कसरी गर्ने कोरोनाको चेनब्रेक?

कसरी गर्ने कोरोनाको चेनब्रेक?

mahila-sankramit-corona

बलेवा । कोरोनाको सक्रिय सङ्क्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । सङक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका बिरामी थपिने दर केही कम पनि भएको छ । तर गाउँ गाउँमा पुगेको कोरोनाको चेनब्रेक कसरी संभव होला? यो अहिलेको बढी चासोको विषय बनेको छ ।

सक्रिय सङ्क्रमित घटाउनका लागि परिक्षण नै घटाएको टिप्पणी समेत भैरहेको छ । परीक्षण घटाएरभन्दा छिटो धेरै सङ्क्रमित पहिचान गरेर उनीहरुलाई उपचारमा लैजाने, सुरक्षित आइसोलेसनमा राख्ने जस्ता काम गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि स्थानीय तहबाटै सक्रियता हुन जरुरी छ । किनकी स्थानीय तहले हरेक वडा र टोलसम्मको अवस्था बुझेको हुन्छ । कोभिड नियन्त्रण अभियानमा स्थानीय तहनै प्रभावकारी संयन्त्र समेत हुन् । कोरोना नियन्त्रण अभियानमा केही पालिकाले अगुवाई समेत गरिसकेका छन् ।

बागलुङ नगरपालिकाको वडा नं. ४ मा सङ्क्रमित बढेर सिल गरिएकै बेला वडा नं. ११ भने सङ्क्रमण मुक्त भएको छ । वडा नं. ११ को रायडाँडामा कडा निगरानी, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना र नियमित उपचार सेवामा स्वास्थ्यकर्मी खटिंदा यो सफलता मिलेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। रायडाँडामा एकैपटक १२ जना सम्ममा कोरोना देखिएको थियो । अघिल्लो वर्ष २ जना मात्रै सङ्क्रमित देखिएको यहाँ यो वर्ष भने एकैपटक सङ्क्रमण बढ्ने खतरा थियो ।

सङ्क्रमणविरुद्ध स्वास्थ्य चौकीप्रमुख केयरसिंह थापासहित अध्यक्ष गौतमले निरन्तर घरदैलो गरेर स्वास्थ्य मापदण्ड पालनामा पहल गर्दा सफलता मिलेको थियो । यो अभ्यास अन्यत्र पनि गर्नुपर्ने सरोकारवालाले बताए । सबैभन्दा धेरै सङ्क्रमित देखिएको बलेवा क्षेत्रमा पनि होम आइसोलेसनलाई कडाइ गरेर घरमै बस्ने व्यवस्था मिलाएपछि सङ्क्रमण मुक्त गर्न सकिने बानपा–१२ अमलाचौरकी अनमी कल्पना घिमिरेले बताए।

बागलुङको ताराखोला पनि शुन्य सङ्क्रमित बनाउने अभियानमा छ । स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार गाउँपालिकाको संस्थागत आइसोलेसनमा तीन जना मात्रै छन् । उनीहरु डिस्चार्ज हुने क्रममा छन् । सबैजना निको भैसकेकोले शुन्य सङ्क्रमणमा पुगिसकेको थापाले बताए। गाउँपालिकाले तीन सातासम्म गरेको कठोर परिश्रमको सफलताले यो उपलब्धी पाएको उनको भनाई छ ।

सक्रिय सङ्क्रमितलाई घरमा बस्न नदिई संस्थागत आइसोलेसनमा राख्ने, घरमा बसेकाले अनिवार्य मापदण्ड पालना गर्नेमा कडाइ गरिएको थापाको भनाई छ । आइसोलेसनमा पनि दैनिक उपचार सेवा दिएर सुरक्षित बनाएको उनको अनुभव छ । कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक रुपमा बढाएकोले सफलता पाउन सकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती बताउछन्। “चेनब्रेकका लागि घर घरमै बस्ने, स्वास्थ्यका मापदण्ड पालना गर्ने र बिरामी भएमा तत्काल उपचारमा जाने हो”, थापाले भने, “परीक्षणलाई व्यापक बनाउनु पर्छ ।” परीक्षण बिनै सङ्क्रमित छैनन् भन्ने हो भने सफलता नमिल्ने उनले बताए।

यो अभियान सफल बनाउन गाउँपालिकाका सबै जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सरह निरन्तर खटिएका थिए । गाउँपालिका अध्यक्ष घर्तीले सबैको साझा प्रयासबाट सफलता मिलेको बताए। “अहिले पनि हरेक प्रवेशद्वारमा कडाइ गरेकोले सङ्क्रमण मुक्त हुनेछौं”, घर्तीले भने। यहाँ एक महिनामा १ सय ५० बढी कोरोनाका सङ्क्रमितको उपचारबाट निको भएका हुन् । राष्ट्रिय रुपमा व्यवस्थापन नभएपनि ताराखोलाले भने संस्थागत संरचनामा क्वारेन्टिन बनाएर शङ्कास्पदलाई राख्दा छिटो चेनब्रेक भएको घर्ती बताउछन्।

क्वारेन्टिन र आइसोलेसन बसेकालाई स्थानीय आमा समूहले दैनिक अर्गानिक खाना खुवाएको स्थानीय भवीकला रोकाले बताए। जौको सातु, सागपात र ग्रामीण क्षेत्रमा उत्पादित अन्य खाद्यान्न सङ्क्रमितलाई दिएकोले सहज भएको रोकाको अनुभव छ । सङ्क्रमणको पहिलो चरणमा यहाँकी एक जनप्रतिनिधिको मृत्यु भएको थियो । घरमै रोग च्याप्दा सिकिस्त बनेकी वडा नं. ३ की सदस्य तेजुमाया भण्डारीको धौलागिरि अस्पताल लगेको तेस्रो दिन निधन भएपछि तर्सेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटिएर गाउँपालिकालाई शुन्य बनाउन सकेको बताए।

स्वास्थ्य कार्यालयले जिल्लाभरी पहिलो चरणमा ४ हजार ५ सय सहित ७ हजार बढी एन्टिजेन्ट परीक्षण गरेको छ । यसरी परीक्षण गर्दा संक्रमित तत्कालै पत्ता लागेर आइसोलेसनमा राख्न सफलता मिलेको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds