तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

Mahotsav1

तनहुँ । तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको छ । यहि कात्तिक ३० गतेदेखि शुरु हुने महोत्सवमा विभिन्न जातीय घरहरु निर्माणको काम तिव्र गतिमा भइरहेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष एवं महोत्सव मूल समारोहकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन् ।

महोत्सव स्थलभित्रै आदिवासीको गाउँ
महोत्सवमा मगर, गुरुङ, दरै, बोटे, कुमाल, भुजेल लगायतका जातीय घरहरु निर्माणको काम अन्तिम चरणमा पुगेको संयोजक घर्तीले बताइन् । यसपालिको महोत्सव स्थलभित्रै आदिवासीको गाउँ बनाइने समेत उनले बताइन ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तथा विभिन्न जातीय संगठनहरुको सहआयोजनामा हुने महोत्सवको “अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नारा रहेको छ ।
महोत्सवका लागि विभिन्न स्टलमा राखिने सामग्रीहरु समेत ल्याएर मिलाउन काम भइरहेको परिषदका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले बताए । उनले भने ‘केही स्टलका सामग्रीहरु मिलाउन थालिसकिएको छ भने केही सामानहरु बिहीबार ल्याइनेछ ।’

महोत्सवबाट हुने मुनाफाले आदिवासी जनजातिको जीवन्त संग्राहलय बनाउने मुख्य उद्देश्य आयोजकले लिएको छ । महोत्सव मार्फत जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताइएको छ ।

महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ । महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष लगायतका गरी २१० स्टल रहनेछ ।

महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ । महोत्सवमा गायक पशुपति शर्मा, बद्री पंगेनी, बिमाकुमारी दुरा, मेलिना राई, प्रिती आले, रामजी खाँड लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ