बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

संस्कृति

बाघ मारेर सेलाएसँगै सकियो पोखराको बाघ जात्रा [फोटो फिचर]

२३ वर्षपछि यो वर्ष भएको जात्रा अब ५/५ वर्षमा निकालिने

Baghjatra Feature

पोखरा । बाघ मारेर सेलाएपछि पोखरामा भएको तीन दिने बाघ जात्रा समापन भएको छ । जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा सोमबारदेखि शुरु भएको बाघ जात्रा बुधबार सम्पन्न भएको हो ।

बाघ जात्राको अन्तिम दिन नेवा छेँ भवन नदीपुरबाट शुरु भएको जात्रा नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, शितलदेवी, गौंडाकोमुख, अमरसिंहचोकहुँदै पोखरा रंगशालामा आएर बाघ मार्ने कार्यक्रममा परिणत भएको थियो । हजारौं सर्वसाधारणको भीडकाबीच बाघ मार्दा हर्षोल्लास छाएको थियो ।

जात्राको मुख्य उद्देश्य नै बाघ मारेर जनतालाई पीडाबाट उन्मुक्ति दिएको देखाउनु हो । पोखरामा तेईस वर्षपछि देखाइएको जात्रापनि यहि दृश्य देखाउँदा उपस्थित दर्शकको मन रमायो । किम्वदन्ती अनुसार कुनै समय जंगली हिंस्रक जनावर बाघले शहर पसेर जनताका घरपालुवा जनावरका साथै मानिसहरुलाईसमेत आक्रमण गरेर मार्न थालेपछि जनताले तत्कालीन राजालाई नरभक्षी बाघ मारिदिन अनुरोध गरियो ।

सो अनुरोध अनुसार राजाले आफ्नै उपस्थितिमा आफ्नो सम्पूर्ण राज्यशक्तिका रुपमा प्रधानमन्त्री, सेनापती, सेना, शिकारीहरु, जनता प्रयोग गरेर चारैतिरबाट घेरा हाली बाघलाई बन्दुकले हानेर मारिएको थियो । नरभक्षी बाघबाट जनतालाई उन्मुक्ति दिएकाले त्यसलाई पछि जात्राका रुपमा मनाउन थालिएअनुसार पोखरामापनि जात्रा मनाउन थालेको पाइएको बाघ जात्रा तयारी समितिका सचिव सुनिल उलकले जानकारी दिए । जात्राको सन्देश अहिलेपनि बाघ मार्नुपर्छ भन्ने नरहेको तर मानिसलाई दुःख दिने हिंस्रक जनावर मारेर जनतालाई मुक्ति दिलाउनुपर्छ भन्ने रहेको उनको भनाई छ ।

बाघ जात्रामा ऐतिहासिक पक्षको उजागर गरिएको छ । त्यसरी ऐतिहासिक पक्ष उजागर गर्न अग्रभागमा कुमारी, त्यसपछि तायाःमचा नाच, धिमेबाजा, घोडानाच राखिएको छ । त्यसपछि घोडामा सवार श्रीपेच लगाएको राजा र डोलीमा चढाएर रानी राखिन्छ भने त्यसको दायाँबायाँ प्रधानमन्त्री र सेनापतीसहित जनता साथमा हुन्छन् ।

राजारानी र प्रधानमन्त्रीको दायाँबायाँ सुरक्षागार्ड, घोडचढी रिसल्लाहरु, झ्यासीन्यासीका रुपमा हतियारधारी शिकारीहरु, उहिलेका सैनिकका रुपमा गुरुज्यूका पल्टनका सैनिकहरुपनि दुरुस्तै देखिनेगरी राखिन्छ । बाघ जात्राको प्रमुख आर्षणका रुपमा बाघ तथा बाघको शिकारका लागि चारै तर्फबाट घेर्नका लागि हातमा बाँस बोकेका गाउँलेका रुपमा ढेकेग्वाराहरु हुन्छन् । जात्रालाई जीवन्त बनाउनका लागि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीसमेत परिचालन गरिएको थियो । जात्रामा विशेष आकर्षणका रुपमा भक्तपुरको प्रख्यात घिन्ताघिसी जात्रापनि समावेश छ । भक्तपुर वडा नं ३ मा रहेको घट्खा दाफा भजन खलःका नृत्य तथा बाजा टोलि सहभागि भएको हो ।

तेईस वर्षपछि निकालिएको बाघजात्रा देख्दा बुढापाकाहरु पहिलेको बाघजात्रासँग तुलना गर्दै गफिएका देखिन्थे । पहिले नदेखेकाहरु एक्कासी राजारानीदेखि प्रधानमन्त्री र सेनापतीसहितको लस्कर देख्दा अचम्म मान्दै हेरिरहेका भेटिए । कतिपय जात्राको ऐतिहासिकता जीवन्त बनेकोमा गदगद् भएको पाईयो भने कतिपयचाहिं गणतन्त्र आएको डेढ दशकपछि जात्राको नाममा राजारानी बनाएर सेनाको लावालस्कर लगाएको देखाउनु बेकार भएको टिप्पणी गर्नेपनि भेटिए । तर जात्रा तयारी समितिका सचिव सुनिल उलक ऐतिहासिक पक्ष जस्ताकोतस्तै देखाउने प्रयासलाई अन्यथा लिन नहुने बताउँछन् । ‘हामीले गणतन्त्रको विरोध गरेका होईनौं । ऐतिहासिक पक्षलाई उजागर गर्नमात्र राजारानीदेखि सेनापतीसम्मको चरित्र जस्ताकोतस्तै राखेका हौं ।’

बााघजात्रामा पोखरेली सर्वसाधारणको सहभागिता बाक्लै देखियो । नेवार समुदायको संस्कृतिमा पर्ने जात्रा भएकाले सो समुदायको सहभागिता बाक्लो रुपमा देखियो भने गैह्रनेवार समुदायकोपनि सहभागिता र उपस्थितिपनि ठूलो मात्रामा देखियो । खास गरेर घर अगाडी आउँदा ताँती लागेर हेर्नका लागि भीड देखियो भने ठाउँठाउँमा घडा राखेर स्वागत तथा फलफूल वितरण गर्नेपनि प्रशस्तै थिए । सर्वसाधारणले उत्सुकता र रुचीपूर्वक हेर्दा आयोजकलाई हौषला मिलेको सचिव उलकले बताए ।

बाघ जात्रा तीन प्रदर्शन गरिएको थियो । जात्राको पहिलो दिन नेवा छेँबाट शुरु भई भीमसेन मन्दिरमा रहेको नासः द्यको परिक्रमा गरेर भैरवटोल, मोहरियाटोल, बागबजार हुँदै नदीपुर, तेर्सापट्टी, नालामुखहुँदै नेवाः छेँ मा पुगेर समापन भएको थियो भने दोश्रो दिन नेवा छेँ भवनबाटै शुरु भई गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौरहुँदै सृजनाचोक पुगेर सभागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टी, नालामुखचोक हुँदै नेवाः छेँ मै फर्किएर समापन भएको थियो ।

पोखराको सबैभन्दा पुरानो जात्रा मानिने बाघ जात्रा एक सय वर्ष अघिदेखि शुरु भएको बताइन्छ । २०५७ सालपछि भने पोखरामा प्रदर्शन हुन सकेको थिएन । बाघ जात्रामा प्रायः सबै जात्राहरुको संयोजन हुने बाघ जात्रा तयारी समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए ।

अब पाँच/पाँच वर्षमा यो जात्रा लगाउने ८१ वर्षीय संस्कृतिकर्मी एवं बाघजात्रा आयोजक समितिका अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए। कहिलेदेखि यो जात्रा लागेको भन्नेबारे चाहिँ आफूलाई थाहा नभएको उनले बताए।

‘मैले २०१४ सालमा हाम्रो भैरवटोलका बालकृष्ण भन्नेलाई राजा बनाएको थाहा छ। त्यसभन्दा अघि २००६ सालमा जात्रा निकालेका थिए रे,’ उनले भने, ‘कहिलेदेखि सुरू भयो भन्ने चाहिँ हामीलाई थाहा छैन।’

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ