पर्यटन प्रवर्द्धनका लागि एसियाकै ठूलो शिद्ध गुफा भित्र टेबलटेनिस (फोटो फिचर)

पर्यटन प्रवर्द्धनका लागि एसियाकै ठूलो शिद्ध गुफा भित्र टेबलटेनिस (फोटो फिचर)

tabal tenis game siddha Gufa

किरण श्रेष्ठ, तनहुँ । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ४ बिमलनगरमा रहेको एसियाकै ठुलो शिद्ध गुफा भित्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ दमौली, बन्दिपुर युनेस्को क्लब, बन्दिपुर गाउँपालिका र ड्याप्स नेपालको संयुक्त आयोजनामा शनिबार शिद्ध गुफा भित्र उक्त प्रतियोगिता सम्पन्न भएको हो । तनहुँ पर्यटन तथा संस्कृतिक महोत्सव २०७५ एवं बन्दिपुर भेटघाट कार्यक्रमको अवसरमा उक्त प्रतियोगिता गरिएको आयोजकले जनाएका छन ।

प्रतियोगितामा प्रथम विपिन राज घिमिरे, द्वितीय सुजन देवकोटा, तृतीय विकल्प परियार भएका छन् ।

“प्रकृति र संस्कृति अर्को पिढीका लागी संरक्षण गरौ” भन्ने मुल नाराका साथ तनहुँको बन्दिपुरमा तनहुँ पर्यटन तथा संस्कृतिक महोत्सव २०७५ एवं बन्दिपुर भेटघाट गत शुक्रबार र शनिबार गरिएको हो । प्रतियोगिताको अध्यक्षता रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठले गरेका थिए । प्रतियोगिताका प्रमुख अतिथि रोट्याक्ट नेपाल जोन ३ का जेडआरआर बुद्धि जोगि रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि जोगिले रोट्रयाक्ट संगै शिद्ध गुफाको प्रचारप्रसारमा उक्त प्रतियोगितामा विशेष सहयोग पुग्ने बताए । “शिद्ध गुफा मै टेबलटेनिस खेल्ने सकिने ठुलो ठाउँ रहेछ भन्ने सन्देश देश तथा विदेश सम्म पुर्याउन प्रतियोगिताले धेरै सहयोग र सकारात्मक सन्देश पुग्छ” उनले भने । उक्त प्रतियोगिता पछी धेरै पर्यटक शिद्ध गुफामा आउने उनले बताए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखरलाल डोटेलले पर्यटन प्रवर्द्धनको लागि यस भन्दा अगाडि क्लबले गुफा भित्र बैठक बसेको र अन्य रोट्रयाक्टर लाई घुमाउन ल्याएको बताए । पर्यटन संग जोडिएर विभिन्न समयमा विभिन्न कार्यक्रम गरिएको उनले बताए । बिमलनगर शिद्ध गुफा विकास समितिका सचिव बेनि बहादुर थापाले २०४४ चैतमा पत्ता लगाएको र २०६३ साउन २६ गते दर्ता गरिएको बताए । गुफा पत्ता लगाए देखी निरन्तर सम्बर्द्धन र प्रचारप्रसार गर्दै आइरहेको उनले बताए । उक्त प्रतियोगिताले थप पर्यटन भित्र्याउन सहयोग पुग्ने उनको विश्वास छ । प्रतियोगिता आयोजना गरेर बिमलनगर शिद्ध गुफा विकास समिति लाई सहयोग गरेकोमा आयोजक संस्थाहरु लाई उनले धन्यवाद समेत ज्ञापन गरेका थिए ।

पर्यटन प्रवर्द्धन संगै आफ्नो ठाउँको ठुलो गुफा विश्वमा चिनाउन उक्त प्रतियोगिता गरिएको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए । उक्त प्रतियोगितामा १० जना खेलाडीको सहभागी रहेको थियो । प्रतियोगितामा प्रथम विपिन राज घिमिरे, द्वितीय सुजन देवकोटा, तृतीय विकल्प परियार भएका छन् । प्रतियोगितामा प्रथम हुने लाई प्रमाणपत्र सहित नगद ३ हजार, दोस्रो हुने लाई प्रमाणपत्र सहित नगद २ हजार र तेस्रो हुने लाई प्रमाणपत्र सहित नगद १ हजार प्रदान गरिएको छ ।

उक्त कार्यक्रमको संयोजक रोट्रयाक्ट क्लब अफ दमौलीका कमिटी सर्भिस डिरेक्टर मदन तिमल्सेना रहेका थिए । उक्त प्रतियोगिताको रेफ्री सौगन श्रेष्ठ रहेका थिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखरलाल डोटेल, रोट्रयाक्ट क्लब अफ दमौलीको ट्विन क्लब रोट्रयाक्ट क्लब अफ राजधानीका प्रमोसनल अफिसर सुशील मल्ल, बिस हजारी जेसिसका प्रतिनिधि र रोट्रयाक्ट क्लब अफ दमौलीका सदस्य लगाएतको उपस्थित रहेको थियो ।

कस्तो छ त शिद्ध गुफा ?

शिद्ध गुफा घुम्न लायक छ । यसको धार्मिक तथा पुरातात्विक महत्व छ । बन्दिपुर–४ कोक्चे सामुदायिक वन भित्र चुरियाघाटी डाँडामा छ गुफा । जुन विमलनगर बजारको दक्षिणमा पर्छ । गुफा ६५० मिटर उचाइमा छ । विमलनगरबाट आधा घन्टा उकालो चढे गुफामा पुगिन्छ । विमलनगर बाट गुफा १.३ किमि छ । त्यस्तै गुफाबाट बन्दिपुर बजार ३.५ किमिमा । ढुँगा ओच्छाइएको सिँढी चढेर गुफामा जानु पर्छ । भुगोलविदका अनुसार प्राचीनकालको भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग मानवद्वारा गुफा निर्माण गरिएका हुन् ।

सिद्ध गुफा धेरै पुरानो हो । पहिलो चोटी ०४४ चैत १३ गते घुम्न भनेर ५ जना स्थानीय चन्द्रबहादुर थापा मगर, नरबहादुर पुन, नारायणबहादुर कुमाल र नोटे्रडम उच्च माध्यमिक विद्यालयका शिक्षक भारतीय नागरिक वारेन क्वाड्रसले जंगलमा गुफा देखेका थिए । भिमबहादुर दाइका अनुसार सुरुमा गुफामा प्राचीन वस्तुहरु, अक्षर मेटिएका तामाका पैसा, माटोका घैंटा, सुराहि, पाला, धुपौरो, पानस, जनावरका दारा, थाल आदि भेटिएका थिए । अनुसन्धानका लागि ती सामान विमलनगर शिद्ध गुफा विकास समितिको सूचना केन्द्रमा राखिएका छन् । ठूलो चट्टान बीच भागमा गुफा छ। प्रबेशद्वार साँघुरो भए पनि भित्र पुरै फराकिलो, सजिलो र अग्लो उचाइ छ ।

गुफाको लम्बाई करिब ४२५ मिटर र चौंडाई २५ मिटरसम्म छ । होचो भागमा ५७ मिटर गहिरो सुरुङ छ । गुफाभित्र चुनढुँगामा किसिम किसिमका आकृती छन् । जस्तो कल्पना गर्यो, त्यस्तै देखिन्छन् ती । त्यतिमात्र होइन, गुफाभित्र ध्यान कक्ष, सभा कक्ष, तप कक्ष र खोपी पनि छन् । पूर्व, दक्षिपश्चिम फैलिएको गुफा प्रबेशद्वारमा शिवलिंग, त्रिशुल र घन्टा छन् । प्रबेशद्वार साँघुरो छ। अलिक भित्र छिर्ने वित्तिकै अध्यारो हुन्छ । ठूल–ठूला चट्टान छन् । भित्र पस्ने वित्तिकै पहिला श्रीपेचको आकृति देखिन्छ । दुरुस्तै श्रीपेच ! त्यसैगरी बर्षातमा पानी जम्ने पोखरी छ । त्यस्तै नागहरु पनि छन् । एक ठाउँमा दुरुस्तै बाघको टाउको देखिन्छ । अर्को ठाउँमा ध्यान बस्ने कुटि छ जहाँ त्रिशुल छन् । अरु थुप्रै कलाकृति पनि छन् त्यहाँ । कुखुरा, हात्तीको टाउको, घरको पिलर, ब्रोकाउली, शंख, हाँस, सिद्ध बाबा आदिका आकृति। गुफाको कुनै भाग सम्म छ भने कुनै भिरालो। तल झर्न भर्यााङ र डोरीको भर पर्नु पर्छ ।

कतै ओसिलो छ कतै सुख्खा । अनौठो कुरा गुफाभित्र एसि कक्ष समेत छ जहाँ छिर्ने वित्तिकै तातो हावा आउँछ । गुफामा चमेरा छन्। गुफाको माथिल्लो भागमा शिव लिंगको शिरबाट निस्केका जलका स–साना खोल्सा छन्। गुफामा पुग्दा ठूलो हलमा पुगको अनुभूति हुन्छ । डोरी समातेर माथि उक्लिँदा सहासिक अनुभव भयो । यो गुफा माथि अर्को वतास फुङ गुफा छ । त्यहाँबाट पनि यहिँ तल झर्ने मुख छ । हामी माथिल्लो गुफामा गएनौं । गुफा माथिको प्वालबाट तल झर्ने खेल र्याछप्लिङ सिद्ध गुफामा गरिन्छ । फ्रान्सेली नागरिक मौरिस दुसेनले केही वर्ष अघि यहाँ यसको सफल प्रयोग गरेका थिए । त्यतिबेला गुफाका अध्यक्ष लालकुमार श्रेष्ठ पनि डोरी समातेर तल झरेका थिए ।

गुफा पुरै घुम्न करिब एक घन्टा लाग्छ । कतै हात टेकेर जानु पर्छ भने कतै खुट्टाको सन्तुलन मिलाएर । गुफाबाट तल जान सकिन्छ तर अहिले पानी जमेकाले तल जान निषेध छ । सिद्ध गुफामा वार्षिक करिब ८ हजार विदेशी आउँछन् । नेपालीको संख्या १० हजार हाराहारि हुने समितिका सल्लाहकार शुभ पियाले बताए । गुफा घुम्ने मुख्य सिजन, कार्त्तिकदेखि फागुनसम्म । गुफा प्रबेश गर्न नेपालीले १० रुपैयाँ र गाइड शुल्क २० रुपैयाँ तिर्नु पर्छ। विदेशीको हकमा भने प्रबेश शुल्क सय र गाइड शुल्क सय गरी दुई सय रुपैयाँ छिर्नु पर्छ । बाटो भरि गाउँले मुस्कान हेर्न र चराचुरुङीको चिरविर सुन्न पाइन्छ ।

गुफालाई केन्द्रविन्दु बनाएर पदयात्रा प्याकेज बनाउन सके गुफामा घुमन्तेको अझै भिड लाग्न सक्छ । समितिले सिद्ध गुफा र बन्दिपुरलाई समेटेर दुई राते प्याकेज बनाउन ढिला भैसक्यो । साथै गुफाभित्र बिजुलीको व्यवस्था गर्न सके सजिलो हुने थियो। गुफा पुग्ने बाटो र भित्र सजिलो बनाउनु जरुरी छ । बिजुली भएमा सबै आकृति राम्रोसँग देख्न पाइन्छ । अहिले टर्च लाइटको भरमा हेर्नु पर्छ । गुफालाई धार्मिक तथा एतिहासिक तिर्थका रुपमा विकास गर्न सकिन्छ । गुफाभित्र फेला परेका पुराना सामान सजाएर प्रदर्शन कक्ष बनाउन समितिले ध्यान दिनु पर्छ ।

सरकार र पर्यटन बोर्डले समेत यसमा हातेमालो गर्नु पर्छ । गुफाबाट दुई घन्टामा बन्दिपुर बजार पुगिन्छ । गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठका अनुसार गुफासम्म सिँढी बनाउन र्पटन कार्यालय, गाउँपालिका र डुम्रे भन्सारबाट ३० लाख रुपैयाँ सहयोग आएको छ । माथिसम्म बाटो बनिसकेको छ । गुफा वरपर आराम गर्ने चौतारा, पानीको धारा र शौचालय बनिसकेको छ । हरियो जंगल बीचमा रहेको गुफा रमणिय छ । शितल छ ।

कसरी पुग्ने त् शिद्ध गुफा ?

काठमाडौंबाट तनहुँको विमलनगर १४० किलोमिटर गाडिमा। बिमलनगरबाट दक्षिण उकालो आधा घन्टा हिँडे गुफामा पुगिन्छ । विमलनगर देखि गुफा १.३ किमि । गुफा देखि बन्दिपुर बजार ३.५ किमि । गुफाबाट दुई घन्टा पदयात्रामा बन्दिपुर बजार पुगिन्छ ।

उचित प्रचारप्रसारको अभावमा गुफा ओझेलमा

एसियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा पर्यटकको पर्खाइमा छ । पर्यटनको प्रचुर सम्भावना भए पनि उचित प्रचारप्रसार अभावमा गुफा ओझेलमा परेको हो । पृथ्वी राजमार्ग नजिकै भएर पनि सरोकारवाला निकायले चासो नदिँदा चहलपहलमा कमी आएको स्थानीयले गुनासो गरेका छन् । ०६० देखि भने गुफा निरन्तर सञ्चालनमा ल्याइएको सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

‘धेरैपहिले नै गुफा पत्ता लगाइएको भए पनि स्थानीय र सरोकारवाला निकायले चासो नदिँदा गुफा ओझेलमा पर्दै गएको हो,’ उनले भने, ‘पछि स्थानीयसँग समन्वय गरेर ०६० देखि सञ्चालनमा ल्याएका छौँ, आन्तरिक पर्यटक गुफा अवलोकनमा आइरहेका छन् । गुफाको अझै बढी प्रचार गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न सक्छ ।’ ०६४ मा प्रचारप्रसारका लागि सिद्ध गुफा महोत्सवसमेत गरिएको थियो । त्यतिवेला ५१ हजार नाफा भए पनि त्यसपछि महोत्सव आयोजना गरिएको छैन । श्रेष्ठले भने, ‘स्थानीयको सक्रियता नभएपछि महोत्सव हुन सकेन, प्रचारप्रसार कम भयो, सम्बन्धित निकायको पनि ध्यान पुगेन, स्थानीय तहले समेत बजेट नछुट्याउँदा गुफाबारे सबैलाई ध्यानाकर्षण गराउन सकिएन ।’

सक्रिय बन्दै समिति

सिद्ध गुफा विकास समितिले गुफाको पर्यटन प्रवद्र्धन गर्न पछिल्लो समय सक्रियता देखाएको छ । समितिले आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति २० रुपैयाँ र बाह्य पर्यटकलाई एक सय रुपैयाँ लिने गरेको छ । वार्षिक खर्च कटाएर तीन लाख रुपैयाँ बचत हुने गरेको समितिले जनाएको छ । गुफामा शिवरात्रि मेला, कात्तिकमा फुलको डोली टाँग्ने र साउन महिनाभर बोलबम धाम लाग्ने हुँदा मानिसहरूको घुइँचो लाग्ने गरेको समितिका कोषाध्यक्ष बलबहादुर थापाले बताए ।

२ सय मिटरभित्र-यापलिङको मजा

गुफाको दुई सय मिटरभित्र साहसिक खेल -यापलिङको आनन्द लिन सकिन्छ । यो खेल खेल्दा यांकर ढुंगामा खोपेर अड्काइन्छ र माथिबाट डोरीको सहायताले भित्र झर्ने गरिन्छ । डाँडाको बाहिरी भागबाट गुफाभित्र झरिने यो साहसिक खेल नयाँ हो । त्यस्तै, यो खेलका लागि सिद्ध गुफा विकास समितिले दुई सय ५० रुपैयाँ लिने गरेको छ । हालसम्म पाँच हजारभन्दा बढीले यो खेलको मजा लिइसकेका छन् ।
पृथक गुफा

चार सय ४० मिटर लम्बाइ रहेको गुफा अन्यभन्दा पृथक् छ । गुफामा जति भित्र गयो त्यति धेरै अक्सिजनको मात्रा बढी पाइन्छ । गुफाभित्र बिजुली बत्ती राख्दा चमेरालाई असर पर्ने चमेरा विशेषज्ञले बताएपछि बत्ती राखिएको छैन । भित्र जाँदा भने आफैँले लाइटको व्यवस्था गर्नुपर्छ । गुफाभित्र प्रत्येक समूहले २ सय रुपैयाँका दरले गाइडलाई दिने गरेका छन् । त्यसको ७० प्रतिशत गाइड र ३० प्रतिशत समितिले लिने निर्णय भएको सिद्ध गुफा विकास समितिका सल्लाहकार होमबहादुर थापाले जानकारी दिए । फोटो : विशाल श्रेष्ठ

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ