मुस्ताङमा साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव

मुस्ताङमा साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव

yartung (1)

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङमा साउनको अन्तिम साता मुक्तिनाथ यार्तुङ महोत्सव हुने भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा साउन २७ गतेदेखि ३० गतेसम्म महोत्सव हुन लागेको हो ।

परम्परागत रुपमा मनाइँदै आएको यार्तुङ पर्वलाई संरक्षण गर्न यसलाई महोत्सवको रुप दिइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार गाउँपालिका भित्रको सांस्कृतिक विविधता प्रर्दशन, गाउँ गाउँ बीचका युवाहरुको सम्वन्ध प्रगाढ बनाउन यार्तुङ महोत्सव लाभदायी हुने विश्वास लिईएको छ । धर्मसंस्कृति र परम्परा संरक्षणमा यार्तुङ मेलाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङको भनाई छ ।

महोत्सवले प्रदेश सरकारको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको भिजन २०२० लाई सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । मेलामा स्थानीय उत्पादनको प्रर्वद्धनलाई समेत जोड दिइने आयोजकले जनाएको छ ।

याक सवारी, ऐतिहासिक घोडा दौड प्रतियोगिता, परम्परागत मास्क डान्स, सेभेन ए साइड फुटबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेका छन् । यस्तै गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

महोत्सवमा चर्चित ख्याती प्राप्त कलाकार निम्त्याएर कन्सर्ट र साँस्कृतिक कार्यक्रम गरिने छ । महोत्सव सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।

महोत्सवको करिब १० हजार जनाले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न गाउँपालिका अध्यक्ष गुरुङको अध्यक्षतामा ७१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ