पोखरा रंगशालामा यस्तो बन्दैछ क्रिकेट मैदान

पोखरा रंगशालामा यस्तो बन्दैछ क्रिकेट मैदान

cricet-maidan

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताका लागि पोखरा रंगशालामा क्रिकेट मैदान तयार पारिँदै छ । यसका लागि अहिले मर्मतसम्भार तीव्र बनाइएको छ । क्रिकेट मैदान निर्माण गर्ने जिम्मा पाएको क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मर्मत कार्यलाई तीव्र पारेको छ । पोखरा क्रिकेट मैदानका क्युरेटर प्रदीप राउतको नेतृत्वमा एक टोली नै खटिएको छ । नयाँ पत्रिका दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।

क्युरेटर राउतले प्रतियोगिता हुनुभन्दा २५ दिनअघि नै निर्माण गरेर सुम्पने तयारीका साथ कामलाई तीव्रता दिइएको बताए । ९ देखि २० कात्तिकसम्म हुने लिगका लागि पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदान मर्मतसम्भार गर्ने काम अहिले जारी छ ।

स्पाइक्स लगाएर खेल्न मिल्ने मैदान

क्युरेटर राउतका अनुसार पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानलाई त्रिवि क्रिकेट मैदानपछिको स्पाइक्स (किला भएको जुत्ता) लगाएर खेल्न मिल्ने गरी विकास गरिँदै छ । त्यसका लागि पिच कडाखालको बन्नुपर्नेछ । त्यहीअनुरूप बनाउन मिहिनेत भइरहेको राउतले जानकारी दिए । क्रिकेट मैदानमा ४ वटा क्रिकेट पिच बनाउनेक्रम अहिले जारी छ । सेन्टर क्रिकेट पिच (सेन्टर विकेट) बनिसकेको छ । त्यहाँ पिच गरेर माथिबाट माटो हालेर दुबो रोपिएको छ । अब त्यहाँ टप ड्रेसिङ गर्न मात्र बाँकी छ । २ नम्बर पिचमा पनि यो काम सकिएको छ । अब ३ नम्बर र ४ नम्बर पिचमा दुबो लागाउने काम गरिनेछ ।

पुरानै माटो प्रयोग

मैदानका लागि पुरानै माटो प्रयोग भएको छ । १० वर्षअघि क्रिकेट मैदान बनाउँदा प्रयोग गरेकै स्थानको माटो प्रयोग गरिएको राउतले जानकारी दिए । ‘यो माटो क्रिकेट पिचका लागि उपयुक्त भएकाले पुनः त्यहीँबाट ल्याएर प्रयोग गरिरहेका छौँ’ उनले भने । टर्निङ विकेटका लागि उपयुक्त मानिने यस्तो माटो भारतको मुम्बईलगायत राम्रा क्रिकेट मैदानमा पनि प्रयोग गरिएको उनको भनाइ छ । यो क्रिकेट मैदानबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ ।

अन्तर्राष्ट्रिय मापदण्डको मैदान

मैदानमा पिच मात्र हैन, आउटफिल्ड सम्याउने र विस्तार गर्ने काम पनि सँगसँगै भएको छ । साबिक क्रिकेट मैदानमा चौघेरा ३ मिटर थपेर अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट आउटफिल्ड बनाइने क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका व्यवस्थापक छुमी लामाले जानकारी दिए । आउटफिल्डमा डोजर लगाई झाडी फाँडिएको छ ।

अब त्यहाँ मेसिनले लेबलिङ गर्नेछ । त्यसपछि बालुवा र माटो हालेर दुबो रोपिने उनको भनाइ छ । उनका अनुसार मैदानमै ३ वटा साइड स्किन पनि राखिने भएको छ । यसैगरी, प्लेयर बक्स, स्कोरबोर्ड, बाउन्ड्री रोप पनि स्थायी प्रकारको बनाइनेछ । मैदानको उत्तरतर्फ दर्शक बस्नका लागि प्याराफिट निर्माण गरिने भएको छ । एक सय मिटरको उक्त प्याराफिट अस्थायीखालको हुनेछ । फलाम गाँसेर बनाइने सो प्याराफिट साढे ४ हजार क्षमताको हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ