मोदीको मुक्तिनाथ भ्रमण पछि भारतीय तिर्थालुमा बृद्धि

मोदीको मुक्तिनाथ भ्रमण पछि भारतीय तिर्थालुमा बृद्धि

33137345_10208908368187013_7716223637086273536_n

सुन्दर कुमार थकाली, मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसै साता मुक्तिनाथक्षेत्रमा भएको भ्रमणपछि भारतीय तिर्थालुको संख्यामा बृद्धि भएको छ ।

प्रसिद्ध ४ धाम मध्येकै एक महत्वपुर्ण तिर्थस्थल मानिने हिमालपारी मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा साविकको तुलनामा थप तिर्थालु भित्रिएको बताईएको छ । मोदीको यसक्षेत्रको भ्रमणले धार्मिक तिर्थालुको संख्या बृद्धि भएको यहाँका सरोकारवाला व्यवसायीहरुको भनाई छ ।

अहिले दर्शनका लागि भारतीय तिर्थालु मुक्तिक्षेत्रमा खचाखच भरिने गरेपछि उनीहरुमा नर्या उर्जा पलाएको छ। भारतीय तथा स्वदेशी मिडियाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको यस क्षेत्रको प्रत्यक्ष प्रशारण गरे लगत्तै मुक्तिक्षेत्रको सन्देश विश्वमै फैलिन पुगेको मुक्तिनाथ रानीपौवाका स्थानीय व्यवसायी मानबहादुर थकालीको भनाई छ । उनले मोदी भ्रमणपछि यहाँ आउने धार्मिक पर्यटकमा बृद्धि भएको जनाए ।

यस्तै अर्का मुक्तिनाथका पर्यटन व्यवसायी रोशन तामाङले मोदीको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटकको रौनक बढेको जनाए । उनले हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुक्तिनाथमा नेपाली तिर्थालु भन्दा भारतीय तिर्थालु दोब्बरले बृद्धि भएको जानकारी दिए ।

उनका अनुसार मुक्तिनाथमा अहिले दिनहु सयौको संख्यामा भारतीय धार्मिक पर्यटक ओईरिन थालेको जनाए ।‘मुक्तिक्षेत्रमा भारतीय र नेपाली तिर्थालु दर्शनका लागि यस क्षेत्र आउने गरेका छन्’उनले भने,‘तर मोदीको भ्रमणपछि अझ बढी भारतीय तिर्थालु यहाँ आएका छन् । जसले यस क्षेत्रको उचाईमा बृद्धि र व्यवसायीक क्षेत्रमा नयाँ आशा थपिएको छ।’

वशन्तऋतुको गिष्मकालिन समयमा अक्सर भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथक्षेत्र आउने गरेको पाईन्छ ।यो समय यहाँको मौसमी तापक्रम सन्तुलित रहने र उनीहरुको दर्शन शहज हुने भएकाले भारतीय पर्यटक गर्मियाममा बढी आउने गर्छन् । वर्षेनी नेपाली नया वर्षको सुरुआत देखि असोज सम्म भारतीय तिर्थालु मुस्ताङ आउने गरेको पाईन्छ ।यस समय मुक्तिनाथको दर्शनका साथै यहाँको भौगोलिक संरचना सुन्दर देखिने भएकाले यहाँ आउने पर्यटक मोहित हुने गर्छन् ।

मुक्तिनाथ दर्शनका लागि आउने अधिकाँश भारतीय धार्मिक तिर्थालु हवाई सेवा मार्फत जोमसोम उत्रन्छन् ।त्यो त बेनी जोमसोमको यातायात सञ्जाल भएपनि उनीहरु हवाई सेवा मार्फत यहाँ आउन रुचाउछन् । यसरी आएका भारतीय तिर्थालु जोमसोममा संञ्चालित होटलहरुको समन्वयमा बस तथा जीप मार्फत मुक्तिक्षेत्र पुगेर जोमसोममानै फर्कन्छन् ।

यतिखेर पोखराबाट हवाई सेवा मार्फत जोमसोम आउने पर्यटकमा अधिकाँश भारतीयनै भएको जोमसोम नागरिक उड्यन कार्यालयको भनाई छ । कार्यालयका अनुसार अहिले तारा एयरलाईन्स, नेपाल वायुसेवा निगम र समिट एयरले गरेर दैनिक १५ वटा सम्म उडान भर्ने गरेको जनाएको छ ।

मुक्तिनाथमा धार्मिक पर्यटकको चहल पहल बढेपनि प्रसिद्ध शालग्रामक्षेत्रको रुपमा चिनिने कागबेनी पिण्ड स्थल भने सुनसान बनेको छ । मुक्तिनाथमा आउने भारतीय तिर्थालुले पितृलाई श्राद्ध र तर्पण नदिने भएकाले कागबेनी सुनसान बनेको हो । कागबेनीमा भने नेपाली तिर्थालुले मात्र पितृको श्राद्ध गर्ने गरेको पाईन्छ । यस क्षेत्रमा वर्षेनी दशै र चैते दशै औशी र सोह् श्राद्धका बेला आन्तरिक तिर्थालुको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ