कोरोनाको पीडामा गाउँलेको नुनचुक: स्याङ्जा आँधीखोला चिलाउनेबासकी ९३ वर्षीया बृद्धाले घाट पाइनन्, घर अगाडि गाडियो

कोरोनाको पीडामा गाउँलेको नुनचुक: स्याङ्जा आँधीखोला चिलाउनेबासकी ९३ वर्षीया बृद्धाले घाट पाइनन्, घर अगाडि गाडियो

burying

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं २ चिलाउनेबास, पोखराचौरकी वृद्धाको शव व्यवस्थापनमा यति ठूलो निर्दयी व्यवहार भएको छ कि जुन क्षम्य छैनन् । वयोवृद्ध ९३ वर्षकी मान्छेको यो उमेरमा के चाहना बाँकी रहला र ? त्यही मरेपछि आफ्नै घाटमा जल्न पाउँ भन्ने त होला । तर, उनले पाइनन् । वडा नम्बर ५, सेपत गाउँका वासिन्दाले दिएनन् । गाउँका भद्रभलाद्मीले भनेको अरुले मानेनन् ।

घाटसम्म त परको कुरा, आँगनबाटै शव समेत उठ्न पाएन । केहीले लाशमाथि राजनीति गर्दा गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, उपाध्यक्ष शर्मिला पौडेल लगायतको दिनभरको प्रयास समेत निष्प्रभावी भयो । घण्टौंसम्म नदिएपछि घर अगाडि नै गाड्न विवश बने बृद्धाको परिवार । न उनलाई कोरोना पुष्टि नै भएको थियो । यत्ति कारण कि, छोराबुहारीको एक दिन अघि रिपोर्ट पोजिटिभ आएको थियो ।

ती वृद्ध महिलाको जेठ ४ गते बिहान करिब ७ बजेतिर मृत्यु भएको हो । उनी २ वर्ष अघिदेखि थलिएकी थिइन् । गाउँलेहरुले यो उमेरकी वृद्धाको निधन स्वभाविक होला भन्नेतिर पनि सोचेनन् । छोराबुहारीको अघिल्लो दिन पोजेटिभ आएको भनेर गाउँलेहरु त्रसित थिए ।

पोखराचौरदेखि सधैं शव जलाउने घाट आँधिखोला किनारमा लैजाने तयारी हुँदै थियो । छिमेकीले ट्याक्टरमा दाउरा हालेर घाटतर्फ लैजाँदै थिए, वडा नम्बर ५ सेपत गाउँका वासिन्दा घाटमा आइपुगे र कोरोना सर्न सक्ने भन्दै जलाउन नदिने अड्डी कसे । जलाउन नदिने बताएपछि खोला किनारमै पुर्ने भन्दै छिमेकीले खाल्डो खन्न लाग्दा फेरि पनि अवरोध गरेको आफन्तहरु बताउँछन् ।

अलिकति मानवता भएका एक–दुई छिमेकीहरुले शवलाई दाहसंस्कारका लागि आँधीखोलामा लैजाने प्रयास गरे । तर, छिमेकी र खोला वरिपरिका गाउँलेहरुको अवरोधले आँधीखोलामा कतै पनि शव जलाउने स्थिति बनेन । शव जलाउने विषयमा दिनभरिजसो नै माथपच्चिसी चल्यो । विवाद भइरह्यो । जलाउँदा हावाबाट पनि कोरोना सर्छ भन्ने भ्रम पालेका छिमेकीले शव कतै पनि जलाउन दिएनन् । त्यहाँ अन्य वरिपरिका घाटहरुमा लैजाने प्रयास दिनभरिजसो नै भयो ।

अन्तिममा गाउँपालिकामा सूचना गरेपछि गाउँपालिकाको टोलीले शव दाहसंस्कारका लागि अनेक प्रयास ग¥यो । प्रहरी र स्वास्थ्यकर्मीसहितको टोलीले शव व्यवस्थापनका लागि अनेक प्रयास गरिरह्यो तर छिमेकी र गाउँलेहरुले अवरोध गरिरहे । विवाद र झगडा जस्तो भइरह्यो । जलाउने ठाउँ नपाएपछि खाल्डो खन्ने कुरा भयो । खाल्डो खन्ने मान्छे पाउन गाह्रो भयो । बल्ल बल्ल खाल्डो खनेपछि शव लैजाने सवारीको साधन खोज्दा कोही पनि लैजान तयार भएनन् ।

सग्लो दिन विवादमै बित्यो । मृतकको लास आँगनमा कति राख्ने ? रात पर्न थाल्यो । अन्त्यमा अनेक प्रयास गर्दा पनि केही सीप नलागेपछि स्वास्थ्यकर्मीले शव उठाएर मृतकको घर अगाडि नै गाडे । बिहान ७ बजेतिर मृत्यु भएको शव विवादकै कारण साँझ साढे सात बजेतिर मात्र गाडियो ।

घाटमा जलाउन शव लैजान खोज्दा गाउँलेले बाटो छेक्ने, अन्त्येष्टि गर्न नदिने र गाड्न समेत रोकेको वडाका जनप्रतिनिधि बताउँछन् । ‘शव जलाउन घाट देखाउन म आफैं पनि गएको थिएँ । अरु दाउरा लिएर गएका थिए । आँधिखोलामा माछा मार्न पुगेका केटाकेटीले हल्लाखल्ला गरेपछि गाउँलेको ठूलो भीड जम्मा भयो । प्रहरीले आग्रह गरे तर ट्याक्टरै जलाउने बताए,’ वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र पौडेलले भने, ‘जलाउन नदिए पुरौं भनेर खाल्टो खनियो तर त्यहाँ पनि गाड्न सकिने अवस्था बनेन । बिहान ७ बजेदेखि शव व्यवस्थापनको तयारी बेलुका ७ बजेमात्रै गाउँलेकै पाखोमा गाड्न सफल भइयो ।’

वडाध्यक्ष पौडेलले पीडा र दुखमा अमानवीय र घृणित व्यवहार भएको बताए । प्रहरी प्रशासनको प्रयोग गरेर शव व्यवस्थापन गर्न पनि आफ्नै गाउँ भएकाले नसकिएको उनको भनाइ थियो ।

शव व्यवस्थापनमा अवरोध गर्ने गाउँ पर्ने वडा नम्बर ४ का वडाध्यक्ष चिन्तामणि पौडेलले मंगलबारको घटनाले गलत सन्देश गएको बताए । ‘म आफैं मुटुको समस्या भएकाले जान पाइनँ । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको र शंकास्पद रुपमा धेरैको मृत्यु पनि भएकाले धेरै जना डराएकाले घटना घटेछ,’ वडाध्यक्ष पौडेलले भने, ‘जुन् घटना घट्यो, त्यो राम्रो चाहिँ भएन ।’

रात पर्ने बेलासम्म आमाको लास आँगनमा राखेर छिमेकी र समाजको नचरी हेर्न बाध्य भए छोराबुहारी । ‘बुबाआमालाई पिसीआरमा पोजेटिभ आए पनि स्वास्थ्य अवस्था सामान्य नै थियो । लामो समयदेखि थलिनुभएकी हजुरआमाको मृत्यु हुनु जति पीडादायी थियो, त्यो भन्दा छिमेकीको व्यवहार बढी पीडादायी भयो ।’ मृतककी नातिनी मीना ढकालले भनिन्- ‘गाउँलेले खोलामा जलाउन पनि नदिँदा दुःख लाग्यो । हाम्रा दाजुभाइ बाहिर हुनुहुन्छ, छिमेकीले शव देख्दै छिःछि र दुरदुर गर्नुभयो ।

स्थानीय गाउँले युवा कृष्ण क्षेत्री अमृत भन्छन् ‘अन्तिममा खाल्डो खनेर गाड्नका लागि खोला किनारमा प्रयास गरियो । तर टेक्टरको ड्राइभर नै शव लान मानेनन् ।’ एकातिर मिलाउँदा अर्कोतिर नमिल्ने भइरह्यो । एक जनालाई बल्ल बल्ल मनायो फेरि अर्को बाङ्गिन्छ । यस्तो स्थिति दिनभरि नै भइरह्यो ।

गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले भनिन् ‘आफन्तले पनि शव छुन मानेनन्, केही सीप नलागेर गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीले नजिकैको सामुदायिक भवन नजिकैको खाली ठाउँमा गाड्नुप¥यो ।’ उनले भनिन्, यो घटना कोरोनासँगै मानवीय भावना र संवेदना समाप्त भएको एउटा ज्वलन्त उदाहरण हो ।’

युथ अफ आँधीखोलाका अध्यक्ष हरि ढकाल भन्छन्, ‘खोला किनारमा स्वास्थ्य मापदण्ड पालन गरेर शव व्यवस्थापन गर्न कुनै समस्या हुने अवस्था थिएन । तर जे भयो त्यो दुर्भाग्यपूर्ण भयो ।’ उनले भने अब हामी युवाहरु आफै पिपिइ लगाएर मैदानमा उत्रन्छौँ । कसैले नछोएका शव हामी व्यवस्थापन गर्छौँ ।’

सुन्दा सामान्य लागे पनि यो घटना अमानवीय प्रवृत्तिको छ । पहिलो कुरा त मृतकको पिसीआर परीक्षण नभएकाले उनलाई कोरोना थियो वा थिएन स्पष्ट थिएन । दोस्रो उनलाई कोरोना भएको भए पनि कोरोनाबाट मृत्यु भएकाको शव जलाउन नहुने कुनै वैज्ञानिक कारण थिएन । यसबाट कोरोनाबाट समाज बढी नै त्रसित भएको देखिन्छ भने कोरोनाका सम्बन्धमा समाजमा भ्रम व्यप्त छ भन्ने पनि स्पष्ट देखिन्छ । यस्तो भ्रमलाई चिर्नु त आवश्यक छँदैछ साथै शवको उचित व्यवस्थापनमा अवरोध गर्नेलाई कानुनी दायरामा समेत ल्याउनु आवश्यक देखिएको छ ।

खबर भण्डार डटकम र समाधान दैनिकबाट सन्दर्भ सामाग्री लिएका छौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ