निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !

'सम्झेउर' गीत प्रकरणः

निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !

मूख्य सर्जक रेशम निर्दोषले मेलोडी हेमराजलाई नै दिएका थिए

Samjheura thumbnail 1

तीन जना मन मिल्ने साथीहरु भेट हुँदा एउटा समझदारी हुन्छ ‘एकै प्रोजेक्टमा एउटा गीत बनाउने’ । एकले लय सिर्जना गर्ने, अर्कोले टुक्का तयार पार्ने, एउटाले लगानी गर्ने र मन मिल्ने मान्छेलाई नै गाउन दिने ।

गीत ‘सम्झेउर’ बनाउने मौखिक सहमति यसरी भयो । रेशम निर्दोषले भाका तयार पारिदिए र स्वयं गाउने भए । शब्द रमेश परियार र हेमराज अधिकारीको संयुक्त हुने भयो । चल्तीका गायिका शान्ति श्री परियार ‘फिमेल भोकल’ का लागि ‘ओके’ भयो । गीत मालाश्री स्टुडियोमा रेकर्ड भयो । सबै खर्च हेमराज अधिकारीले नै ब्यहोरे ।

दुई वर्ष भन्दा अघिकै कुरा हो । मौखिक सहमतिमै काम अघि बढ्यो, लिखित सम्झौताको जरुरी कसैले ठानेनन् । हेमराज आफूले लगानी गरेको गीत भएकाले ढुक्क भए । उपयुक्त समयमा मन खोलेर खर्च गरी म्युजिक भिडियो बनाउने योजनाका साथ बसे । तर, अर्का शब्द लेख्ने रमेश परियार रेकर्डिङ स्टुडियो पुगे, हेमराजको शब्द फालिदिए र आफ्नो मात्र राखेर अडियो ल्याए । म्युजिक भिडियो बनाई बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिदिए । जसले लगानी गरिदिएर अडियो बन्यो, उनैको अडियो प्रयोग गरे तर थाहै दिएनन् ।

उल्टै भन्छन्, ‘सिर्जना ठूलो कि पैसा ठूलो ? मेरो सिर्जना थन्किएपछि मैले सार्वजनिक गरिदिएँ ।’ तर, खासमा रमेशको सिर्जना शब्द मात्र हो । त्यसमा पनि दुई जनाले नै शब्द लेख्ने सहमति भएको हो । लय संकलन गर्ने, गीत गाउने, लगानी गर्नेहरु भन्दा अघि बढेर उनले गीत ‘हाइज्याक’ गरेपछि यो विवाद सिर्जना भयो ।

पत्रकार समेत रहेका अधिकारी अब कानुनी लडाईंका लागि अग्रसर भएका छन् । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्लादेखि केन्द्रसम्म निवेदन दिएका छन् ।

युट्युबबाट तुरुन्त गीत हटाएर आफूलाई फिर्ता नगरे प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्धा अघि बढाउने भएका छन् ।

गीत कसको भन्नेबारे लिखित सम्झौता छैन । यद्यपी, गीत निर्माणमा लगानी ब्यहोर्नेकै हकदाबी रहन्छ । किनकि यस गीत पूर्ण रुपमा तयार हुन एक पक्ष रचयिता मात्र भएर पुग्दैन । एकल रचनाको सम्पूर्ण अधिकार रचयिता स्वयंको हुने भएपनि गीतको अन्तिम रुप सामूहिक रचना भएकाले जसको सक्रियता वा निर्देशनमा रचना तयार भएको हो उसैलाई अधिकार रहनेछ । प्रतिलिपि अधिकारी ऐन २०५९ अनुसार ‘कसैले पारिश्रमिक दिई कुनै रचना तयार गर्न लगाएको भए त्यस्तो पारिश्रमिक दिने व्यक्ति वा संस्थामा रचनाको आर्थिक अधिकारको धनी हुने’ स्पष्टताका साथ उल्लेख छ ।

रमेश परियारले सार्वजनिक गरेको गीतमा प्रस्तुतकर्ताका रुपमा हेमराज अधिकारीलाई चिनाएका छन् । प्रस्तुतकर्ताका रुपमा स्वयं रमेशले पनि हेमराजलाई मानेका कारण यदि यो मुद्धा कानुनी रुपमा अघि बढेमा रमेशलाई भारी पर्नेछ । हेमराज आफैले प्रस्तोताका रुपमा चिनाएको नभई स्वयं रमेश परियारले नै हेमराजलाई प्रस्तोताको भूमिकामा राखेका छन् ।

ऐनमा स्पष्टताका साथ लेखिएको छ – ‘आफ्नो प्रस्तुतिलाई प्रसारण वा सञ्चार गरी जनसमक्ष पुर्‍याउने अधिकार प्रस्तोताको हो ।’ यहाँ रमेश स्वयंले आफूलाई शब्द रचनामा मात्र चिनारी गराएकाले पनि उनले यस रचना सार्वजनिक गर्न पाउँदैन ।

ऐनले संरक्षित अधिकारको उल्लंघन गरेमा दण्ड सजायको पनि व्यवस्था गरेको छ । कसुरको मात्रा हेरी दश हजारदेखि १ लाख रुपैंयासम्म वा ६ महिना कैद वा दुवै सजाय पहिलोपटकलाई हुने व्यवस्था छ ।

रमेशले भिडियोमा मनलाग्दी गरेका छन् । भिडियोमा अगाडि र पछाडि प्रिजेन्टर भनेर हेमराज अधिकारी नाम उल्लेख गरेपनि क्याप्सनमा भने आफ्नै नाम लेखेका छन् । यसबाट उनको नियत छर्लंग देखिएको छ ।

भिडियो १७ मिनेट २५ सेकेण्ड लम्बाईको रहेपनि अर्को शान्ति श्री परियारको च्यानलसँग साझा गरी सार्वजनिक अडियोमा भने प्रड्युसरका रुपमा स्वयं र रेशम निर्दोषलाई चिनाएका छन् । हेमराज अधिकारीको नाम, तस्वीर कहिँकतै उल्लेख छैन । एउटै सिर्जना पनि ठामै पिच्छे उनले फरक फरक लेखेका छन् ।

सार्वजनिक गीतको थम्बनेल फोटोमा पनि हेमराजलाई हटाएका छन् । ‘इट्स प्रिजेन्टेशन अफ हेमराज अधिकारी’ शब्द चाहिँ छ ।

गीत रेकर्डिङ कम्पनी मालाश्री रेकर्डिङ स्टुडियोले पनि गैरजिम्मेवार कार्य गरेको निर्माता तथा प्रस्तुतकर्ता अधिकारी बताउँछन् । गीत स्टुडियोबाट दिने क्रममा जसले लगानी गरेको हो उसलाई नदिइकन अन्य व्यक्तिलाई दिने काम गरेको अधिकारीले बताए ।

गैरजिम्मेवार मालाश्री रेकर्डिङ स्टुडियो

मालाश्री रेकर्डिङ स्टुडियोका मेनेजिङ डाइरेक्टर शम्भु कुँवरसँग यस विषयमा प्रतिक्रिया लिने क्रममा उनी निकै गैरजिम्मेवार ढंगले प्रस्तुत भए । कुँवरले आफ्नो स्टुडियोमा कसले कुन गीत ? कसको लगानीमा निर्माण हुन्छ भन्ने बारे थाहै नहुने बताए । ‘२ वर्ष अघिको कुरा के थाहा हुन्छ ? कसले पैसा दियो भन्ने कुरा उतै सोध्नुस् न’ भनेर पटक पटक भनिरहे ।

‘लगानीकर्तालाई दिनुपर्ने गीत किन अरुलाई दिएको ?’ भन्ने प्रश्नमा उनले हामीमाथि नै प्रश्न उठाउँदै पत्रकार महासंघको पत्रकार हो ? म पनि पत्रकार भनिरहे ।

‘आफ्नो स्टुडियोमा कुन गीत कसले रेकर्ड गरेको ? कसले एरेन्ज गरेको ? भन्ने रेकर्ड डकुमेन्टेशन त हुन्छ होला नि ?’ भनेर प्रश्न गर्दा धेरै चलेको स्टुडियो भएकाले त्यसको हिसाब नहुने पनि बताए । ‘त्यसोभए जसले पनि गीत उठाएर हिँड्न पाइन्छ ? मालाश्रीबाट ?’ भन्दा उनी नाजावाफ बने ।

को के भन्छन् ?

हेमराज अधिकारी (निर्माता, प्रस्तुतकर्ता एवं शब्द लेखन)

यो गीत मेरो ड्रिम प्रोजेक्ट हो । हामी तीन जना मिलेर एउटा गीत निकाल्ने सहमति भए बमोजिम मैले ३७ हजार रुपैंया लगानी गरेको छु । यसै लगानीबाट अडियो फाइनल भएको हो ।

तर, म भिडियोका लागि तयारी गर्दै गर्दा अर्को शब्द लेख्ने रमेश परियारले विना कुनै जानकारी भिडियो निर्माण गरी मेरो अनुमति बेगर गीत रिलिज गरेका छन् ।

मेरो शब्दको गीत रेकर्ड गराइएकोमा अहिले शब्द रचनामासमेत मेरो नाम छैन । यो ठूलो घात हो । अन्यायमा परेको महसुस गरेको छु । यो विषयमा छानबिन गरिपाउँ भनेर बिहीबार नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र प्रतिष्ठान गण्डकी प्रदेश समितिमा निवेदन दिएको छु ।

गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । सबै खर्च मैले नै तिरेको हूँ । तर, मालाश्रीले अडियो अरुलाई दिने गैरजिम्मेवारपूर्ण काम गरेको छ ।

गीत रेकर्डपछि लय र स्वर दिने रेशम निर्दोष यूके गएकाले पनि भिडियो निर्माणमा ढिलाई हुन गएको सत्य हो । बीचमा रमेश परियारले गीत सार्वजनिक गर्ने सम्बन्धमा कुरा गरेका हुन् । गीतको टुक्का टिकटकमार्फत् सार्वजनिक पनि गरिदिए । रमेशको शब्द झिकेर सबै आफ्नै शब्दमा पुनः गीत रेकर्ड गर्ने तयारी पनि भएको हो । रेशम विदेश भएकाले सम्भव भएन । भाका बनाउने रेशमको विकल्प अरु हुन्थेन, त्यसैले पुनः रेकर्डका लागि रेशम नै चाहिन्थ्यो । भिडियो निर्माणको लागि तयारी हुँदै गर्दा एकाएक गीत रिलिज गरिएको छ । तुरुन्त युट्युबबाट गीत हटाउन माग गर्दछु । आपसी समझदारीमा गरिएका कतिपय सहमति उल्लंघन गरेर रमेशले मलाई धोका दिएका छन् ।

रमेशले अहिले लगानी गरेको रकम म दिन्छु भनेका छन् । यदि त्यसरी मिल्छ भने काम सुरु गर्दाको समझदारी बिर्सेर पछि गएर जसले पनि पैसा दिन्छु भन्दै गीत चोर्न सक्ने भयो । संयुक्त शब्द लेख्नेले रेकर्डिङ स्टुडियोबाट गीत लिएर जान मिल्छ ? मालाश्रीले दिन मिल्छ ? मालाश्री स्टुडियोको पनि पूरापूर गल्ती छ ।

रमेश परियार (संयुक्त शब्द लेखन)

गीतको रेकर्डका क्रममा खर्च हेमराज अधिकारीले नै व्यहोरेका हुन् । गीत रेकर्ड भइसकेको ३–४ वर्ष (रमेशको दाबी) भएपनि बजारमा नल्याउँदा मैले नै ल्याएको हुँ ।

गीतको निर्माताका रुपमा हेमराज अधिकारी नै लेखेको छु । प्रस्तुति हेमराज अधिकारी भनेर सुरुमा र अन्तिममा पनि छ । अडियोमा २ टुक्का हेमराज अधिकारीको भएपनि भिडियोमा उहाँको हटाएर सबै मेरै मात्र हालेको छु ।

अधिकारीले गरेको लगानी फिर्ता गर्न तयार छु । गीत ३–४ वर्षसम्म रिलिज नहुँदा श्रष्टालाई समस्या हुन्छ । त्यसैले मैले गरेको हूँ । उहाँले मलाई सम्पर्क गर्नुभएको छैन । मैले मेरो शब्द हटाएर छुट्टै रेकर्ड गर्न पनि भनेको हूँ । तर शान्ति श्री परियारले ‘कहाँ म तपाईंको हटाइसकेपछि पनि गाउँछु ?’ भनेर गाउन मान्नुभएन ।

मैलै धर्म छोडेको छैन । आफूले गरेको सिर्जना वर्षौँसम्म रोक्न नसक्ने भएको कारण गायक तथा लय संकलक रेशम निर्दोषसँगको सल्लाहमानै भिडियो बनाएको हूँ ।

रेशम निर्दोष (गायक तथा लय संकलक)

रेशम निर्दोषलाई यस विषयमा कुरा गर्न सम्पर्क गर्दा फोन उठेन । यद्यपी, उनले हेमराज अधिकारीसँग गीतकै विषयमा गरेको टेलिफोन कुराकानी हामीलाई प्राप्त भएको  छ । जहाँ उनले मेलोडी हेमराज अधिकारीलाई नै दिएको स्पष्टताका साथ भनेका छन् ।

गीतको महत्वपूर्ण कुरा लय संकलन र गायन रेशम निर्दोषले नै गरेकाले र उनले नै आफ्नो गीत हेमराजलाई दिएको भनेका कारण हेमराज यो मुद्धामा बलियो बनेका छन् । कुराकानीमा रेशमले दुवै पक्ष मिलेर अघि बढ्न सुझाव दिएका छन् ।

गीत हडप्ने रमेश परियारले रेशम निर्दोषकै सहमति र सल्लाहमा भिडियो बनाई सार्वजनिक गरेको भनेकाले र सुटिङदेखि भिडियो रिलिज हुँदासम्म यस विषयमा आफूलाई नभनेकाले रेशमसँग चित्त दुःखेको हेमराजले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ