट पठनपाठन सुरु भएको चामे र नासों गाउँपालिकामा फागुन महिना र चैत १ बाट पठनपाठन सुरु भएको नेस्याङ र नारफू गाउँपालिकामा चैत महिनालाई भर्ना अभियानको रूपमा अघि बढाइएको थियो ।

‘के कति विद्यार्थी भर्ना भए भन्ने तथ्यांक आएको छैन’ उनले भने, ‘पाठ्यपुस्तक अपुग भएमा तत्काल व्यवस्थापन गर्न स्कुललाई भनेको छु । अब शिक्षाका सबै गतिविधि स्थानीय तहले हेर्ने भएकाले सबै जानकारी शिक्षामा नआउन पनि सक्छ ।’ उनले शिक्षालाई कस्तो बनाउने, यससम्बन्धी नियम, कानुन निर्माणको जिम्मा सबै स्थानीय तहमा गएकाले यसको नियमन पनि स्थानीय तहले नै गर्ने बताए । ‘जिल्ला शिक्षा कार्यालय हट्ने भएपछि अब हामीले सबै काममा हस्तक्षेप गर्न मिल्दैन,’ उनले भने । मनाङमा ४ मावि, १० आधारभूत र १३ प्रावि छन् । एउटा निजी विद्यालय छ ।

शिक्षा सम्बन्धी प्रदेशभर सम्बन्धित समाचार

मुस्ताङमा पुग्यो

म्याग्दी– फागुन १ देखि शैक्षिक सत्र सुरु भएको हिमालपारीको जिल्ला मुस्ताङका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । जिल्ला शिक्षा कार्यालय मुस्ताङका अनुसार ७ माध्यमिकसमेत ५३ सामुदायिक विद्यालयमा पढ्ने १ हजार ८ सय विद्यार्थीका लागि नयाँ पाठ्यक्रम पुगेको छ ।

‘फागुनका दोस्रो साताभित्र सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ,’ जिशिकाका विद्यालय निरीक्षक मोतिराज चपार्इंले भने, ‘विद्यालयमा पढाइ पनि सुरू भएको छ ।’ पोखरास्थित जनक शिक्षा सामग्री केन्द्रले मुस्ताङका लागि ३ हजार २६ थान र मनाङका लागि ४ हजार ४ सय २६ थान पाठ्यपुस्तक पठाइएको जनाएको छ ।

हिमपातले प्रभावित हुन्छ पढाइ

गोरखा– शुक्रबार दिनभर हिउँ परेपछि चुम नुब्री गाउँपालिका १ सामागाउँको गौरीशंकर आधारभूत विद्यालयको वार्षिक परीक्षा नै रोकियो । हिमपातसँगै जाडो बढेपछि परीक्षा आइतबारलाई सारिएको प्रधानाध्यापक बेलबहादुर गुरुङले बताए ।

‘बख्खु ओडेर विद्यार्थी परीक्षा दिन आएका थिए । हात कठ्यांग्रिएर लेख्न सक्दैनन् जस्तो लागेर विद्यालय बन्द गर्‍यौं,’ उनले टेलिफोनमा भने, ‘जाडोले बच्चाहरू बिरामी हुन पनि सक्छन् । आजको परीक्षा पर्सी हुन्छ, घरभित्रै आगो तापेर पढ भनेर विद्यार्थी फिर्ता गर्‍यौं ।’ सडक सञ्जालले नछोएको दुर्गममा चुम नुब्री गाउँपालिकामा २२ विद्यालय छन् । हिमाली भेगमा रहेका उक्त क्षेत्रका विद्यालयमा जाडोकै कारण पठनपाठन प्रभावित हुने गरेको छ ।

चुम नुब्री २ को ल्हो आधारभूत विद्यालयले भने जाडो छल्न आरूघाट गाउँपालिकाको आर्खेतमा विद्यार्थीलाई आवासीय सुविधा दिएर पाँच महिना कक्षा सञ्चालन गर्‍यो । ‘जाडो छल्न मंसिरदेखि आर्खेतमा कक्षा सञ्चालन गर्‍यौं,’ प्रध्यानाध्यापक रमेश पुडासैनीले भने । वार्षिक परीक्षा सकेर ल्हो आधारभूत विद्यालयका विद्यार्थी गाउँ फर्कन थालेका छन् । ‘हामी जाडो–बर्खे कुनै पनि बिदा दिँदैनौं, वार्षिक परीक्षा ९ गते सकियो,’ उनले भने, ‘अहिले विद्यार्थी गाउँ फर्कन थालेका छन्, अब मंसिरसम्म गाउँमै कक्षा चलाउँछौं ।’ दुर्गम हिमाली भेगका विद्यालयमा बर्खे बिदाको साटो जाडो बिदा दिने चलन छ । जाडोले कठ्यांग्रिएर विद्यार्थी पढ्न नआउने गरेकाले हिउँदे बिदा दिने गरिएको शिक्षकहरू बताउँछन् । गौरीशंकर आधारभूत विद्यालयका प्रअ गुरुङले भने, ‘जाडोमा विद्यार्थी नै आउँदैनन् । फागुन–चैत महिनामा हिउँ पर्दा पढाउन गाह्रो हुन्छ ।’ हिउँ परेपछि चल्दै गरेको कक्षा पनि बिदा गरेर विद्यार्थीलाई घर पठाउने गरिएको शिक्षकहरू बताउँछन् ।

पाठ्यपुस्तक ढुवानीमा समस्या

चुम नुब्री गाउँपालिकाअन्तर्गतका २२ विद्यालयमा अहिले वार्षिक परीक्षा सकिएको छ । सबैजसो विद्यालयले वैशाख दोस्रो साताबाट नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । गाउँपालिकाले समयमै पुस्तक उपलब्ध गराउन रकम निकासाको तयारी गरेको छ ।

प्रधानाध्यापकले भने पुस्तक खरिद गर्ने रकमसँगै ढुवानी खर्चको व्यवस्था गर्न माग गरेका छन् ।

‘खच्चडलाई बोकाएर ल्याउनुपर्छ । एक किलोको ८०/९० रुपैयाँसम्म लिन्छन्,’ ल्हो आधारभूत प्राविका प्रअ पुडासैनीले भने, ‘पुस्तक किन्न मात्रभन्दा पनि ढुवानीको व्यवस्था गरिदिए हामीलाई सहज हुन्थ्यो ।’ विद्यालयको आन्तरिक स्रोतबाट यसअघि ढुवानी खर्च व्यवस्थापन गर्ने गरिएको उनले बताए ।

समयमै पुस्तक ढुवानीका लागि खच्चड र हेलिकप्टरको भर पर्ने गरिएको छ । ‘पुस्तक खरिद गर्न विद्यालयलाई पैसा दिन्छौं । शिक्षकहरू ढुवानी खर्च पनि दिनुपर्छ भन्दैछन्,’ गाउँपालिकाका स्रोतव्यक्ति रोहिणी खनालले भने । यसअघिका वर्षहरूमा सामागाउँ र छेकम्पारका केही विद्यालयले आन्तरिक स्रोत जुटाएर हेलिकप्टरबाट पुस्तक ढुवानी गरे पनि धेरैजसो विद्यालयले खच्चडबाटै ढुवानी गर्ने गरेको खनाल बताउँछन् । वैशाख दोस्रो साताबाट नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने तयारी गरेका विद्यालयले हालसम्म पुस्तक खरिदको प्रक्रिया अगाडि बढाएका छैनन् । ‘गाउँपालिकासँग समन्वय गरेर एक/दुई दिनमा विद्यालयको खातामा पैसा हाल्छौं,’ खनालले भने ।

भौगोलिक हिसाबले दुर्गममा मानिने धार्चे गाउँपालिकाले भने पुस्तक खरिदका लागि करिब ११ लाख रुपैयाँ निकासा गरेको विद्यालय निरीक्षक पदम ढकालले बताए । ‘वार्षिक परीक्षा सकियो, २९ गते रिजल्ट प्रकाशित गर्छौं,’ उनले भने, ‘सयममै विद्यालयमा पुस्तक पुर्‍याउन रकम निकासा गरेका हौं ।’ धार्चे गाउँपालिका २५ विद्यालयहरूमध्ये अधिकांश विद्यालयमा पुस्तक ढुवानीका लागी खच्चडकै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

३८३ अभिभावक सम्मानित हुँदै

पोखरा– जिल्ला शिक्षा कार्यालय कास्कीले ३ सय ८३ उत्कृष्ट अभिभावकको पहिचान गरी सम्मान गर्ने भएको छ । दुई वर्षदेखि लागू राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बालबालिकाको पढाई सीप अभिवृद्धिमा विशेष सहयोगी भूमिका निर्वाह गरेका अभिभावकलाई सम्मान गर्न लागिएको हो ।

कार्यक्रमका फोकल पर्सन उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार कार्यक्रम लागू भएका ३ सय ८३ विद्यालयमा एक/एक जना अभिभावकलाई सम्मान गरिने छ । प्रारम्भिक तहका १ देखि ३ कक्षासम्मका बालबालिकाको पढाइ सीप विकास जोड दिने लक्ष्यसहित कास्कीका विद्यालयमा उक्त कार्यक्रम लागू छ । कार्यक्रमबाट ती कक्षामा अध्ययनरत १३ हजार ५ सय विद्यार्थी लाभान्वित भएका छन् ।

‘कार्यक्रमबाट राम्रो अभ्यास गरेर आफ्ना सन्ततिहरूको पढाइ क्षमता बढाउन उल्लेख्य भूमीका निभाउने अभिभावक छानेर यही चैतभित्र सम्मान गर्नेछौं’ उनले भने, ‘कतिपय स्थानमा अभिभावले नै स्थानीय रूपमा पाठ्यसामग्री बनाएका छन् ।’ आफूले जानेको कुरा अरूलाई सिकाउने अभ्याससमेत अभिभावकमा बसेको र समग्रमा बालबालिकालाई पढ्ने वातावरण मिलाएको उनले बताए ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले अभिभावकको समन्वयका कारण कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रमका जिल्ला संयोजक कृष्ण खतिवडाले अभिभावकलाई थप सचेतना दिलाउने र यसमा सञ्चारकर्मीको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ