दुई वर्षका बिकास आयोजना चार वर्ष सम्म अलपत्रै

दुई वर्षका बिकास आयोजना चार वर्ष सम्म अलपत्रै

rajdhani

सुन्दरकुमार थकालीरमुस्ताङ,
मुस्ताङमा निर्माणाधीन छुसाङ–चैले मोटरेबल पुल आयोजनाले १८ महिनामा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको पाँच वर्ष बित्यो । तर, पुल निर्माणको काम भने बल्ल ५० प्रतिशत सम्पन्न भएको छ । थासाङ गाउँपालिका–४ लेतमा निर्माणाधीन कालिगण्डकी पुलअन्तर्गत लेते छयो जोड्ने पक्की पुल आगामी भदौमा नै सकिनुपर्ने हो तर बल्ल एक चौथाइ काम सकिएको छ ।

मुस्ताङ र डोल्पा जोड्ने कालिगण्डकीमा निर्माणाधीन जोमसोम–पाक्लिङ–कागबेनी पुल निर्माण भइसक्नुपर्ने सम्झौता सकिन एक महिना बाँकी हँुदा बल्ल २५ प्रतिशत काम भएको छ ।यी मात्र होइन जिल्लामा निर्माणाधीन कालीगण्डकी कोरिडोरका चार र जिल्ला प्राविधिक कार्यालयका चार गरी आठवटा आयोजना ठेकेदारको लापर्बाहीका कारण निर्माण सम्झौता अवधि सकिन लाग्दासमेत अलपत्र छन् ।

ठेकेदारको लापर्बाहीका कारण निर्माण हुन नसकेपछि बल्ल जिल्ला प्रशासन कार्यालयले कालो सूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाएको छ । कारबाही प्रक्रिया अघि बढाइसक्दासमेत अझै सम्बन्धित आयोजनाका ठेकेदार र सम्पर्क व्यक्ति आयोजना छाडेर बेपत्ता छन् ।‘जिल्लाका सबैजसो आयोजना अलपत्र परेपछि हामीले सम्पर्कमा आउन र तोकिएको अवधिमा काम सम्पन्न गर्न अल्टिमेटम दिएका छौ,’ प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । पौडेलले हाजिर हुन ताकेता गरेको दाबी गरे पनि हिमाली जिल्लाका विकास आयोजना लामो समयदेखि अलपत्र छन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले ढिलासुस्ती भएका आठवटा आयोजनाको नामावली शुक्रबार सार्वजनिकसमेत ग¥यो । आयोजना कम्पनी र ठेकेदारले चरम ढिलासुस्ती गरेर समस्या सिर्जना गरेको जनाए पनि चेतावनी दिनबाहेक कारबाहीका लागि कुनै ठोस कदम भने जिल्ला प्रशासनले चाल्न सकेको छैन ।

ढिलासुस्ती र लापर्बाही गर्नेमा छुसाङ–चैले मोटरेबल पुल आयोजना पहिलो नम्बरमा छ । पुल ११ असार २०७१ मा सुरु भएर ११ असार २०७३ मा सकिनुपर्ने हो । तर, सम्झौताको दुई वर्ष नाघ्दासमेत काम सुरु हुन सकेको छैन ।
कतिपय आयोजना सुचारु नहुनुमा भने स्थानीय पनि जिम्मेवार देखिन्छन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलीडारले कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाअघि नै पुलको काम थालेको हो । लुम्बिनी रफिना जेभी काठमाडौंले ४ करोड ७३ लाख ८८ हजारमा निर्माणको जिम्मा लिएको यो पुल निर्माणमा स्थानीय र आयोजनाबीच विवाद हुँदा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालयको दाबी छ ।पुल निर्माणअघि बढाउन प्रशासनले ठेकेदारलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिए पनि पुलका प्रतिनिधि कमल केसी र विश्व बस्नेत अझै सम्पर्कमा आएका छैनन् ।

थासाङ गाउँपालिका–४ लेतेमा निर्माणाधीन कालिगण्डकी पुलअन्तर्गत लेते छयो जोड्ने पक्की पुल पनि निर्माण कम्पनी र ठेकेदारबीचको विवादले काम रोकिएको छ ।स्वच्छन्द निर्माण सेवा काठमाडौंले ११ करोड ३७ लाख लागतमा दुई वर्षमा सक्नेगरी १९ भदौ २०७३ मा काम सुरु गरेको थियो । तोकिएको समय आगामी १९ भदौमा सकिने जनाईए पनि हालसम्म पुलको काम एक चौथाइ मात्र सकिएको प्राविधिक कार्यालयले जनाएको छ ।पुल निर्माणको जिम्मा लिएका प्रतिनिधि विश्वप्रेम गुरुङलाई मुस्ताङ प्रशासनमा हाजिर हुन ताकेता गरिए पनि उनी सम्पर्कविहीन रहेको प्रजिअ पौडेलले बताए ।

१८ महिनामा सक्नेगरी एलिट शंकरमाली जेभी कोटेश्वरलेजिम्मा लिएको मुस्ताङ र डोल्पा जोड्ने कालिगण्डकीमा निर्माणाधीन जोमसोम–पाक्लिङ–कागबेनी पुलको हालत पनि उस्तै छ । यो आयोजनाको काम १७ महिनाको समयसीमा बितिसक्दा जम्मा २५ प्रतिशत मात्र भएको छ ।एलिट शंकरमाली जेभी कोटेश्वरले ११ करोड ७५ लाख लागतमा निर्माणको जिम्मा लिएर ३० पुस २०७३ मा सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, काम अघि बढेको छैन ।आयोजनाका सहायक ठेकेदार सन्तोष थकाली पुलको माटो परीक्षण नगरी डीपीआर तयार गरिएकाले समस्या देखिएको बताउँछन् । जिल्ला प्रशासनले यो आयोजनाका मुख्य ठेकेदार हेमराज गुभाजुलाई सम्पर्कमा आउन तोकेता गरे पनि उनी बेपत्ता छन् ।
जिल्ला प्राविधिक कार्यालयका आयोजनाको हालत पनि उस्तै छ ।

कागबेनी–मुक्तिनाथ जोड्ने सडकको बाँकी करिब दुई किलोमिटर कालोपत्रे गर्ने सडकको काम अझै सुरु भएको छैन । स्थानीय सन्त निर्माण सेवा मार्फाले १ करोड ४४ लाख २२ हजार लागतमा कालोपत्रे गर्ने जिम्मा लिएको हो ।
यसका ठेकेदार सन्त नेपालीले १५ कात्तिक २०७४ मा नौ महिनामा काम सक्ने सर्तमा ठेक्का सम्झौता गरेका थिए । तर, हालसम्म काम सुरु नै नभएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । कालोपत्रे आगामी १५ साउनमा सकिनुपर्ने हो ।
कालिगण्डकी कोरिडोरको सूचीमा परेको जोमसोम–कोरला सडक तथा केही पुलको काममा ढिलाइ भएको जनाउँदै कालिगण्डकी कोरिडोरले चार आयोजना सूची जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
लोघेकर दामोदरकुण्डक गाउँपालिकाको झैतेदेखि चराङसम्मको सडक विस्तारको जिम्मा पाएको कञ्चनजंघा मोतीदान जेभीले निर्माण कार्यमा ढिलासुस्ती गरेको कोरिडोरले जनाएको छ ।
प्रशासनले मोतीदान जेभीका प्रतिनिधि गणेश लामालाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएको छ भने कम्पनी प्रमुख निमा शेर्पालाई बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने सर्तमा अनिश लामालाई कागज गराइएको छ ।
कोरिडोरको सूचीमा रहेको लुप्रा पान्डाखोला पुलको काम भने अघि बढेको ठेकेदार गणेश कार्कीले जनाए । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र कागबेनी जोड्ने यो पुल १५ असारमा सक्ने ठेकेदारले कबुल गरेका छन् । ठेकेदारको व्यवस्थापनमा कमजोरी देखिएपछि लामो समयदेखि पुलको काममा ढिलाइ हुँदै आएको थियो । हाल पुलको ९० प्रतिशत काम सकिएको कोरिडोरले जनाएको छ ।

हिमालपारी मुस्ताङ–डोल्पा जिल्ला जोड्ने जोमसोम–धाकार्रजुङ–साङ्ता सडकको काममा पनि ढिलासुस्ती भएको पाइएको छ ।आयोजनाको जिम्मा पाएका फेवा नयाँ जेभीका प्रतिनिधि सुभाष शेरचनलाई प्रशासनमा हाजिर हुन ताकेता गरिएको छ । सडक स्तरोन्नति, ग्याबिन हाल्ने र रिटेयरिङ वाल लगाउने जस्ता कार्य यथावत रहेकाले यथाशीघ्र सडकको काम सुचारु गर्न निर्देशन दिइएको छ । सडक चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।त्यस्तै, कालिगण्डकी कोरिडोरअन्तर्गतकै अर्को कागबेनी खोला पुलको निर्माणकार्यमा पनि ढिलासुस्ती भएको सूची पेस भएको छ ।२५ मिटर लम्बाइको यो पुल २९ असार २०७३ मा सुरु गरिएको हो । साढे दुई वर्षमा सक्ने लक्ष्यका साथ सुरु भएको पुलको काम दुई वर्षमा जम्मा ३० प्रतिशत मात्र सम्पन्न भएको कोरिडोरले जनाएको छ ।गाल्वा रफिना जेभीले जिम्मा लिएको पुलको समयसीमा आगामी पुसमा सकिँदै छ । निर्माण कार्य सुस्त रहेको जनाउँदै पुलका प्रतिनिधि रविन जोशीलाई प्रशासनमा बोलाइए पनि उनी सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ