बच्चामा नयाँ भाइरसः पातलो दिसा र वान्ता भए सतर्क हुनुस् !

बच्चामा नयाँ भाइरसः पातलो दिसा र वान्ता भए सतर्क हुनुस् !

child

डा. शेरबहादुर पुन

चिसो बढ्दो छ । चिसोमा धेरैलाई रुघाखोकी, ज्वरोको समस्या हुने गर्छ । मौसमी गडबडीका कारण रुघाखोकी तथा ज्वरो हुनु स्वाभाविकै हो । तर, रुघाखोकीबाहेक पनि अहिले बालबालिकामा नयाँ किसिमको समस्या देखिएको छ, पालतो दिसा तथा वान्ता हुने ।

यदि तपाईंको बच्चामा पनि पानीजस्तो पातलो दिसा आउने र वान्ता हुने गरेको छ भने बेलैमा सजग हुन जरुरी छ । किनकि, नेपालमा खासै प्रचलनमा नआएको तथा नसुनिएको यस्तो समस्या नोरोभाइरस संक्रमणको कारणले भएको हुन सक्छ । पछिल्ला अनुसन्धानहरुले हिउँदमा पाँच वर्षमुनिका बालबालिकामा पातलो दिसा र वान्ता हुने समस्याको मुख्य कारक नोरोभाइरस संक्रमण रहेको पत्ता लगाएका छन् । हुन त, नेपालमा अहिले पनि बालबालिकालाई हिउँदमा डाइरिया प्रमुख कारण रोटाभाइरस हो । रोटाभाइरसविरुद्धको खोपलाई नेपालको बालखोप कार्यक्रममा समावेश गर्ने निश्चित भइसकेको छ ।

तर, नोरोभाइरस आगामी दिनमा पहिलो समस्या बन्ने कुरामा दुई मत छैन । अमेरिकालगायत मुलुकमा रोटा भाइरसविरुद्धको खोप शुरु भइसकेको छ । त्यसको स्थान नोरोभाइरसले लिँदै गरेको छ । अहिले पनि हिउँदमा नेपालमा १० देखि १६ प्रतिशत बालबालिकामा पातलो दिसा र वान्ता हुने समस्या देखिने गरेको छ । र, त्यसको कारक नोरोभाइरस नै देखिन्छ । विगतमा नोरोभाइरसले बयस्कलाई मात्र झाडापखाला गराउँथ्यो । नेपालबाट बालिबालिकामा देखिएको यो नयाँ समस्या हो ।

के हो नोरोभाइरस ?

खासगरी, हिउँदमा देखिने नोरोभाइरस पेट र आन्द्रामा संक्रमण गराउने एक प्रकारको भाइरस हो । नेपालमा यो भाइरसको बारेमा खासै अनुसन्धान भएको छैन ।

तर, जति पनि अनुसन्धानहरु भएका छन्, तिनका नतिजाले १० देखि १६ प्रतिशत बालबालिकामा यसको संक्रमणमा पर्ने गरेको देखाएका छन् । यसलाई ‘विन्टर वमिटिङ बग’ पनि भन्ने गरिन्छ ।

नोरोभाइरसको लक्षण ?

पातलो दिसा, वान्ता हुने, पेट दुख्नु, न्यून ज्वरो, जिउ दुख्नु, आलश्य हुनु, अति जलवियोजन, पिसाब कम लाग्नु, मुख र घाँटी सुक्खा हुनु, शरीर आलश्य हुनु

कसरी सर्छ ?

संक्रमित खाना, फलफूल र पानीबाट । संक्रमित कुनै सामान वा बस्तुको सतहमा छोएर हात नाक, मुख र आँखामा छोइएमा । एकै खानेकुरा धेरै व्यक्तिहरुले बाडेर खाँदा (जुठो खाएमा) । किन्डरगार्डेनजस्तो ठाउँमा कुनै बच्चा संक्रमित भएमा उसले अरु बालबालिकालाई पनि सहजै सार्न सक्छ । संक्रमित बच्चाले शौचालय गएपछि राम्रोसँग हात नधोई खेलौनालगायत चिज छोएमा उक्त भाइरस सर्ने जोखिम हुन्छ ।

उपचार विधि ?

यो भाइरसविरुद्ध विशेष औषधि हुँदैन र एन्टिबायोटिकको पनि कुनै भूमिका रहँदैन । विश्वमा नोरोभाइरससम्बन्धि खोपको पनि विकास भएको छैन । त्यसैले, लक्षणहरुकै आधारमा उपचार गर्नुपर्ने देखिन्छ । डिहाइड्रेसनबाट बच्नु नै यसको मुख्य उपचार भएकाले जीवनजललगायत ओरल रिहाइड्रेसन थेरापीको प्रयोग गर्नुपर्छ । तर, बारम्बार वान्ता र पखाला नरोकिएमा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ ।

बच्ने उपाय ?

१) व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । संक्रमित बच्चाको हात बारम्बार साबुन पानीले कम्तिमा २० सेकेन्ड धोइदिनुपर्छ ।
२) नोरो भाइरस फैलिएको शंका लागेमा स्कुल, किन्डरगार्डेनमा भएका सरसामान, ढोकाका चुकुल आदि क्लोरिन सोलुसनले राम्ररी सफा गरेर मात्र पुनः बालबालिकालाई प्रयोग गर्न दिनुपर्छ ।
३) खासगरी सागपात र फलफूल राम्ररी धोएर मात्र खानुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ